काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू
काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू भएको छ। काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरिएको हो।
सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुनेछ ।
खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो ।
मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेको त्यहाँ संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।