‘अझै कम्तिमा एक वर्ष फोनपेको क्युआर भुक्तानीमा शुल्क लाग्दैन’ « Arthapath.com
६ भाद्र २०७८, आईतवार

‘अझै कम्तिमा एक वर्ष फोनपेको क्युआर भुक्तानीमा शुल्क लाग्दैन’



पछिल्लो समय डिजिटल भुक्तानीलाई आक्रामक रुपमा अघि बढाइरहेको कम्पनी ‘फोनपे’ काठमाडौंमा लोकप्रिय हुन थालेको छ । शहरी क्षेत्रका थुप्रै ससाना खुद्रा पसलमा फोनपेको क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने सुविधा छ । कोरोना महामारीको सबैभन्दा ठूलो लाभ लिने क्षेत्रमध्ये डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरू पनि हुन् । नेपालमा डिजिटल भुक्तानीको अवस्था र अवको संभावना बारे ८ वर्षदेखि एफवान सफ्टमा कार्यरत रहँदै आएका फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्वैतरत्न तुलाधरसँग अर्थपथले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।


अहिले डिजिटल कारोबारमा अलिकति अघि बढेजस्तो त देखिएको छ । तर मानिसहरूले यसलाई अझै पनि सहज स्वीकार्न सकेका छैनन् । यसमा के कारण छ ?

यसमा हामीले दुइ भिन्न पाटालाई हेर्नुपर्छ । हामी नगदरहित अर्थतन्त्र र नगदरहित समाजलाई भिन्न रुपले हेर्नुपर्छ । आजको दिनमा देशभर जति पैसाको कारोबार हुन्छ, त्यसमध्ये डिजिटल माध्यमबाट कति प्रतिशत भयो भनेर हेर्ने विधीलाई हामी नगदरहित अर्थतन्त्र भन्छौं । त्यसमा हामी अहिले करीब ३ प्रतिशत जति छौं ।

अब नगदरहित समाजको कुरा गर्ने हो भने त्यसमा वित्तीय समावेशीकरणका कुरा पनि आउँछन् । डिजिटलमा कसको पहूँच छ त ? उदाहरणका लागि दुर्गम क्षेत्रमा बस्ने मान्छेले इण्टरनेट उपलब्ध नहुँदा चाहेर पनि डिजिटल कारोबार गर्न सक्दैनन् । तर उनीहरूसँग नगद हुन्छ र त्यसैको कारोबार गर्छन् ।

अहिले कोरोना महामारी सुरु भएपछि डिजिटल कारोबार झण्डै २०० प्रतिशतले नै बढ्यो । यसो हुनुमा मध्येमवर्गको आम्दानीलाई महामारीले असर नगरेका कारण हो । मध्येम वर्गको आम्दानी नघटेको, उनीहरूलाई डिजिटल कारोबारको तौरतरिका थाहा भएको र उपकरणहरू पनि उनीहरूसँग भएका कारण महामारीमा डिजिटल कारोबार बढेको हो ।

तर हामीले वित्तीय समावेशीकरणमा फड्को मार्न सकेको देखिएन । वित्तीय साक्षरता बढ्न सकेको छैन । महामारीले बैंकलाई साक्षरतामा जान दिएन । त्यसकारण महामारीमा डिजिटल कारोबार बढे पनि वित्तीय समावेशीकरणमा समस्या भएको छ । सीमित मान्छेले मात्रै कारोबार बढाएका छन्, नयाँ मान्छे खासै थपिएको देखिँदैन ।

ग्राहक कति छन् भन्ने कुनै तथ्यांक छ ?

एफवान सफ्टले अधिकांश बैंकमा मोबाइल बैंकिङको सुविधा दिएको छ । गएको असार मसान्तसम्ममा नेपालमा मोबाइल बैंकिङ सुविधा लिनेको संख्या १ करोड ४० लाख छ । तर सक्रीय डिजिटल कारोबार गर्नेको संख्या २७ लाख छ । बाँकी ग्राहकले मोबाइल बैंकिङ सेवा त लिएका छन् । उनीहरूले बैंकिङ कारोबार गर्दा एसएमएसबाट सूचना त आउँछ । तर मोबाइल बैंकिङमार्फत् नै कारोबार गर्ने अवस्था बनेको छैन ।

तर फोनपेको राम्रो भएको चाहीँ मर्चेण्टमा हो । पहिले हामीसँग फोनपेको क्यूआर कोड सुविधा उपयोग गर्ने विक्रेताको संख्या ५० हजार थियो । पहिले विक्रेताहरू क्युआर कोड राख्न हिच्किचाउन्थे । तर महामारी सुरु भएपछि नगद पैसाबाट पनि भाइरस फैलिने चर्चा आयो । त्यसपछि मानिसहरू मोबाइलबाटै तिर्न तत्पर हुन थाले । यसले विक्रेताहरू आफैं क्युआर कोडको सुविधा माग्न थालेका छन् । अहिले देशभर ४ लाख ८० हजारभन्दा बढी मर्चेण्टमा तपाइँले फोनपेको क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्नु हुन्छ ।

इण्टरनेटको उपलब्धताले डिजिटल भुक्तानीलाई कत्तिको असर परेको छ ?

भर्खरै प्रकाशित प्रतिवेदन अनुसार अहिले नेपालमा ९० प्रतिशत जनसंख्या इण्टरनेटको पहूँचमा पुगेको छ । त्यसमध्ये ६४ प्रतिशत मोबाइल डेटामै निर्भर छ । पछिल्लो समय मोबाइल डेटा सस्तो र पहिलेभन्दा भरपर्दो पनि भएको छ । त्यसकारण हामीले जुनसुकै प्रविधिको विकास गर्दा मोबाइल डेटाबाटै चल्न सक्ने र इण्टरनेटको थोरैभन्दा थोरै खपत गर्ने खालको प्रविधि बनाइरहेका छौं ।

त्यसले गर्दा ‘थ्री जी’ नेटवर्कमा मोबाइल डेटाबाटै हाम्रा एपहरू चल्छन् । त्यसले गर्दा ‘थ्री जी’को पुर्वाधार धेरैतिर पुगेका कारण हामीलाई व्यवसाय विस्तार गर्न सजिलो भएको छ ।

इण्टरनेटको लागतले डिजिटल कारोबारलाई प्रभावित पार्छ ?

सन् २०१२ अघि सबै एसएमएस बैंकिङ थियो । पैसा पठाउन त मिल्थ्यो, तर एसएमएसबाट गर्दा १ रुपैयाँ टेलिकमलाई तिर्नुपथ्र्यो । पछि हामीले मोबाइल डेटाबाट चल्ने प्रविधि बनायौं । तपाइँले वाइफाइको प्रयोग गर्नुभयो भने त निःशुल्क भुक्तानी भइहाल्यो ।

मोबाइल डेटा नै प्रयोग गर्ने हो भने तपाइँले १५ पैसाको डेटा खपत गर्दा तपाइँले ६ पटकसम्म मोबाइल बैंकिङबाट कारोबार गर्न सक्नुहुन्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ ।


कारोबारको कमिशन लिनुहुन्न ?

अहिले फोनपेको क्युआर कोडबाट भुक्तानी गर्दा ग्राहकले वा विक्रेताले कुनै पनि कमिशन तिर्नु पर्दैन । निःशुल्क कारोबार गर्ने सुविधा छ । फोनपेको दुई वटा सेवा छ । एउटा चाहीँ अन्तरबैंक ‘फण्ड ट्रान्सफर’ र अर्को क्युआर भुक्तानी । हामीले क्युआर भुक्तानीको हकमा न त मर्चेण्ट (विक्रेता)लाई शुल्क लाग्छ, न ग्राहकलाई । त्यो सबै निःशुल्क हो । यसमा राष्ट्र बैंकले पनि हामीलाई निकै सहजिकरण गरिदिएको छ ।

गभर्नर साब् आफैंले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तरकारी बजारहरूमा पुगेर क्युआर प्रविधीबाट कारोबार गर्नुपर्छ भन्नुभयो । हामीलाई उत्प्रेरणा दिनु भयो । यसो गर्नुमा उहाँ (गभर्नर)ले केही संभावना देख्नु भयोहोला जस्तो लाग्छ । जस्तो की, क्युआर प्रविधी भनेको जोसुकैले उपयोग गर्न सक्ने खालको हुन्छ । यसका लागि कार्ड स्वाप गर्ने खालको पस मेसिन चाहिन्न ।

तरकारी पसलेले यति महँगो प्रविधी किन्न सक्दैन । तर उसँग मोबाइल त हुन्छ । मोबाइललाई नै पैसा लिने डिभाइस बनाउने प्रविधि भनेको क्युआर हो । हामीले पनि यो प्रविधिलाई निःशुल्क बनाएका छौं र तत्काल शुल्कलीने योजना पनि छैन । अहिले दैनिक ५० हजारजति क्युआर भुक्तानीको कारोबार भइरहेको छ । त्यो अझै बढाउने कोशीश गर्दैछौ ताकी ग्राहक र बिक्रेता दुबैमा यो प्रबिधिमाथिको बिश्वास अझै बलियो होस ।

नेपालका पस मेसिनमा अधिकतर भिजा र मास्टर कार्ड प्रयोग हुन्छ । ती दुबै विदेशी कम्पनी हुन् । कार्डबाट भुक्तानी गर्दा ती कार्ड सेवा प्रदायकलाई कमिशन जान्छ । यसरी वर्षेनी धेरै पैसा विदेशिइरहेको छ । क्युआर भुक्तानी भनेको नेपालीकै उत्पादन हो । भोलि गएर हामीले कमिशन नै लगायौं भने पनि त्यो पैसा देशभित्रै बस्छ । त्यो भएर पनि गभर्नर यो अभियानमा लागिरहनु भएको हो ।

फण्ड ट्रान्सफरमा त निकै महँगो पैसा लिनु हुन्छ नि ?

धेरै मान्छेलाई थाहा नभएको अर्को कुरा के हो भने, अहिले पनि नेपालमा आन्तरिक रेमिट्यान्स कारोबार उच्च छ । एक जिल्लाबाट अर्को जिल्ला वा एउटा गाउँबाट अर्को गाउँमा पैसा पठाउने गरिन्छ । त्यसरी रेमिट्यान्सबाट पैसा पठाउँदा अहिले पनि फोनपेमा भन्दा चार गुणा महँगो पर्छ । त्यसकारण हामीले लागतको तुलना गर्दा त्यता पनि हेर्नुपर्छ ।

फोनपेले अन्तरबैंक रकमान्तर गर्ने सुविधा दिएको छ । हामीले यो प्रडक्टलाई ‘फोनपे डिरेक्ट’ भनेर ब्राण्डिङ गर्छौं । त्यो प्रविधिमा दैनिक ५० हजार जनाले कारोबार गरिरहेका छन् । यो प्रविधिबाट हुने भुक्तानी चाहीँ केही अन्य बिकल्प भन्दा थोरै महँगो हुनुको कारण यस्को विशिष्ट सुविधा हो ।

तपाइँलाई तत्कालै १० हजार रुपैयाँ चाहियो, तर बैंक खाता नम्बर सम्झना छैन भने तपाइँको मोबाइल नम्बरमात्रै प्रयोग गरेर मैले तपाइँलाई पैसा पठाउन सक्छु । यो प्रविधी हामीसँगमात्र छ । यो सजिलो र छिटो पनि छ । अहिले नेपालभर मोबाइल बैंकिङ सुविधा लिएका करीब डेढ करोड मानिसले यसरी कारोबार गर्न सक्छन् ।

एफवान सफ्टले दिने वित्तीय सेवा केके हुन् ?

हामीसँग एफवान सफ्ट ग्रुप छ । यो समूहभित्र विभिन्न कम्पनी छन् । ग्रुपभित्र एफवान सफ्ट भन्ने नै कम्पनी छ । यो चाहीँ संस्थापक कम्पनी हो । त्यसले मोबाइल बैंकिङ ईन्टरनेट बैंकिङ जस्ता फिन्टेक प्रणाली बनाएर बैंकहरूलाई दिन्छौ । यसले बैंक खातालाई मोबाइल एपसँग जोड्ने सेतु तयार पार्छ ।

त्यसपछि अर्को कम्पनी हो इसेवा । यो वालेट कम्पनी हो जस्को कारीब ५० लाख ग्राहक तथा १ लाख एजेन्टहरू छन । अर्को फोनपे कम्पनी छ । यो चाहीँ नेटवर्क हो । अहिले ५२ वटा बैंक र तीनवटा वालेट फोनपेको सञ्जालमा जोडिएका छन् । जस्ले गर्दा एउटा बैंकको ग्राहकले जुनसुकै बैंकको मर्चेण्टलाई भुक्तानी गर्न सक्नुहुने भयो । जुनसुकै बैंकको ग्राहकलाई पैसा पठाउन पनि मिल्ने भयो । यसैगरी एफवपान सफ्ट गु्रपमा हेल्थ, इस्योरेन्स्, रेमिट्यान्स्, डाटा एनालाइटिक्स्जस्ता अन्य विभिन्न सेवाहरू प्रदान गर्ने कम्पनीहरू आबद्ध छन् ।

नेपालमा क्युआर प्रविधीमार्फत् भुक्तानी सेवा दिने सेवाप्रदायक कोको छन् ?

नेपालमा क्युआर प्रविधी हामीले नै सुरु गरेको हो । हामीले फोनपे २०१२ मै ल्याएको हो । त्यसबेला देखि नै हामी क्युआर बनाउँथ्यौं । तर तपाइँले बाहिर कतै पनि त्यो देख्नुहुन्न थ्यो । त्यसबेला नेपालमा यो प्रविधि असफल नै भएको थियो । किन भने, त्यतिबेला इण्टरनेटको पहूँच थिएन । एसएमएसबाट पैसा पठाउनु पथ्र्यो ।

त्यही कारण त्यसबेला यो प्रविधी बढ्न सकेन । पछिपछि इण्टरनेट सस्तो हुँदै गयो । इण्टरनेटमा पहूँच पनि बढ्यो । स्मार्टफोनको प्रयोग पनि ह्वात्तै बढ्यो । त्यसले गर्दा अहिले अहिले डिजिटल भुक्तानीलाई प्रबद्र्धन गर्ने उपयुक्त समय जुरेको हो । यसैमाथि महामारीले पनि सहयोग गर्यो ।

साँच्चै भन्दा भारतमा पेटीएम, फोनपे नै भन्ने पनि कम्पनी छ । तिनीहरूभन्दा पनि हामीले अघि नेपालमा फोनपे शुरु गरेका हौं । भारतमा विमौद्रिकीकरणले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न ठूलो सहयोग गरेको हो । त्यसपछि पेटीएमहरूले ब्राण्डिङमा ठूलो लगानी गरे । त्यही मौकामा हामीले पनि २०१८ मा पुनः रिलञ्च र रिब्राण्डिङ गर्यौं ।

यो बेलासम्म एसएमएसमा आधारित फण्ड ट्रान्सफरको प्रविधि पनि बदलिएर इण्टरनेटमा आधारित भइसकेको थियो । त्यसपछि यो प्रविधी हाम्रो शहरी क्षेत्रमा लोकप्रिय हुँदै गयो । अहिले क्यूआर भुक्तानी भनेकै फोनपे भन्ने शन्देश हिन हामी सफल भएका छौँ । यसैले क्यूआर भुक्तानी सेवा प्रदान गर्दे आइरहेका आईएमई पे, सेलपे पनि फोनपे सञ्जालमै जोडिन आएका छन् ।

नेपाल बाहिर पनि यस्तो भुक्तानी सुविधा विस्तार गर्ने योजना कस्तो छ ?

भारत तथा चीनका केही भुक्तानी प्रणालीसँग पनि साझेदारी गर्नेबारे हामीसँग कुरा भइरहेको छ । तपाइँहरूले चाँडै यसको आधिकारीक जानकारी पाउनु हुने छ ।

हाम्रो कानूनले त्यसमा कुनै बाधा त गर्दैन नि ?

कानुनले यसरी बैधानिक भुक्तानी गर्न कुनै अवरोध गर्दैन । अहिले पनि हामीले कार्डबाट त भारतमा पनि भुक्तानी गर्न सक्छौं । भारतीयले नेपालमा भुक्तानी गर्न सक्छन् । त्यसैलाई क्युआर बाट गर्न मिल्ने बनाउन गर्न खोजिएको हो । यसमा कारोबारको सीमाका विषयहरू भने अवस्य हुन्छन् ।

नेपालमा कारोबार सीमा कम भयो भन्ने छ नि ?

कारोबार सिमाका विषयमा धेरै कुरा छन् । जस्तो नेपालमा अहिले पनि तपाइँले स्कुल, कलेजको शुल्कदेखि विजुली पानीको महशुलसम्म तिर्नलाई कुनै सीमाले रोक्दैन । किनकी यसको भुक्तानीको लागी ठूलो परिणम आवश्यक पर्दैन । तर एउटा खाताको पैसा अर्को खातामा पठाउँदा मोबाइलबाट भुक्तानी गर्ने हकमा पनि २ लाख रुपैयाँसम्म एक दिनमा भुक्तानी गर्न सकिन्छ ।

इण्टरनेट बैंकिङबाट गर्दा त दिनको २० लाखसम्म नै भुक्तानी गर्न सकिन्छ । यो खुद्रा कारोबार गर्ने ग्राहकका लागि हो । व्यवसायिक ग्राहक (कर्पोरेट)का लागि अलग्गै सीमा छ । उनीहरूले करोडमै भुक्तानी गर्न सक्छन् । एउटा सामान्य कारोबार गर्नलाई यो ठूलो सीमा हो ।

ग्रामीण क्षेत्रमा चाहीँ क्युआर प्रविधिको विस्तार हुन नसक्नुको कारण के हो ?

अहिले पनि शहरी क्षेत्रमा क्युआर प्रविधी लोकप्रिय छ । तर गाउँमा यो पुग्न सकेको छैन । यसको एउटामात्रै कारण भनेको वित्तीय शिक्षाको कमी नै हो । यो प्रविधि चलाउँदा मर्चेण्ट र ग्राहक दुबैलाई चलाउने तरिकाहरू सिकाउनु पर्ने हुन्छ । पछिल्लो समय महामारीका कारण हामीले पनि ग्रामीण क्षेत्रमा गएर त्यसखाले वित्तीय शिक्षा दिन सकेका छैनौं । बैंकहरूले पनि ग्राहकलाई सिकाउन सकेका छैनन् । महामारीको असर कम भएपछि यसमा अवस्य पनि सुधार आउला ।

अहिले क्युआर भुक्तानीको आकार कत्रो छ ?

अहिले दिनको ४०–५० हजार पटक कारोबार हुन्छ । यसमा दैनिक २० करोड रुपैयाँ हाराहारीमा कारोबार हुन्छ । भर्खरै हामीले एकै दिन १ अर्बको कारोबार भएको उत्सव पनि मनायौं । जसमा क्यूआर भुक्तानी तथा अन्तर बैंक फण्ड ट्रान्स्फर पनि पर्छ । गत आर्थिक वर्ष नेपालमा ३० खर्बको डिजिटल कारोबार भएको थियो । यो कारोबार भनेको नेपालमा भएको सबै डिजिटल कारोबारको हो ।

तर अनौठो कुरा चाहीँ, दोस्रो चरणको बन्दाबन्दी (निषेधाज्ञा) खुकुलो भएपछि डिजिटल कारोबार १२–१३ प्रतिशत घटेको छ । यसले हाम्रो नगदमा कारोबार गर्ने संस्कृति निकै बलियो छ । मान्छेले केही नपर्दासम्म नदगमै कारोबार गर्ने प्रबृत्ती छ । त्यही कारण नेपालमा नगदरहित भन्ने परकै कुरा हो । तर नगदको कारोबार घटाउनचाहीँ सकिन्छ । फिनल्याण्ड र स्वेडेनले २०२३ सम्म नगदरहित अर्थतन्त्र बनाउने भनेका छन् । हामी त्यो स्तरमामा अघि बढ्न सकेका छैनौ ।

फोनपेले क्युआर प्रविधीका अरु प्रतिस्पर्धी कम्पनीलाई पछि पार्नुको कारण के हो ?

भारतमा विमौद्रिकीकरणपछि त्यहाँ डिजिटल कारोबार ह्वात्तै बढ्न थाल्यो । नेपाल पनि भारतीय बजारबाट प्रभावित नभइरहन सक्दैन । त्यसपछि हामीले अब नेपालमा पनि बेला भयो भनेर २०१८ मा फोनपेको रिलञ्च गर्यौं । त्यसताका हामीले मार्केटिङ र ब्राण्डिङमा ठूलो खर्च र मिहेनत पनि गर्यौं । त्यसले क्युआर भुक्तानी भनेको नै फोनपे हो भन्ने सन्देश गयो ।

इसेवा सुरु गर्दा पनि नेपालमा वालेट चलाउन सकिन्छ भन्ने सोचको विकास भइसकेको थिएन । त्यसरी नै हामीले क्युआरमा पनि निकै अघिदेखि अग्रसरता लियौं । नयाँ कम्पनीले यस्ता प्रविधि सुरु गर्नेबारे सोच्दासम्म हामी धेरै मर्चेण्टमा पुगिसकेका थियौं । अहिले यही कुरा स्वीकार गरेर नै अन्य सेवा प्रदायकहरू समेत फोनपेकै नेटवर्कमा आईरहेका छन् ।

मर्चेण्टले पनि ३–४ वटा क्युआर राख्न झण्झटिलो हुने भयो । जुन बढी चल्छ, त्योमात्रै राख्ने हुन्छ । प्रयोगकर्ताको यस्तो मनोदशाले पनि अरु बैंक र सेवाप्रदायकलाई फोनपेमा आउन मार्गनिर्देश गरेको छ । हामीले अहिले पनि फोनपेमा लगानी नै गरिरहेका छौं । हामी अझै कम्तिमा एक वर्ष फोनपेमा कुनै शुल्क लिँदैनौं । हामी पहिले बजारलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छौं । यसमा मानिसहरू एकपटक अभ्यस्त भएपछि भविष्यमा हामीले शुल्क लियौं भने पनि डिजिटल कारोबारको भ्याल्यूले जित्ने अवस्था आउनुपर्छ ।

तपाइँहरूले मोबाइल बैंकिङमा सबै बैंकलाई समेट्नुभएको छ ?

अहिले नेपालका ९८ प्रतिशत बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ सेवा हामीले नै प्रदान गर्दै आएका छौं ।

भविष्यमा क्युआर प्रविधि कसरी अघि बढ्छ ?

यसमा दुई तीनवटा कुराले भर गर्छ । पहिलो, वित्तीय शिक्षा र जागरण हो । दोस्रो प्रविधी । तेस्रो अरु पुवार्वाधार, जस्तै इण्टरनेटको उपलब्धता । त्यसबाहेक प्रबद्र्धनात्मक योजनाहरू पनि महत्वपूर्ण हुन्छन् । हामीले अहिले पनि हरेक दिन एउटा मर्चेण्टलाई भाग्यचिठ्ठाका आधारमा १ लाख रुपैयाँ पुरस्कार दिइरहेका छौं ।

‘आम्मामामा’ क्यूआरमा …भन्ने अफर छ हाम्रो । त्यसबाट हामीले क्युआर भुक्तानी कारोबारलाई प्रबर्ध्दन गरिरहेका छौं । यसले मर्चेण्टहरूलाई क्युआरबाट भुक्तानी लिन प्रोत्साहन गरेको छ। यसअघि हामीले फोनपे डिरेक्टमार्फत् अन्तरबैंक रकमान्तर गर्ने ग्राहकमध्ये एक जनालाई बम्परमा कार दिने योजना ल्याएका थियौं । यस्ता योजना (क्याम्पेन)हरू हामी गर्दै जान्छौं । राष्ट्र बैंकले पनि अहिले आएर हामीलाई निकै सहयोग गरिरहेको छ ।

क्युआर भुक्तानी सुविधा लिएका सबै विक्रेताले त्यसको समुचित उपयोग गर्न सकेका छन् त ?

अहिले ५ लाख मर्चेन्टले फोनपेको क्युआर सुविधा लिएका छन् । काठमाडौंमा त प्राये पसलमा क्युआर भेट्टाउनु हुन्छ । तर महिनामा ३ पटकसम्म क्युआर भुक्तानी स्वीकार गर्ने विक्रेताको संख्या १ लाख २० हजारजति छ ।

फोनपेले कुनै शुल्क नलिने भएकाले बैंकहरूले आफ्ना विक्रेता ग्राहकलाई क्युआरको प्रयोग बढाउनेबारे नबोलेको त हैन ?

फोनपेको एउटा व्यवस्था के छ भने, कुनै एउटा विक्रेताले एउटा बैंकसँगमात्रै फोनपेको नेटवर्कमा रहेर कारोबार गर्न सक्छ । अहिले तपाइँ एउटा ठुलो सुपरमार्केट जानुभयो भने त्यहाँ थुप्रै बैंकको पस मेसिनहरू देख्नुहुन्छ । त्यो भनेको एउटै विक्रेतालाई धेरै बैंकले ग्राहक बनाएको हो । तर फोनपेमा त्यस्तो हुँदैन । एउटा विक्रेताले कुनै एउटा बैंकको ग्राहकको रुपमामात्रै फोनपे प्रयोग गर्न पाउँछ । त्यसकारण फोनपेमा सम्बन्धीत बैंकलाई पनि त्यो ग्राहक निकै महत्वपूर्ण हुन्छ ।

किनकी, ऊ अरु कुनै बैंकसँग रहँदैन । यसकारण बैंकलाई पनि जति धेरै मर्चेण्ट बनाउन सक्यो, त्यति नै बढी लाभ हुन्छ । मेरो विचारमा बैंकहरूले जानेरै वा सोचविचार गरेर मर्चेण्ट बढाउन प्रयत्न नगरेको होइन । उहाँहरूलाई यो कोभीड महामारीले निकै समस्या पारेको छ । हामीसँग कुरा गर्न आउने बैंकरहरूले पनि मर्चेण्ट कसरी बढाउने भन्ने बारेमा छलफल गरिरहनु भएको हुन्छ । उहाँहरूकै कतिपय आईडियामा हामीले क्याम्पियन पनि गर्छौं ।

फोनपेलाई निःशुल्क गर्दा कम्पनीले वार्षिक कति रकम बराबरको आम्दानी गुमाउनु परेको छ भन्ने कुनै आँकडा छ ?

हामीले सुरुसुरुमा क्युआर प्रिण्ट गर्ने काम आफैं गथ्र्यौं । त्यो कागज राख्ने ‘स्ट्याण्ड’ पनि किन्नुपथ्र्यो । तर क्युआर भुक्तानी बढ्दै गएपछि अहिले त्यो प्रिण्ट गर्ने काम बैंकहरूले नै गर्छन् । बैंकहरू उत्साहित पनि भएका छन् । डिजिटल कारोबारका लागि बैंक र हामी मिलेर डिजिटल कारोबरालाई प्रोत्साहन गर्न अगाडी बढिरहेका छौँ ।

अरू कुनै वित्तीय सेवा पनि दिँदै हुनुहुन्छ की ?

हामीले फोनलोन भन्ने योजना ल्याएका छौं । अहिले यो योजनामा ५ वटा बैंक सहभागि छन् । यो आफ्नो मोबाईल फोनबाटै डिजिटल माध्धमबाट तुरुन्तै २ लाख सम्मको लोन लिन सकिने एउटा डिजिटल प्रविधि हो । यसमा तपाइँको खातामै पैसा आउँछ । यसमा बैंक अनुसार ब्याजदर तय गरिएको हुन्छ ।

यसमा डेटा एनालिटिक्सको इञ्जिन हुन्छ । त्यो इञ्जिनलाई हामीले बैंकको डेटा सीस्टममा जोडिदिन्छौं । बैंकका सबै ग्राहक यस्तो ऋण लिन सक्षम हुँदैनन् । त्यसकारण त्यो इञ्जिनले तपाइँको खाताको कारोबार लगत (ट्रान्जेक्सन हिस्ट्री), अरु ऋण छ की छैन भन्ने विवरणलगायत हेर्छ ।

तपाइँको खातामा मासिक ५० हजार आइरहेको छ भने त्यसमध्ये कति पैसा बाहिर गइरहेको छ ? यी कुराहरू विश्लेषण गर्छ । मूल कुरा तपाइँ त्यो ऋण लिन योग्य हुनुहुन्छ की हुनुहुन्न र ऋण लिइसकेपछि तिर्न सक्नुहुन्छ की सक्नुहुन्न भन्ने कुरा एनालिटिक्स्बाट विश्लेषण गरिन्छ । त्यसपछि मात्रै ऋण दिइन्छ । अहिले नबील, कुमारी, लक्ष्मी, मेगा र सिटिजन्स बैंकले यस्तो सुविधा दिइरहेका छन् । यसबाट २ लाख रुपैयाँसम्म तुरुन्तै ऋण लिन सकिन्छ ।

यो सुविधा मोबाइल बैंीकङबाटै लिने भए पनि मोबाइल बैंकिङसँग सम्बद्ध होइन । यदी कुनै बैंकमा तपाइँको खातामा नियमित रुपमा पैसा आइरहेको छ भने यस्तो ऋण लिन सक्नुहुन्छ । कुनै बैंकले ६ महिना, कुनैले एक वर्षदेखि तलब आएको विवरण माग्छन् । तर अहिलेलाई तलव खाता नै खोलेर त्यो खातामा पैसा जम्मा भइरहेको हुनुपर्छ ।

अहिलेका लागि बैंकहरूले तलव खाताका लागिमात्रै यो सुविधा दिएका छन् । अब मुद्दति खाताका लागि पनि यस्तो सुविधा दिने कुरा भइरहेको छ । कतिपयको घरभाडा पनि नियमित रुपमा आईरहेको हुनसक्छ । अरु खाले आम्दानी पनि नियमित रुपमै आएको हुनसक्छ ।

किन तलवलाई मात्रै दिने त? नियमित आम्दानी गर्ने सबैलाई दिन सकिन्छ भनेर अब चाहीँ बैंकहरूले स्कोप (क्षेत्र) बढाउँदै छन् । यो सुविधा हामीले गतसालमात्रै सुरु गरेका हौं । यो पनि नेपालको पहिलो ‘डिजिटल लेण्डिङ प्रडक्ट’ हो । त्योभन्दा पहिला छँदै थिएन । फोनबाटै तु का तु केही सेकेण्डभित्रै ऋण पाउने यो प्रविधी गत वर्ष सुरु गरिएको थियो ।

बजारमा प्रतिस्पर्धा दिनदिनै बढेको छ । ग्राहक संख्या बढ्न थालेपछि विस्तारै बैंकहरूले आफैं यस्ता डिजिटल भुक्तानी सेवा सुरु गर्न सक्ने संभावना पनि रहन्छ । त्यस्तो चूनौतिलाई कसरी व्यवस्थापन गर्ने भन्ने केही योजना बनाउनु भएको छ ?

प्रविधिको बजारमा प्रतिस्पर्धा बढ्नु स्वभाविक नै हो । अहिले पनि केही कम्पनीले क्युआर भुक्तानी सुविधा दिन थालिसकेका छन् । वालेटहरू पनि आएको आयै छन् । त्यस्तोमा हामी कसरी अगाडी बढिरहने भन्ने कुरा हो । हामीले कम्पनीमात्र होइन प्रविधिलाई पनि स्तरोन्नती गर्दै लगेका छौं । बजार पनि त्यसरी नै बढेको छ ।

सन् २०१३ मा म एफवानसफ्टमा आबद्ध हुँदा ७ लाख मान्छेले मोबाइल बैंकिङ चलाउँथे । अहिले डेढ करोड पुगिसकेको छ । हामीले प्रविधीलाई पनि त्यसरी नै परिस्कृत र उन्नत गर्दै लानुपर्ने हुन्छ । बैंकलाई दिएको प्रणालीलाई पनि त्यसरी नै बढ्दो ग्राहकको चाप थेग्नसक्ने बनाउँदै लगेका छौं । प्रविधि बनाउँदा नै स्केलअप कति गर्न सक्छ भनेर हेरिन्छ ।

अर्को चाहीँ विविधिकरण हो । एफवानसफ्टमात्रै भएर इसेवा वा फोनपे अलग कम्पनी नबनाएको भए यो स्तरको बृद्धि सम्भव हुँदैन थियो होला । एउटै कम्पनीमा रहँदा के कुरालाई प्राथमिकता दिने भन्ने अन्योल हुनसक्थ्यो ।

नेपालमा ईकमर्श प्लेटफर्महरूले जाविस्वास जित्न सकेका छैनन् । खासगरी सामानको गुणस्तर, मूल्य र फिर्ता गर्ने असुविधाका कारण यो फस्टाउन सकेको छैन । त्यसले डिजिटल भुक्तानीलाई कत्तिको असर पारेको छ ?

ईकमर्शको कारोबार अहिmले पनि काठमाडौंमै केन्द्रित छ । अनलाइनबाट लुगाफाटो किन्ने, अनलाइनबाटै खाना मगाउने भन्ने कुरा उपत्यका बाहिर खासै विकास हुन सकेको छैन । त्यसमा पनि ईकमर्शबाट सामान किन्नेले समेत नगदमै भुक्तानी गर्ने बढी प्रचलन छ ।

पहिला सामान ल्याउ, सामान हेर्छु, अनि किन्छु भन्ने मान्यता धेरैमा छ । भारतमा क्यास अन डेलिभरी भएपछि मात्र ईकमर्शले रफ्तार समात्न सकेको हो । यहि क्यास अन डेलिभरीको नगदरहित कारोबार क्यूआर गतिलो विकल्प बनेको छ ।


प्रतिक्रिया दिनुहोस्