‘खल्ती वालेट’का कर्मचारीको बदमासी, सेवाग्राहीका व्यक्तिगत विवरण आपराधिक गिरोहलाई बिक्री « Arthapath.com
११ मंसिर २०८१, मंगलवार

‘खल्ती वालेट’का कर्मचारीको बदमासी, सेवाग्राहीका व्यक्तिगत विवरण आपराधिक गिरोहलाई बिक्री



काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘खल्ती वालेट’का केही कर्मचारीले बदमासी गरेको पाइएको छ । उनीहरूले सेवाग्राहीको व्यक्तिगत कागजात र विवरणहरू आपराधिक गिरोहहरूलाई बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको हो ।

ती कर्मचारीहरूले आपराधिक गिरोहसँग कमिसन लिएर विवरण उपलब्ध गराउने गरेको तथ्य काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सेवाग्राहीका नागरिकताको प्रतिलिपि, फोटो र अन्य व्यक्तिगत विवरण डाउनलोड गरी ती गिरोहलाई उपलब्ध गराउने र सेवाग्राहीको नाममा सिमकार्ड लिने गरेको पाइएको छ ।

उक्त सीम प्रयोग गरी वालेट खाता खोल्ने र त्यस्ता खाताहरू अवैध आर्थिक कारोबारमा प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

ग्राहकले खाता खोल्न अनिवार्य भर्नुपर्ने नो योर कस्टुमर (केवाईसी) विवरण दुरुपयोग गरेर ५५ भन्दा धेरै फर्जी वालेट खाता खोलिएको पत्ता लागेको छ । घटनामा संलग्न रहेको आरोपमा खल्ती वालेटका तीन कर्मचारीलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्