टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने सरकारको तयारी, नियामकले गर्यो यी ५५ कम्पनीको सूची सार्वजनिक
काठमाडौं । सरकार र नियामक निकायको निर्देशनको बेवास्ता गरेर भिडियो शेयरिङ एप टिकटक बन्द नगर्ने सेवा प्रदायकहरुको लाइसेन्स खारेज हुने भएको छ । आज बुधबारसम्म टिकटक बन्द गरेर त्यसको औपचारिक जानकारी नेपाल दूरसञ्चार प्राधिकरणमा नदिएमा कम्पनीहरुको लाइसेन्स खारेज हुने भएको हो ।
प्राधिकरणको सूचना हेर्न यहाँ क्लि गर्नुहोस् ।
प्राधिकरणले मंगलबार सूचना प्रकाशित गरी २४ घण्टाभित्र प्राधिकरणको निर्देशन पालना भएको पत्र प्राप्त नभए लाइसेन्स खारेज गर्ने भनेको छ । सरकारले २७ कात्तिकमा ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो । त्यस लगत्तै प्राधिकरणले सरकारी निर्णयको कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
कात्तिक २८ र मंसिर २ मा छुट्टाछुट्टै सार्वजनिक सूचना गरेर पनि टिकटक प्रयोगमा रोक लगाउन प्राधिकरणले आग्रह गरेको थियो । तर ५५ वटा इमेल–इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले टिकटक बन्द भएनभएको जानकारी नै नगराएको भन्दै ती कम्पनीको लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढाएको हो ।
नेपालमा हाल १२७ वटा कम्पनीसँग इमेल तथा इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्स छ । यसमध्ये झण्डै आधा संख्यामा कम्पनीहरुमाथि नियामकले कारबाही प्रक्रिया अघि बढाएको हो । कारबाहीको सूचीमा काठमाडौं उपत्यकाभित्र र बाहिरका पनि अधिकतर कम्पनीहरुको नाम समेटिएको छ ।
प्राधिकरणले मंगलबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै टिकटकको पहूँचमा रोक लगाउन आफूहरुले हालसम्म गरेका प्रयासको फेहरिस्त समेत प्रकाशित गरेको छ । तीन पृष्ठमा १५ बूँदा समेटेर यस्तो विज्ञप्ति जारी भएको छ ।
यस्तो छ प्राधिकरणको विज्ञप्ति ।
यसले नियामक प्राधिकरण टिकटक बन्द गराउने प्रक्रियामा कति प्रयासरत देखिएको छ भन्नेमात्रै देखाएको छैन, नियामकमाथि सरकार र अन्य सरोकारवालाको कति ठूलो दबाब छ भन्नेतर्फ पनि संकेत गरेको छ ।
प्राधिकरणले २४ घण्टे सूचना गरी लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाएका कम्पनीहरुको सूची: