आज रोज डेः कसलाई कस्तो रङ्गको गुलाब दिने ?

काठमाडौं । भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ।
यस दिन आफ्ना प्रियजनहरूलाई गुलाब दिएर आफ्नो माया, मित्रता र भावनाहरू व्यक्त गर्ने गरिन्छ । गुलाबलाई प्रेम र सौन्दर्यको प्रतीक मानिन्छ र विभिन्न रङ्गका गुलाबहरूले फरक–फरक भावनाहरू दर्शाउँछ ।
उक्त दिन विशेष गरी ती व्यक्तिहरूको लागि महत्त्वपूर्ण हुन्छ, जसले आफ्नो मायाको प्रस्ताव गर्न चाहन्छन् । आफ्नो क्रश वा साथीलाई पहिलो पटक आफ्नो मायाको प्रस्ताव गर्न गुलाबको फूल दिन सकिन्छ । तर हरेक सम्बन्ध र भावनाको अभिव्यक्तिको लागि फरक–फरक रङ्गका फूलहरू हुन्छन् ।
तर, रोज डेमा रातो गुलाब मात्र होइन विभिन्न रंगका गुलाब जो सुकैलाई पनि दिन सकिन्छ । यी फरक–फरक गुलाबको महत्व र अर्थ पनि फरक–फरक छ ।
रातो गुलाब
रोज डेमा रातो गुलाब दिनु भनेको कसैलाई आफ्नो माया व्यक्त गर्नु हो किनभने रातो रङलाई प्रेमको रंग भनिन्छ । रातो गुलाबलाई प्रेम, भक्ति र रोमान्सको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डे र रोज डेमा पनि रातो गुलाब दिइन्छ ।
गुलाबी गुलाब
तपाईले मनपर्ने वा तपाईलाई मन पर्ने व्यक्तिलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ। यो गुलाब आफ्नो भावना व्यक्त गर्न दिन सकिन्छ। यदि तपाईं कसैप्रति कृतज्ञता महसुस गर्नुहुन्छ भने यो उनलाई पनि यो दिन सकिन्छ।
पहेंलो गुलाब
पहेँलो गुलाबलाई मित्रताको प्रतीक मानिन्छ । यो गुलाब आफ्ना साथीहरूलाई वा साथीको रूपमा मन पराउने व्यक्तिलाई दिन सकिन्छ।
सेतो गुलाब
सेतो रंगलाई शान्तिको प्रतीक मानिन्छ । तपाईं यो गुलाब कसैलाई दिन सक्नु हुन्छ, जसको लागि तपाईंको मनमा कुनै छल छैन। सम्बन्धमा इमान्दारिता देखाउनको लागि व्यक्तिले कसैलाई सेतो गुलाब पनि दिन सक्छ।
सुन्तला गुलाब
सुन्तला रंगको गुलाब ऊर्जा, खुशी र उत्साह व्यक्त गर्न दिइन्छ। सम्बन्धमा यो गुलाब दिनुको अर्थ तपाई आफ्नो पार्टनरसँगको सम्बन्धमा जोश र उत्साह चाहनु हुन्छ भन्ने हो ।