एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट, कतिले पाए ?
काठमाडौं । सर्वसाधारणका लागि निष्कासन गरिएको एभरेष्ट कलर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बिहीबार विधिवत रूपमा बाँडफाँट गरिएको छ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच उक्त आईपीओ सर्वसाधारणलाई वितरण गरिएको हो । कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य बराबरको कुल ६ करोड ५५ लाख ७० हजार रुपैयाँ मूल्यको ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो ।
आईपीओमा लगानीकर्ताहरूको निकै उत्साहजनक सहभागिता देखिएको थियो । निष्कासन अवधिभर कुल २६ लाख ८७ हजार ४२१ जना सर्वसाधारणले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए । प्राप्त आवेदनहरूमध्ये कागजात र प्रक्रिया पुगेका २६ लाख ४१ हजार ९५९ वटा आवेदन मात्रै स्वीकृत भएका थिए भने बाँकी आवेदनहरू रित नपुगेका कारण रद्द गरिएका थिए ।
माग गरिएको शेयर संख्या सर्वसाधारणका लागि छुट्याइएको भन्दा कैयौँ गुणा बढी भएपछि निष्कासनकर्ताले गोलाप्रथा (लक्की ड्र) विधिको सहायता लिनुपरेको थियो ।
गोलाप्रथा प्रणालीमार्फत गरिएको उक्त बाँडफाँटमा भाग्यशाली ६५ हजार ५७० जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर हात पार्न सफल भएका छन् भने आवेदन दिने ठूलो संख्याका लगानीकर्ताको हात खाली भएको छ ।












