पाँच वर्षमा झण्डै आधा घट्यो एनसेलको ब्यापार, आम्दानी खुम्चिएपछि नेपालीलाई महँगोमा सेयर बेचेर उम्किने दाउ « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

पाँच वर्षमा झण्डै आधा घट्यो एनसेलको ब्यापार, आम्दानी खुम्चिएपछि नेपालीलाई महँगोमा सेयर बेचेर उम्किने दाउ



काठमाडौं । एनसेल त्यस्तो कम्पनी हो, जसले लाभांश लैजाँदा नेपालसँग भएको विदेशी मुद्राको ढुकुटी नै धरमराउँछ । थोरै पूँजी ल्याएर दूरसञ्चारको ब्यापार गरिरहेको एनसेलले ठूलो मात्रामा नेपालबाट डलर लगिरहेको छ । सन् २०१६ मा मलेसियाको कम्पनी आजियाटाले खरीद गरेपछि लगातार उकालो लागिरहेको एनसेलको ब्यापार हालका वर्षमा भने खुम्चिएको छ ।

त्यसमाथि एलसेलकोे लाइसेन्स अवधि पनि विसं. २०८६ पछि सकिँदै छ । उसलाई अवको बाँकी ६ वर्षमा धेरै नाफा कमाउनु छ । हुन पनि एनसेलको कमाइ चानचुने छैन । पछिल्ला ३ वर्षमा एनसेल आजियाटा लिमिटेडले औसत ९४ प्रतिशतका दरले लाभांश बाँडेको छ । यसमध्ये सबैभन्दा कम लाभांश गत साल बाँडिएको थियो, त्यो पनि ९० प्रतिशत हो ।

नेपालमा अक्सर स्वदेशी बाणिज्य बैंकहरुले बढी नाफा आर्जन गरेको भनेर आम रुपमा आलोचना हुने गरेको छ । बैंकहरुले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्ने र त्यससम्बन्धी समाचारहरु खुबै प्रचार हुने भएकाले बैंकहरु तारोमा परेका हुन् । तर सेवा क्षेत्रको ब्यापारमा कति नाफा छ भन्ने धेरैको चासो नै पुग्दैन । यस्तै अत्यधिक नाफा कमाउने कम्पनीमध्ये एक हो, एनसेल । यसलाई सामान्य तुलना गरेर हेर्न सकिन्छ ।

पाँच वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७४/७५ मा नेपालका सबै बाणिज्य बैंकहरुले कुल सञ्चालन आम्दानी १ खर्ब २९ अर्ब कमाएका थिए । तर हजारौं कर्मचारी, थुप्रै शाखा कार्यालय र जोखिम बहन गर्नुपर्ने कारणले बाणिज्य बैंकहरुको कुल वितरण योग्य नाफा ४९ अर्ब ९५ करोड हाराहारीमात्रै रह्यो । त्यही साल दूरसञ्चार कम्पनी एनसेल एक्लैले करीब ६० अर्ब सञ्चालन आम्दानी गरेको थियो । एनसेलको सञ्चालन खर्च असाध्यै कम छ ।

ज्यादै थोरै कर्मचारी र टावर सञ्चालनबाहेक जनशक्तिमा खर्च नहुने अवस्था छ । अन्य प्रशासनिक एवम् प्रविधीमा हुने खर्च पनि कमै भएका कारण एनसेलले त्यो साल ४५ अर्ब हाराहारी नाफा नै कमाएको थियो । यो भनेको देशका २८ वटा बाणिज्य बैंकको कुल वितरण योग्य मुनाफाको झण्डै बराबर रकम हो ।

यति धेरै नाफा कमाएपछि एनसेललाई पब्लिक कम्पनी बनाउनु पर्ने र त्यसमा नेपाली सर्वसाधारणको सेयर हुनुपर्ने माग उठ्यो । अहिले एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा समूहसँग छ । बाँकी २० प्रतिशतमात्रै सुनिभर क्यापिटल भेञ्चरको स्वामित्वमा छ । यो कम्पनी नेपालीको स्वामित्वमा भए पनि कम्पनीको स्वामित्व श्रृङ्खला अलि अचम्मको छ । ट्याक्स हेभन राष्ट्रहरुमा कम्पनी खोल्ने, त्यो कम्पनीको स्वामित्वमा नेपालमा अर्को कम्पनी खोलेर त्यसबाट लगानी गर्ने प्रबृत्ती देखिएको छ ।

आजियाटाले सन् २०१७ मा बहुमत स्वामित्व हासिल गरेयता कम्पनीको नाफामा कमी आएको देखिएको छ ।

नाफा घट्न थालेपछि कम्पनीलाई सन् २०२० मा पब्लिक लिमिटेडमा बदलिएको छ । त्यसयता महँगो मूल्यमा प्राथमिक सेयर जारी गरेर आफूहरुको भाग साझ्उने दाउमा एनसेल लागेको छ । यसअघि बुक बिल्डिङ विधिबाट निकै महँगो भाउमा सेयर बेच्न भनेर एसेल सहित उत्पादन र सेवा क्षेत्रका थुप्रै कम्पनीहरुले पब्लिक लिमिटेडमा रुपान्तरण गरेका थिए ।

तर २०७८ असोजमा नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्यो । बुक बिल्डिङ विधिको कार्यान्वयन गर्ने सन्दर्भमा अबैध कारोबार गरेको आरोपमा उनी नियामक अड्डाबाट बाहिरिएपछि बुक बिल्डङ पनि हरायो, एनसेलको आईपीओ पनि हरायो ।

ढुंगानाले बुक बिल्डिङ विधिमार्फत् महँगो मूल्यमा सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेण्टको करीब १२ हजार कित्ता सेयर आफ्नो छोरीको नाममा नामसारी गराएको पाइएको थियो । यसरी आफूले ठूलो सेयर प्राप्त गरेर कम्पनीलाई अत्यधिक महँगो मूल्य लिन अनुमति दिने प्रपञ्च रचेको पाइएपछि ढुंगानाको जागिर गयो । यसले लाखौं नेपाली लगानीकर्ता ठगिनबाट जोगिए ।

तर बुक बिल्डिङको कार्यान्वयनमा समस्या देखिएपछि एनसेल अहिले चुप बसेको छ । अझै ६ वर्ष लाइसेन्स अवधि भएका कारण एनसेलले केही समयपछि सर्वसाधारणलाई सेयर बेच्न सक्ने संभावना बाँकी नै छ । कम्पनी सम्बद्ध स्रोतका अनुसार आईपीओ जारी गर्दा एनसेललाई दुई तिरबाट फाइदा हुन्छ ।

पहिलो त, आफ्नो भागको केही सेयर महँगो मूल्यमा नेपाली नागरिकलाई बेच्न पाएपछि एनसेलका मालिकहरुले ठूलो मात्रामा पैसा प्राप्त गर्न सक्छन् । हरेक वर्ष अर्को एलसेल कम्पनी खोल्न पुग्ने गरी लाभांश लिइरहेका लगानीकर्तालाई यसले थप लाभ पुग्ने छ । अर्कातिर स्वदेशी सर्वसाधारण नागरिकको स्वामित्व स्थापित गर्न सके घरेलु दबाबमा परेर सरकारले उसको लाइसेन्स अबधि बढाइदिन्छ भन्ने पनि एनसेलको भित्रि रणनीति रहेको जानकार बताउँछन् ।

‘सकेसम्म जनदवाव बढाएर लाइसेन्सको अवधि बढाउने, नसके आफ्नो स्वामित्वको निश्चित हिस्सा नेपालीलाई बेचेर उम्किने दाउ हेरेको देखिन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्