नेपाली पर्यटन बजार: विदेशी पर्यटक आगमनमा बाक्लिदै गएको हो ? « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

नेपाली पर्यटन बजार: विदेशी पर्यटक आगमनमा बाक्लिदै गएको हो ?



काठमाडौं । सन् २०२३ को ७ महिनामा ५ लाखभन्दा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको जुलाई सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

बोर्डका अनुसार सात महिना (जनवरी–जुलाई) सम्ममा कुल ५ लाख ३४ हजार २०७ जना विदेशी पर्यटकले नेपाल भम्रण गरेका छन् । नेपालमा पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको तथ्याङ्कले पुष्टि हुन्छ । विदेशी पर्यटकको आगमान निकै उत्साहजनक देखिएको छ ।

मासिक रुपमा पछिल्लो समय पर्यटकको संख्या घट्न थालेको छ । बोर्डका अनुसार औसतमा मासिक ७६ हजार ३१५ जना विदेशी पर्यटक नेपाल आउने गरेका छन् । जुलाईमा ५७ हजार ७ं२६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तर, यो अघिल्लो महिना अर्थात जुनको तुलनामा साढे १४ हजार हारहारीमा घटेका छन् । अहिले सिजन नभएकाले पनि विदेशी पर्यटन आगमन घटेको बोर्डले बोर्डका एक अधिकारीले बताए । उनले भने,–‘अहिले सिजन छैन । नेपालमा बढी विदेशी पर्यटक आउने सिजन भनेको अक्टोबरदेखि मार्च अप्रिलसम्म हो । त्यसबेला पर्यटन आगमनको संख्या उच्च नै हुन्छ ।’

उनका अनुसार मे महिनापछि तुलनात्मक रुपमा कम विदेशी पर्यटक आउने गरेक छन् । तर, अक्टोबारपछि फेरि बढ्ने उनको भनाई छ । ‘मेपछि भने अल्ली कम पर्यटक आउन थाल्छन् र अक्टोबरबाट फेरी बढ्न थाल्छन् । अहिले सिजन नभएका कारण पर्यटकको संख्या घट्न थालेको बोर्डको भनाइ छ । हरेक बर्षजसो नै यही चक्रमा पर्यटक आउने गर्छन्’–उनले भने ।

बोर्डको तथ्याङ्क अनुसार गत मार्च र अप्रिलमा सबैभन्दा धेरै पर्यटन आएका छन् । मार्चमा ९९ हजार ४२६ जना र अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । अप्रिलपछि भने केही घट्न थालेको देखिएको छ । गत मे महिनामा भने ७७ हजार ७०३, जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएका थिए ।

एक वर्षमा २९.९३ प्रतिशतले बढे नेपाल घुम्न आउने विदेशी पर्यटक

पछिल्लो एक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २९.८३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ को जुलाईमा ४४ हजार ४६२ जना नेपाल घुम्न आएका थिए । तर, सन् २०२३ को सोही अवधिमा भने थप १३ हजार बढीले नेपाल भ्रमण गरेका छन् ।

२०२३ को जुलाई महिनामा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । जुलाईमा भारतबाट २१ हजार ३५७ पर्यटक आएका छन् । गत वर्षको सोही महिनामा भारतबाट १७ हजार २९९ जना पर्यटक नेपाल आएको थिए ।

दोस्रोमा भने चीन रहेको छ । समिक्षा महिनामा चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा भने उल्लेख्य बढेको छ । गत वर्ष २०२२ को जुलाईमा ३९५ जना मात्रै चीनबाट पर्यटक नेपाल आएका थिए । तर, यस वर्षको सोही महिनामा भने ५ हजार ६९३ पर्यटक आएका छन् ।

बोर्डका अनुसार अमेरिकाबाट ५ हजार ५६१, युकेबाट ३ हजार ६३०, अष्ट्रेलियाबाट १ हजार १००, साउथ कोरियाबाट १ हजार ३७५, बंगलादेशबाट २ हजार ६९४ पर्यटक नेपाल घुम्न आएका छन् ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । सन् २०१९ मा कुल ६ लाख ४४ हजार ५७४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । तर, २०२० भने ह्वात्तै घटेको थियो । झन् २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष ६१ हजार ४९ जनाले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसपछि भने विस्तारै बढ्न थालेका छन् ।

कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्