आज आरोग्य दिवसमा पूजा गरिने धन्वन्तरि को हुन् ? धनतेरसमा धन्वन्तरिको पूजा गर्नुको यस्तो छ कारण « Arthapath.com
१६ कार्तिक २०७८, मंगलवार

आज आरोग्य दिवसमा पूजा गरिने धन्वन्तरि को हुन् ? धनतेरसमा धन्वन्तरिको पूजा गर्नुको यस्तो छ कारण



काठमाडौं । हामी कोरोना महामारीको चपेटाबाट बाहिर निस्कन नसकिरहेका बेला आज नेपाल र भारतमा धन्वन्तरि जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै छ । विसं १९८५ मा काठमाडौंमा नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो ।

त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस नै नेपालको पहिलो आयुर्वेद शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । जुन ४४ वर्षसम्म चिकित्सा शास्त्रको एकमात्र शिक्षण अस्पताल रह्यो । पछि विसं २०२९ मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा शिक्षण अस्पताल खुलेको हो । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो ।

धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी र काठमाडौं स्थित धन्वन्तरि आयुर्वेद अस्पतालसहित निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

को हुन् भगवान धन्वन्तरि ?
वैदिक सनातन हिन्दु ग्रन्थहरूमा धन्वन्तरिलाई आयुर्वेद चिकित्साका पिता मानिन्छ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् ‘धन तेरस’का दिन भगवान धन्वन्तरिको पूजा गरिन्छ । ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने मान्यता यसबाट पनि स्थापित हुन्छ ।

भगवान धन्वन्तरिलाई भगवान विष्णुका सम्पूर्ण २४ अवतारमध्ये १२ औं अवतारका रुपमा लिइन्छ । उनी आयुर्वेदका जन्मदाता र देवताका चिकित्सक भएको हिन्दु ग्रन्थहरूमा उल्लेख छ । धन्वन्तरिका जन्मका विषयमा तीन वटा कथाहरू उल्लेख भएका पाइन्छन् ।

१. समुद्र मन्थनबाट उत्पत्तीः सत्ययुगमा देवता र असुरहरूले मिलेर समुद्र मन्थन गर्दा अन्तिममा भगवान धन्वन्तरि नै अमृतको कलश लिएर उत्पन्न भएको कथा छ । समुद्र मन्थनको कथा श्रीमद्भागवत पुराण, महाभारत, विष्णु पुराण, अग्नि पुराण लगायतका ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

२. धन्वको पुत्र धन्वन्तरिः धन्व नामका काशीका एक राजाले तपस्या गरेर देवताबाट वरदानमा उनले धन्वन्तरि नामका छोरा पाएको अर्को कथा छ । ब्रह्म पुराण र विष्णु पुराणमा यस प्रसंगको उल्लेख छ । यसलाई समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरिको दोस्रो जन्म भनिएको छ ।

काशी वंश परम्परामा काशीका संस्थापक राजा काश मानिन्छन् । उनका छोरा दीर्घतपा, दीर्घतपाका छोरा धन्व, धन्वका छोरा धन्वन्तरि भएको वर्णन गरिएको छ । धन्वन्तरिका छारा केतुमान, केतुमानका छोरा भीमरथ र भीमरथका छोरा दिवोदास भएको हरिवंश पुराणमा उल्लेख छ । विष्णु पुराणमा भने काशलाई काशेय भनिएको छ । काशेयका छोरा राष्ट्र, राष्ट्रका छोरा दीर्घतपा र दीर्घतपाको छोरा धन्वन्तरि भनेर बर्णन गरिएको छ ।

३. वीरभद्राका छोराः धन्वन्तरिलाई वीरभद्रा नामकी एक वेश्याको सन्तानका रुपमा पनि उल्लेख गरिएको पाइन्छ । गालव नामका ऋषि जंगलको बाटो हिँड्दै गर्दा प्यासले ब्याकुल भएका बेला एक युवतीले उनलाई पानी पिलाएको कहानी छ । ऋषिले उक्त सेवाबापत ती युवतीलाई गुणवान् पुत्र प्राप्त हुने वरदान दिएको र ती युवतीले आफू वेश्या भएको बताएपछि कुशको पुष्पाकृति बनाएर वेद मन्त्र अभिमन्त्रित गरेर प्राणप्रतिष्ठित गरिदिएको कथा छ ।

कथा जे भए पनि, धन्वन्तरिलाई आयुर्वेदका जन्मदाता मानिन्छ । उनले विश्वभरका वनस्पतिको अध्ययन गरेर तिनका राम्रा नराम्रा गुण वा प्रभावबारे जानकारी हासिल गरेका थिए । धन्वन्तरिले आयुर्वेद शास्त्रमा हज्जारौं ग्रन्थ लेखेको भनिए पनि अहिले केवल एक ग्रन्थमात्रै हाम्रो सामु छ । यसलाई ‘धन्वन्तरि संहिता’ भनिन्छ । यही ग्रन्थ आयुर्वेदको मूल ग्रन्थ हो ।

आयुर्वेदका प्रथम आचार्य सुश्रुत मुनीले पनि धन्वन्तरिबाटै दीक्षा एवम् उपदेश प्राप्त गरेको बताइन्छ । धन्वन्तरिको जन्म वा उत्पत्ती जे भए पनि उनी आजभन्दा करीब ९ हजार वर्ष पहिले थिए भन्ने अनुमान गरिन्छ । धेरै विद्वानले इसापुर्व ७००० तिर उनको जन्म भएको मान्दछन् ।

धन्वन्तरिले शल्य शास्त्रमा पनि थुप्रै खोज, अनुसन्धान र अन्वेषण गरेका थिए भन्ने कथन छ । शल्य चिकित्सा आजको दिनमा ज्यादै प्रभावकारी बनिसकेको छ । मृत्युको विनासका लागि ब्रह्मा आदी देवताले ‘सोम’ नामको अमृत आविस्कार गरेका थिए । यो ‘सोम रस’ सुनको थालिमा उत्पादन भएको धन्वन्तरि मत छ ।

धन्वन्तरिले मानव लगायत प्राणिको १०० किसिमका मृत्युको वर्णन गरेका छन् । यसमध्ये १ मात्र काल–मृत्यु हो । बाँकी ९९ अकाल मृत्युबाट बचाउनका लागि आयुर्वेद निदान वा चिकित्साको खोज धन्वन्तरिले गरेका हुन् । यही कारण उनी आरोग्य, स्वास्थ्य, आयु र तेजका आराध्य देवता मानिन्छन् ।

रामायण, महाभारत, सुश्रुत संहिता, चरक संहिता, काश्यप संहिता, अष्टांग हृदय, भाव प्रकाश, शार्गधर, श्रीमद्भागवत पुराण आदी ग्रन्थमा धन्वन्तरि भगवानका थुप्रै वर्णन पाइन्छन् । मूल धन्वन्तरिभन्दा पछि पनि कयौं आयुर्वेदाचार्यहरूको नाम धन्वन्तरि नै रहेको पाइन्छ । आयुका छोराको नाम पनि धन्वन्तरि नै भएको उल्लेख पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्