आज दुर्गाको मूल स्वरुप कात्यायनी अर्थात् छठी मैयाको पूजा गरेर मनाइँदै, तलेजु भवानीको विशेष आरधना
काठमाडौं । आज नवरात्रीको सातौँ दिन । तर चन्द्रमास गणना अनुसार षष्ठी अर्थात् छैटौं दिवस पनि आजै हो । यस दिन महादेवी दुर्गाको छैटौं स्वरुप कात्यायनीको पूजा गरिन्छ । माता दुर्गाको यस रुपलाई नवरात्री मात्र होइन, छठ पर्वमा पनि आरधना गरिन्छ । देवीको यस रुपले महिसासुरलाई मारिदिएको बताइन्छ ।
नेपालमा आरधना गरिने तलेजु भवानी पनि कात्यायनीकै स्वरुप हो । राक्षसी अहँकार र अधिनायकत्वले ऋषि मुनीहरु मर्माहत भएपछि ऋषि कात्यायनले भवनी परम्बाको कठोर तपश्या गरे । उनको उपासनाबाट प्रसन्न भएकी माता महाकालीले महर्षिको घरमा उनकै छोरी बनेर जन्म लिइन् ।
उनको स्वरुप ज्योतिर्मय रहेको बताइन्छ । यी देवीको चार हात रहेको बताइन्छ । यिनको दाहिने तर्फको एक हात वर मुद्रामा र अर्को हात अभय मुद्रामा देखिन्छ । देब्रेतर्फको एउटा हातमा तरवार र अर्को हातमा कमलको फूल रहेको छ । देवीको यस स्वरुप सिंहमा सवार रहनेवाली हुन् ।
शास्त्रमा माता षष्ठी देवीलाई भगवान ब्रह्माको मानसपुत्री रहेको मानिन्छ । नेपालको तराई क्षेत्र, भारतको विहार र झारखण्ड राज्यमा स्थानीय भाषामा कात्यायनीलाई छठ मैया वा छठी मैया भन्ने गर्छन् । माताको पूजाको उल्लेख ब्रह्मवैवर्त पुराणमा गरिएको छ ।
एक पटक रम्भासुर नामका शक्तिशाली राक्षसलाई देवताहरुले मारिदिएका थिए । उनका छोरा महिसासुरले ब्रह्माको कठोर तपस्या गरे । यसरी ब्रह्माजीसँग उनले ‘देवता, दानव वा मानवबाट आफ्नो मृत्यु हुन नसकोस र कोही स्त्रीबाट आफ्नो मृत्यु सुनिश्चित होस्’ भन्ने वरदान मागे । यस्तो बरदान पाए पछि महिसासुरले तीनै लोकमाथि विजय गरेर त्रिलोकपति बनेका थिए ।
यसपछि देवताहरुले देवी कात्यायनिको आरधना गरे । कात्यायनीले त्रिदेव लगायत सम्पूर्ण संसारका पुरुषको शरीरमा भएको ‘नारी शक्ति’ आफूमा समाहित गरिन् । सबै देवताले आफ्ना आफ्ना शस्त्रास्त्र पनि दिए भन्ने कथा छ । माताको यही स्वरुपलाई ‘दुर्गा’ भनिन्छ ।
त्यसैले ज्योतिष शास्त्रमा कुण्डलीको छैटौँ घरलाई शस्त्रु भाव वा शत्रुको घर भनिन्छ । जुन घरमा पाप ग्रहले बास गरेको छ भने त्यस्तो जातक ‘शत्रुहन्ता’ अर्थात् सदैव शत्रुमाथि विजय पाउनेवाला हुन्छ भन्ने विस्वास छ ।
योगीहरुले यस दिन ज्ञान चक्र अर्थात् दुई आँखिभौँ जोडिने स्थानमा ध्यान केन्द्रित गर्नुपर्छ । ज्ञान चक्रको जागृतिपछि मान्छेले आफ्नो मनमाथि नियन्त्रण गर्न सक्छ ।
माता कात्यायनीको बीज मन्त्र हो, ‘क्लीं श्री त्रिनेत्रायै नमः’ हो । भवानीका नौ स्वरुपमध्ये योगमाया कात्यायनीको स्वरुप सबैभन्दा सुन्दर रहेको वर्णन छ ।
खासगरी विवाहयोग्य कन्याहरुले नवरात्रीको यस दिन ‘षष्ठी पूजन’ गर्ने गरेका छन् । देवीको वैदिक मन्त्र ‘ॐ देवी कात्यायन्यै नमः ।।’ हो । पूर्ण विधी र निष्ठापुर्वक यसरी पूजा गर्नाले एक वर्षभित्रै विवाह हुने भनाइ छ ।
मातालाई कुनै दान वा विशेष भोग लगाउनु पर्दैन । श्रृङ्गार सामाग्रीमार्फत् पूजा गरेर मातालाई खुसी पार्न सकिन्छ । द्वापर युगमा गोपिनीहरुले भगवान कृष्णलाई पतिका रुपमा पाउन भन्दै यमुना नदीको तटमा दुर्गाको यही रुपको आरधना गरेको बताइन्छ ।
पति प्राप्तीका लागि गोपिनीहरुले आरधना गरेको मन्त्रः
कात्यायनी, महामाया महायोगीन्यधीश्वरी
नंद गोप सुतं देवी पति में कुरुते नमः
यस मन्त्रले माताको प्रार्थना गर्न सकिन्छ:
ॐ ह्रीं नमः
चन्द्रहासोज्जवलकराशाईलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।