एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट प्रबद्र्धक आजियाटा बाहिरिने भएको छ । मलेसियामा मुख्यालय रहेको आजियाट समूहले क्वालालम्पुरबाट एक विज्ञप्ती जारी गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो ।
उसले भनेको छ, ‘नेपालको परिदृष्य लगातार चुनौतीपूर्ण बन्दै गएको छ, त्यसै कारण सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको छ ।’ यसका साथै एनसेलमा भएको आफ्नो सेयर विक्रीका लागि राखिएको र यहाँको सम्पत्तीलाई पुनःवर्गीकरण गर्न लागिएको कम्पनीले आजियाटा समूहले जनाएको छ ।
एनसेलमा आजियाटा समूहको ८० प्रतिशत स्वामित्व छ । स्वीडिस कम्पनी टेलिया सोनेरासँग ७ वर्षअघि आजियाटाले एनसेलको स्वामित्व महँगो मूल्यमा किनेको थियो । नेपाल छिर्ने बित्तिकै लामो समयसम्म पूँजीगत लाभकरको बिवादमा फसेपछि एनसेल अहिले निरन्तर नाफा गुमाउने अवस्थामा गएको छ ।
आजियाटा समूहका ग्रुप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले नेपालबाट बाहिर निस्कँदा कम्पनीलाई अधिक मजबूत स्थितिमा पुर्याउने बताएका छन् । आफ्ना शेयरधनिको दीर्घकालिन हितका लागि एनसेलमा रहेको स्वामित्व बेच्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।

‘आजियाटा परिवर्तनको यात्रामा छ,’ सीईओ सूदले भनेका छन्, ‘हामी आफ्नो लगानीलाई अधिक लाभ हासिल हुने गरी परिचालन गर्न प्रतिबद्ध छौं ।’ उनले नेपालभन्दा बढी लाभ हुने बजारमा लगानी स्थानान्तरण गर्न खोजेको सन्देश विज्ञप्तिमार्फत् दिएका छन् ।
आजियाटा समूहका अध्यक्ष शाह्रिल रिज्दा रिद्जुआनले पनि आफ्नो लगानी पोर्टफोलियोलाई परिस्कृत गर्न र समूहको दीर्घकालिन सफलताका निम्ति ‘सही रणनीतिक साझेदारी विकास गर्न’ पुरा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । नेपालमा २० प्रतिशतको साझेदारी बोकेर बसेको सुनिभेरा क्यापिटल भेञ्चरको भूमिकाप्रति सन्देह भइरहेका बेला उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
आजियाटाको पुरा विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो समय नेपालमा एनसेलको ब्यापार खुम्चिरहेको तथ्यांक सार्वजनिक भएको छ । एनासेलप्रति पूँजीगत लाभ कर छलेको आरोप र राष्ट्रबादी आन्दोलनले सामाजिक बहिस्करणको अवस्था सिर्जना हुँदै गएको विश्लेषण दूरसञ्चार क्षेत्रमा हुन थालेको थियो ।
यसको असर कम्पनीको नाफामा पनि देखिन थालेको थियो । पछिल्लो पाँच वर्षमा एनसेलको नाफा करीब आधा घटिसकेको छ । सन् २०१८ मा ६० अर्ब सञ्चालन आम्दानी गरेको एनसेलले गत आर्थिक वर्ष जम्मा ३७ अर्ब ४४ करोडको ब्यापार गरेको छ ।
यो पनि पढ्नुहोस्ः