भृकुटीमण्डपमा आठौँ चेम्बर एक्स्पो १७ माघदेखि हुने, आइटी क्षेत्रलाई पनि समेटिने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको चेम्बर एक्स्पो–२०२५ हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा १७ माघदेखि २१ गतेसम्म एक्स्पो हुन लागेको हो। एक्स्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।
एक्स्पोमा स्वदेशमा उत्पादित वस्तुका साथै अन्तराष्ट्रिय वस्तुहरुको प्रर्दशनी हुँदैछ । मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, मलेसिया, थाईल्याण्ड, जापान र कोरियाका व्यवसायीको सहभागिता रहनेछ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो।
व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ।
स्वदेशी र विदेशी गरी सयभन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन्। पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बताए ।
यसपटक सूचना तथा प्रविधि अर्थात् आइटी क्षेत्र (एआई)लाई समेत समेटिने भएको छ । नेपालमा पनि आइटी क्षेत्रलाई अगाडि बढाउने उद्देश्यका साथ यसलाई पनि एक्स्पोमा समेटिने अध्यक्ष अग्रवालले बताए ।
एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक, होमअप्लाइन्स, लोजिस्टिक, टेक्स्टटाइल, फर्निचर, गार्मेन्टस्, लेदर गुडस्, ज्वेलरी, कस्मेटिक, खाद्यान्न र दुग्धजन्य उत्पादनहरूको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।