आजदेखि घट्दै हवाई भाडा, कतिसम्म सस्तिएला ? « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

आजदेखि घट्दै हवाई भाडा, कतिसम्म सस्तिएला ?



काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धन तर्फको मूल्य घटाएको छन् । निगमले प्रतिलिटर ६ रुपैयाँका दरले इन्धनको मूल्य घटाएको हो ।

योसँगै अब हवाई भाडा पनि घट्ने भएको छ । वायुसेवा कम्पनीहरुले भोलि अर्थात् असोज १६ गते बुधवारदेखि हवाई भाडामा घटाउने भएका हुन् । बुधवारदेखि जुन हवाई टिकट उपलब्ध हुन्छ, सोही दिनको टिकटमा कम मूल्य पर्नेछ ।

अब इन्धन बापत वायुसेवा कम्पनीहरुले अधिकतम ५०० रुपैयाँसम्म खर्च घटाउने छन् । न्युनतम भने ५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म इन्धन बापतको खर्च घटाउने भएका हुन् । इन्धनको मूल्य बढ्दा शुल्क बापतको लागत पनि जोड्ने र घटाउने गरिएको छ । अर्थात् इन्धनको भाउ घटेको बेलामा हवाई टिकट पनि सस्तो पर्छ भने बढेको बेलामा पनि केही वृद्धि हुने कम्पनीहरु बताउँछन् ।

अहिले अधिकांश उडान गन्तव्यमा एकदमै चाप छ । बाढी पहिरो र दशैंका बेला संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको हो ।

गत शुक्राबर र शनिबार अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिन यता हवाईयात्रीको चाप ह्वात्तै बढेको छ । सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत पनि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्