नेपालमा उपलब्ध भयो ‘स्प्रिङबेस एआई’ « Arthapath.com
२ असार २०८३, मंगलबार

नेपालमा उपलब्ध भयो ‘स्प्रिङबेस एआई’



काठमाडौँ । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कडटले आफ्नो पूर्ण कृत्रिम बौद्धिकता (एआई) अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । विश्वभरका व्यवसायिक संस्था र पेशागत प्रयोगकर्ताले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपालका व्यवसाय, संस्था तथा नयाँ पुस्ताका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्प्रिङबेस एआई अवधारणादेखि कार्यान्वयन र लक्ष्यदेखि नतिजासम्मको प्रक्रिया सहज बनाउने उद्देश्यले विकास गरिएको हो । यसले कम्पनीका ज्ञान, बैठकका टिपोट तथा आन्तरिक जानकारीलाई प्रतिवेदन, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड तथा पुनःप्रयोग गर्न मिल्ने कार्यप्रवाहमा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ ।

स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले व्यवसायहरूले विभिन्न एआई उपकरणबीच समन्वयको चुनौती भोगिरहेको बताए । उनले सन्दर्भ बुझ्ने, योजना बनाउने र टोलीले प्रयोग गर्न सक्ने नतिजा दिने एकीकृत प्रणालीको आवश्यकता महसुस भएपछि स्प्रिङबेस एआई विकास गरिएको उल्लेख गरे ।

त्यस्तै, सह–संस्थापक आकाश जाटियाले नेपालमा एआईको सम्भावना र यथार्थबीचको दूरी घटाउने उद्देश्यसहित प्लेटफर्म ल्याइएको बताए ।

यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो लक्ष्य प्रविष्ट गरेपछि सम्पादनयोग्य योजना समीक्षा गर्न सक्ने तथा आफ्नै तथ्याङ्क र व्यावसायिक सन्दर्भका आधारमा नतिजा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ । तयार भएका नतिजालाई सम्पादन, साझेदारी, निर्यात वा पुनःप्रयोग गर्न ‘रेसिपी’ का रूपमा सुरक्षित गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।

नेपालमा माइन्ड स्न्याक प्रालिलाई इनोभेन्चर्स एआई इन्कडटको आधिकारिक कन्ट्री पार्टनर नियुक्त गरिएको छ । कम्पनीले स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन तथा कार्यप्रवाह एकीकरणमा सहयोग गर्ने जनाएको छ । स्प्रिङबेस एआई करसहित प्रतिमहिना एक हजार ४९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्