लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक हमाल
काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् ।
नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ʻमहानायक’ को रुपमा पनि चिनिन्छ । ब्राण्ड एम्बेसेडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् ।
लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी रहेको ब्राण्ड एम्बेसेडरको हमालले बताए । उक्त सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित रहेको उनको भनाई छ ।
चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा निकै नै उत्साहित भएको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । उनले भने,‘ हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ ।’
नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।