आज कुकुर तिहारः ‘ग्रेटर नेपाल’मा किन मनाइन्छ यो पर्व ?
काठमाडौँ । यम–पञ्चकको दोस्रो दिन आज कुकुर तिहार हो । ‘नरक चतुर्दशी’ पनि भनिने यो पर्वमा कुकुरको सम्मानमा पूजा गरिन्छ । तिहार अर्थात् यम–पञ्चक भनेको ‘ग्रेटर नेपाल’को पर्व हो ।
सिंगो आर्य समाजले नभइ तिहार नेपालीहरुले मनाउने पर्व हो । यसका अलवा सुगौली सन्धी अघिको नेपाल अर्थात् वर्तमान भारतको दार्जिलिङ, सिक्किम, उत्तराखण्ड र हिमाचल प्रदेशका केही भागमा पनि यम–पञ्चक मनाइन्छ ।
यसबाहेक नेपालीहरु रहेका विदेशका विभिन्न स्थानमा तिहार मनाउने गरिएको छ । नेपाली संस्कृतिलाई विश्वमा प्रसार गर्नमा कुकुर तिहारको विशेष महत्व देखिएको छ । किनकी, नेपालीहरुले यो ‘अनौठो’ पर्वबाट उत्प्रेरित भएर संसारभरका कुकुरलाई मायाँ गर्ने मानिसहरु र मुख्यतया पशु अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि कुकुरको सम्मानमा विभिन्न कार्यक्रम गर्न थालेका छन् ।
कुकुर तिहारको मुख्य उद्देश्य उसको महत्वलाई बुझ्ने र बुझाउने हो । परापूर्व कालदेखि नै मानिसको साथिका रुपमा कुकुरले निर्वाह गर्दै आएको भूमिकाप्रति कृतज्ञता अर्पण गर्ने र स्नेह दर्शाउने पर्व पनि यही हो । कुकुरको निस्वार्थ सेवा र बफादारीप्रति सम्मान गर्दै मानवसँगको सम्बन्ध थप प्रगाढ बनाउन यो पर्वले महत्वपूर्ण योगदान गर्छ ।
तिहारमा पाल्तु वा आवारा जेसुकै भए पनि सबै कुकुरलाई समान व्यवहार गरिकन पूजा गर्ने गरिन्छ । यसका लागि कुकुरलाई शीरमा तीलक लगाइदिने, चन्दन अक्षता र फूलले पूजा गर्ने, माला लगाइदिने र स्वादिष्ट भोजन खुवाउने गरिन्छ । यस तिहारले कुकुरलाई हाम्रो परिवार र समाजमा उसको महत्व बुझ्न सघाउँछ ।
धार्मिक महत्व
कागजस्तै कुकुरलाई पनि यमराजको दूत वा प्रतिनिधीका रुपमा लिइन्छ । यमराजको ढोकामा पाले बस्ने एक कालो कुकुर छ भन्ने मान्यता छ । यसको प्रकृति र वर्णन नेपालमा हिमाली क्षेत्रमा पाइने ‘भोटे कुकुर’सँग ज्यादातर मेल खान्छ ।
द्वापर युगको अन्त्यमा युधिष्ठिरले आफ्नो राज्य नातीलाई सुम्पिएर सशरीर स्वर्ग जाँदा उनको साथमा कालो कुकुर पनि स्वर्ग पुगेको र उक्त कुकुरलाई छाडेर युधिष्ठिर स्वर्गभित्र पस्न नमानेको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । यसले कुकुरको बफादारिता र पवित्रताको संकेत गर्छ ।
नाथ सम्प्रदायका महागुरु गोरखनाथ हुन् । उनका गुरु मत्स्यन्द्रनाथ र तिनका पनि गुरु दत्तात्रय हुन् । सती अनसूयाले त्रिदेव (ब्रह्मा, विष्णु, महेश)लाई नै आफ्नो सतित्वबलबाट ६ महिनाका बालक बनाइदिएपछि भगवान दत्तात्रयको प्रादुर्भाव भएको थियो ।
त्रिदेवको समष्टि रुप मानिने तिनै दत्तात्रयले सधैँ गाई र कुकुरलाई साथमा लिएर हिँड्ने गरेको वर्णन पाइन्छ । यसले पनि कुकुरको समर्पण भाव र उसको मानवसँगको भावनात्मक सम्बन्धलाई दर्शाउँछ । साथै, योगिक मार्गमा जागृतिको महत्व जान्न कुकुर कसरी प्रेरणादायी बन्न सक्छ भन्ने पनि यसबाट संकेत मिल्छ ।
विभिन्न पूराण तथा श्रुतिहरुमा कुकुरलाई पूजा गरेर उसलाई प्रसन्न पार्न सकेमा मृत्युपर्यन्त आत्माको तारण कार्य सुगम हुने उल्लेख छ ।
सामाजिक तथा सांस्कृतिक महत्व
मानव इतिहासमै कुकुर हाम्रो सबैभन्दा पुरानो मीत्र जन्तुको रुपमा रहँदै आएको छ । मान्छेलाई सुरक्षा दिन र हाम्रो धनमालको जगेर्ना गर्नदेखि गोठालो र शिकारसम्म कुकुरले मानवलाई सहायता गर्दै आएको छ । अहिले पनि हिमाली क्षेत्रमा कुकुरले नै भेडाच्यांग्रा, चौरी, भैंसीको गोठालो गरिरहेको हुन्छ ।
हामीले ऐश्वर्यसँग जोडेर हेर्ने हो भने पनि आफ्नो धन त्यस बेलासम्म आफ्नो हुन्छ, जबसम्म त्यो सुरक्षित छ । कुकुर हाम्रो मजबूत सुरक्षाकर्मी हो । तर आजसम्म आउँदा यसका नयाँ नयाँ आयामहरु पनि देखिएका छन् । बाढी, पहिरो, भूकम्पजीस्ता प्राकृतिक प्रकोपमा हुने मानवीय क्षतिलाई कम गर्न कुकुरले खोज तथा उद्धार कार्यलाई ज्यादै ठूलो सहयोग गरिरहेको छ ।
युद्ध क्षेत्रमा कुकुरको ब्यापक प्रयोग हुन थालेको छ । दुर्घटनाको अनुसन्धान गर्नमा पनि कुकुरको खुब प्रयोग हुन्छ । सुरक्षा निकायहरुले कुकुरको अलग्गै सुरक्षाकर्मी टोली बनाएका छन् । ती तालिम प्राप्त कुकुरले अपराधको अनुसन्धानमा पनि अत्यन्त ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।
मानवीय क्षमताले नभेट्टाएका कयौँ आधार, प्रमाण र घटनासँग सम्बन्धित साधन खोज्नमा कुकुरले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरुमा वन्यजन्तुको अबैध सिकार नियन्त्रण गर्न पनि कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेत्रहिन मानिसहरुलाई मार्गदर्शन गर्न र मानसिक रुपमा कमजोर मानिसहरुलाई भावनात्मक ढंगले जोडिएर शारीरिक एवम् मानसिक मद्दत गरिरहेको छ ।
मानिस (आफ्नो मालिक)प्रति गहिरो भावनात्मक लगाव राख्ने कुकुर बफादार, समर्पित र सुरक्षामा कटिबद्ध हुन्छ । ज्यादै ‘पातलो निद्रा’ भएको प्रणी भनेर पनि कुकुरलाई चिनिन्छ । उसको सुँघ्ने (घ्राँण) र सुन्ने क्षमता मानिसभन्दा कयौँ गुणा राम्रो हुन्छ । सधैँ सचेत र सतर्क रहने कुकुरलाई यी दुई इन्द्रियको प्रभावकारीताले ज्यादै ‘चलाखो’ बनाइदिएको छ ।
कुकुरमा विनम्रता, सम्बेदनशीलता त हुन्छ नै, यो मानिस र अन्य जीवजन्तुसँग पनि सजिलै घुलमिल हुने किसिमको हुन्छ । यसले आफ्नै प्रजाती अर्थात् कुकुरको हुलमा मात्र नभइ सबै प्राणीसँग राम्रो सम्बन्ध बनाउन सक्ने सामाजिक कौशल उसमा विकास भएको छ ।
त्यसैले कुकुर एक पाल्तू जनावरमात्रै होइन, मानिसको असल मित्र, सुरक्षाकर्मी र सहयोगीको रुपमा स्थापित छ । उसको यही भूमिका र योगदानलाई सम्मान गर्न वर्षमा एक दिन कुकुर तिहार मनाउने गरिन्छ । फेरि पनि यम–पञ्चकमा कुकुर तिहार मनाउनुको औचित्य चाहीँ पारलौकिक अर्थात् मृत्युपश्चातको सहजताको कमना गर्नु हो ।