पिङ र चङ्गाको त्यो रौनक आखिर किन हरायो ? « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

पिङ र चङ्गाको त्यो रौनक आखिर किन हरायो ?



हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।।

जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो ।
यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ।।

ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ ।
चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ ।।

सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग ।
सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ।।

कविशिरोमणि लेखनाथ पौडेलका यी हरफहरुले दशैँको सामाजिक पाटोलाई उजागर गरेका छन् । यही दशैँका छटाहरुमा पर्छन् पिङ र चङ्गा । आजभन्दा तीन दशक पछाडी फर्किने हो भने मूलतः शहरी क्षेत्रमा बच्चाबच्चिका लागि चङ्गाको उत्सव हुन्थ्यो । ग्रामीण भेगमा पिङमा रमाइलो गरिन्थ्यो ।

तर पिङ बच्चाहरुका लागि भन्दा ठिटाठिटीका लागि बढी केन्द्रित थियो । बच्चाहरुका लागि घरमै वा घर वरपर सानो झुला राखिदिने र युवा तथा प्रौढ उमेरका मानिसहरु टोलको कुनै स्थानमा ठूला पिङ थापेर खेल्न जाने गरिन्थ्यो ।

अझै तीन दशकभन्दा पनि पहिलेको इतिहास कोट्याउने हो भने पिङ एक उत्सव वा मेलाको रुपमा मानिन्थ्यो । पिङमा वारि–पारी वा वल्लो–पल्लो वा तल्लो–माथ्लो गाउँटोलका ठिटाठिटी जम्मा हुन्थे । सेना प्रहरीमा जागिर खाएका र लाहुर गएकाहरु पनि दशैँ मेलामा पिङमै आइपुग्थे ।

त्यही मौकामा गाउँका केटीहरुले केटा हेर्ने र केटाले केटी हेर्ने हुन्थ्यो । मन परेको केटा–केटी चिनाजान गर्थे । त्यही पिङमा भेटिएको केटाकेटीको दोस्ती विस्तारै प्रेममा बदलिन्थ्यो । त्यसपछि घर–परिवारमा कुराकानी र मगनी हुन्थ्यो । उस्तै परे मंसिरमा त लगनगाँठो कसिइहाल्थ्यो ।

ऊ बेला अहिलेजस्ता मोबाइल वा सामाजिक सञ्जालहरु थिएनन् । ठिटाठिटी भेटघाट र चिनजान गर्ने मौका नै यस्तै सांस्कृतिक मेला–पर्वमा मिल्थ्यो । नयाँ र राम्रा लुगा लगाउन पाइने, जाडो र गर्मीको सन्तुलन भएको समयमा वर्षाको डर पनि नहुने हुँदा शरद ऋतुमा युवायुवतीहरु सुकिला–मुकिला र सुन्दर देखिन्थे ।

आँगनको डिलमा सयपत्री र मखमली फुल्न थालेको मौसमा मन चङ्गा भइहाल्थ्यो । माछामासु र पोसिलो भोजनले ठिटाठिटीको शरीर पनि उर्वर र उत्तेजित हुन्थ्यो । सौर्य र पराक्रमकी देवी दुर्गाको आरधना गर्दा मानिसमा निर्भय र स्वतन्त्रता बढ्थ्यो । त्यस कारण अरु बेला हच्किएर, दबिएर बस्ने युवा युवती पनि दशैँको बेला पिङमा भेला भएर उल्लासमय हाँसोठट्टा गरिरहेको भेटिन्थे ।

पिङ पनि विभिन्न किसिमका हुन्थे । लिङ्गे पिङ, रोटे पिङ, जाँते पिङ । गाउँघरमा ठूला चौताराहरुमा पनि ठूला लठारा झुण्ड्याएर पिङ बनाइएको हुन्थ्यो । लिङ्गा नगाडी पिङ हालेको भएर होला– कतिपयले त्यसलाई ‘लठारे पिङ’ पनि भन्थे ।

लठारो बाट्न कतै बाबियो त कतै पाट खोज्न गाउँभरी कुट्ने गरिन्थ्यो । बच्चाबच्चिहरु बाबियो बटुल्न टाढाटाढासम्म पनि पुग्थे । माग्न आएपछि त्यो पिङमा कहिल्यै नपुग्नेहरुले पनि बाबियो दिएर पठाउँथे । गाउँले जीवन सहयोग र भाइचाराले भरिएको थियो ।

दशैँमा भूईँ छाड्नुपर्छ भन्ने मान्यता पनि गाउँटोलमा प्रसस्त पाइन्छ । भूईँ छाड्नुको आध्यात्मिक महत्व असाध्यै धेरै छ । ध्यानमार्फत् सारा सांसारिकतालाई त्यागेर चेतना स्तरलाई माथि उठाउनु नै ‘भूईँ छाड्नु’ हो । तर यसलाई पछि मानिसहरुले आम रुपमा पिङ खेलेर भूइँ छाड्ने बनाइदिए ।

त्यसैले बुढाखाडा र बालबच्चाहरु धेरैजसो लिङ्गे वा लठारे पिङमा मच्चिएर भूईँ छाड्थे । ठिटाठिटीहरु अलि टाढैको यात्रा गरेर रोटे पिङ खेल्न पुग्थे । रोटे र जाँते पिङमा तरुनीहरु पिङ खेल्ने, तन्नेरी ठिटाहरु मच्चाउने होडबाजी चल्थ्यो । तिहारमा फुकालेको पिङ अर्को साल नभइ जोडिँदैन थियो । त्यसैले मानिसहरु झुम्मिने गर्थे ।

रोटे र जाँते पिङ बनाउन सिप भएका सिकर्मी र पर्याप्त काठ चाहिने भएकाले लिङ्गे पिङजस्तो टोल–टोलमै थापिँदैन थियो । त्यसैले पनि धेरैजसो मानिसहरु गाउँदेखि टाढा पिङ खेल्न जाँदा बैँशको रौनक झक्किन्थ्यो । मान्छेहरु स्वतन्त्रतापूर्वक हासो–ठट्टा गर्ने कतिपय ‘साइडलाइन’ वार्तामा मग्न देखिन्थे ।

साना केटाकेटी भने डाँडामा, डिल परेको ठाउँमा वा चौरमा गएर ‘कसको चङ्गा माथि पुग्ने’ भनेर प्रतिस्पर्धा गरिरहेका हुन्थे । यस्तो प्रतिस्पर्धा व्यक्तिगत र सामुहिक स्तरमा पनि हुन्थ्यो । एउटाको चङ्गा उडिरहेका बेला जोल्ठ्याङ पारेर (जुधाएर) चुँडाल्ने खेल पनि हुन्थ्यो । यसैलाई ‘चङ्गा चैट!’ भनिन्थ्यो ।

कहिलेकाहीँ त यही निहुँमा ‘भुरा पाटी’ (केटाकेटी)को मारमुङ्ग्री कुटाकुट पनि हुन्थ्यो । ‘ग्याङ फाइट’ र ‘सिंगल–सिंगल’ भन्ने शब्द त्यसताका खुब चर्चामा हुन्थ्यो । बेलुका घर पुग्दा कसैको ओठ सुन्निएका, कसैको गाला काटेका, कसैको घुँडा बजारिएका हुन्थे । कहिलेकाहीँ अलि ठूलो दुर्घटना भएर हात नै भाँचिने अवस्था पनि देखिन्थ्यो । तर त्यो मारपिटमा पनि एक प्रकारको ‘मज्जा’ आउँथ्यो ।

अहिले यस्ता यावत रोमाञ्चकता लगभग लोप भएका छन् । चाहे चङ्गा उडाउने होस् वा पिङ खेल्ने, केवल औपचारिक र संकुचित हुँदै गएको देखिन्छ । बच्चाहरु दशैँमा अभिभावकले किनिदिएको नयाँ लुगा देखाउन पनि बारम्बार ‘चङ्गा मैदान’ र पिङ थापिएका ठाउँमा पुग्ने गर्थे । अहिले बच्चाहरुलाई पनि नयाँ लुगा, नयाँ जुत्ता भन्ने कुरा कल्पनाभन्दा बाहिर पुगिसकेको छ ।

अब मानिसहरु दशैँलाई पहिलेजस्तो ज्यादा महत्व दिइरहेका छैनन् । गाउँमा मान्छे नै नहुने र भए पनि बूढापाकामात्रै हुने अवस्थाले पिङ थाप्नै छाड्ने अवस्था बनेको छ । चौताराहरु कि त सडक बनाएर ढालिसकिएको छ, नभए पनि चौताराका मूल बाटाहरु अहिले जंगल र घारीमा बदलिइसकेका छन् ।

अहिले थापिने धेरैजसो पिङ सडकमै देखिन्छन् । बाटो हिँड्नेहरुले मौका पाए चढ्छन् । रोटे पिङ र जाँते पिङ त लोप हुन थालिसके । चंगामा पनि अब बच्चाहरुमा खासै रुचि देखिँदैन । गाउँमा बच्चा ज्यादै कम छन् । भएका पनि मोबाइलमा मस्त छन् । शहरी क्षेत्रमा पहिलेजस्तो टोलभरीमा बच्चा भेला भएर खेल्ने संस्कार टुटिसकेको छ । अब एकले अर्कालाई नचिन्ने अवस्था छ ।

काठमाडौँजस्तो घना आवादी भएको शहरमा त चङ्गा उडाउने चौरहरु नै कंक्रिटका भवनले भरिइसकेका छन् । त्यसैले अध्यात्म र धार्मिक अनुष्ठानहरु टुटेजस्तै दशैँको परम्परागत मौलिकताबाट पिङ र चङ्गा पनि हराउँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्