आज धन्वन्तरी जयन्तीः आयु, आरोग्य र समृद्धिका निम्ति यसरी गर्नुस् आरधना
काठमाडौँ । आज धन्वन्तरी जयन्ती हो । आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन विशेष रूपले स्मरण गरिने दिनलाई ‘धन्वन्तरी जयन्ती’ भनिन्छ ।
समुन्द्र मन्थनका क्रममा धन्वन्तरी महाराज उत्पन्न भएको मानिन्छ । त्यही समुद्र मन्थनबाट महामाया भगवतीको महालक्ष्मी स्वरुप प्रकट भएको थियो । त्यसैले लक्ष्मी माता र भगवान धन्वन्तरीलाई दाजुबहिनी मान्नेहरु पनि छन् । वैष्णवीहरले उनलाई विष्णुकै अंश पनि मान्छन् ।
प्राचीन कालमा इन्द्र (यहाँ इन्द्रको अर्थ स्वर्गका राजा होइन, परमात्मा अर्थात् सर्वोच्च शक्ति भन्ने जनाउँछ) बाट आयुर्वेद दिक्षा पाएको मानिन्छ । त्यसमध्ये धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्याएको पाइन्छ ।
स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए ।
‘स्वास्थ्य नै धन हो’ भन्ने विश्वप्रसिद्ध नाराले पनि तिहारमा चिकित्साका प्रणेता भगवान धन्वन्तरीको पूजा आरधना गर्नुलाई विशेष महत्वका साथ हेरिन्छ । धनवन्तरी जयन्ती पनि कात्तिक त्रयोदशिकै दिन पर्छ । तर त्रयोदशी मंगलबार विहान ११ बजेपछि नै सुरु भइसकेको भए पनि सूर्योदयको समयमा त्रयोदशी तिथि चाहीँ बुधबार परेको छ । यही कारण आरोग्यताका भगवानको आरधना गर्ने दिन आज परेको हो ।
धन्वन्तरि जयन्तीमा विभिन्न मन्त्र तथा स्तोत्रहरुले भगवानको आरधना गरिन्छ । आरोग्य प्राप्तिको लागि धन्वन्तरी देवको पौराणिक मन्त्र यस प्रकार छः
ॐ नमो भगवते महासुदर्शनाय वासुदेवाय धन्वंन्तरायेः ।
अमृतकलश हस्ताय सर्वभय विनाशाय सर्वरोग निवारणाय ।।
त्रिलोक पथाय त्रिलोकनाथाय श्री महाविष्णु स्वरुप ।
श्री धनवंन्तरि स्वरुप श्री श्री श्री ओषधचक्र नारायणाय नमः।।
भगवान धन्वन्तरिलाई खुसी पार्न ‘ॐ धन्वंतराये नमः’ सरल मन्त्र पनि जप गर्न सकिन्छ । अखण्ड लक्ष्मीको वरदान दिनेवाला, स्थायी समृद्धि र आरोग्यको आशीर्वाद दिनेवाल भगवान धन्वन्तरीलाई प्रसन्न पार्न यो स्तोत्रको पनि पाठ गर्न सकिन्छः
ॐ शङ्खं चक्रं जलौकादधदतम् अमृतघटम् चरूदौर्भिश्चतुर्भिः ।
सुक्ष्म स्वच्छ अतिहृद्यम् शुक परिविलसन मौलिसम्भोज नेत्रम् ।।
कलांभोदोज्वलांगं कटितटविलसः चारूपीताम्बराढ्यम् ।
वन्दे धन्वन्त्वरिं तं निखिल गदम् इवपौढदावाग्रिलीलम् ।।
यो विश्वं विदधाति पातसततं संहारयत्यंजसा ।
सृष्ट्वा दिव्यमहोषधींश्च–विविधान् दूरिकरोत्यामयान् ।।
विंभ्राणों जलिना चकास्तिभुवने पीयूषपूर्ण घटम् ।
तं धन्वंतरीरूपम् इशम्–अलम् वन्दामहे श्रेयसे ।।
आजै कागतिहार पनि परेको छ ।