मेट्रो काठमाडौं अस्पताल र ट्रक व्यवसायी महासंघबीच घाइते उपचारमा सम्झौता

काठमाडौं । मेट्रो काठमाडौँ अस्पताल प्रा.लि. र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच सवारी दुर्घटनामा घाइते भएका व्यवसायीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विशेष सम्झौता भएको छ ।
उक्त सम्झौतामा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश ओली र महासंघको तर्फबाट महासचिव राजेन्द्र विक्रम बाँनियाले हस्ताक्षर गरेका हुन् ।
महाराजगञ्जस्थित मेट्रो काठमाडौँ अस्पतालले महासंघमा आवद्ध व्यवसायीहरूको आकस्मिक अवस्थामा उपचार सहज बनाउन सहमति जनाएको हो । सम्झौता अनुसार, दुर्घटनामा परेका बिरामीको उपचार तत्काल सुरू गरिनेछ। बिरामीलाई आकस्मिक कक्षमा भर्ना गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । महासंघले उपचारको लागि आवश्यक कागजात र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी लिनेछ। अस्पतालले बिरामीको उपचार खर्चमा विशेष छुटको पनि घोषणा गरेको छ ।
५ लाखभन्दा कमको उपचार खर्चमा १५ प्रतिशत र ५ लाखभन्दा माथिको खर्चमा २० प्रतिशत छुट दिने सहमति भएको छ। त्यस्तै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराइनेछ ।
बीमा प्रक्रियालाई सहज बनाउन अस्पतालले आवश्यक कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । महासंघका महासचिव बाँनियाले सम्झौता दुर्घटनापछि व्यवसायीहरूको जीवनरक्षा गर्न महत्वपूर्ण हुने बताए । मेट्रो काठमाडौँ अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओलीले गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्ने अस्पतालको प्रतिबद्धता दोहो¥याएका छन् ।
सम्झौताले महासंघमा आवद्ध व्यवसायीहरूलाई आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा सहजता ल्याउने विश्वास गरिएको छ ।