अब अमेरिका जान बाटो खुल्यो, २० महिनापछि आजैबाट हट्दै यात्रा प्रतिबन्ध « Arthapath.com
२२ कार्तिक २०७८, सोमबार

अब अमेरिका जान बाटो खुल्यो, २० महिनापछि आजैबाट हट्दै यात्रा प्रतिबन्ध



काठमाडौं । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्ने भएको छ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए ।

ब्रिटेन र युरोपेली संघका देशहरू सहित ३० भन्दा बढी मुलुक हाल अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन । अमेरिकी पर्यटन क्षेत्रमा ठूलो धक्का त पुगेकै थियो । नयाँ नियमसँगै अमेरिका र प्रमुख विदेशी मुलुकबीच आवागमन बढ्ने आशा विमानसेवा कम्पनीहरुले लिएका छन् ।

आगन्तुकको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अमेरिकी अधिकारीहरूले बताएका छन् । युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ भने डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वारेन्टिन बस्नुपर्ने छैन ।

सात खोपलाई मान्यता

अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ । प्यारिसको एक ट्राभल कम्पनीका प्रमुखले उक्त निर्णयसँगै आश्चर्यजनक बुकिङ देखापरेको रोयटर्स समाचार संस्थालाई बताएका छन् ।

१८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि भने कोरोना खोप लगाउनु जरुरी छैन । तर उनीहरुका लागि पनि यात्रा गर्न कोभीड परीक्षण भने गर्नु पर्ने छ ।

कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिनेछ ।
बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस्