पर्यटक आगमन वृद्धिले फस्टाउँदै होटेल व्यवसाय: नाफामा चामत्कारिक सुधार, सवा ६ अर्बको व्यापार « Arthapath.com
४ भाद्र २०८०, सोमबार

पर्यटक आगमन वृद्धिले फस्टाउँदै होटेल व्यवसाय: नाफामा चामत्कारिक सुधार, सवा ६ अर्बको व्यापार



काठमाडौं । पर्यटकको आगमन बाक्लिएसँगै नेपाली होटेलहरूको व्यापार पनि फस्टाउँदै गएको छ ।  पछिल्लो समय विदेशी पर्यटकको चहलपहल वृद्धि हुँदै गएको छ । नेपालमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएपछि नेपालमा सञ्चालित होटेलहरूको व्यापारले पनि गति लिन थालेको हो । 

गत वर्ष नेपालमा सञ्चालित ठुला तारे होटेलहरूको व्यापारमा उल्लेख्य बढोत्तरी देखिएको छ भने खुद नाफामा पनि चामत्कारिक सुधार देखिएको छ । हाल होटेल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी सोल्टी, तारागाँउ रिजेन्सी होटेल, चन्द्रागिरि, कालिन्चोक दर्शन, सिटी होटेल र ओरियण्टल होटेल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन् । 

यी कम्पनीले गत वर्ष १ अर्ब १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका छन् । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा भने कम्पनीहरूले ४५ करोड २ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । 

विशेष गरि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी आएकाले नै नाफामा उछाल देखिएको छ । अघिल्लो वर्षहरूमा पर्यटन व्यवसाय पनि नोक्सानीमा थियो । यसअघि होटेल व्यवसाय कोरोना महामारी, उच्च ब्याजदर लगायतको मार थियो । पर्यटक आगमन नहुँदा होटेल व्यवसाय घाटा चलिरहेका थिए । तर, पछिल्लो समय सहज वातावरण बनेको छ, पर्यटकको आगमन एकदमै बाक्लिन थालेको छ । जसले होटेलहरूको व्यापार फस्टाएको छ । गत वर्ष होटेलहरूले ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँको व्यापार गरेका छन् । जुन अघिल्लो आवको तुलनामा भने यो ७४.४९ प्रतिशतले बढी हो । विभिन्न ब्रान्ड तथा पर्यटकीय स्तर र तहका नयाँ तारे होटेलहरू बजारमा थपिने क्रम जारी नै छ, जसले पर्यटन क्षेत्रमा प्रतिस्पर्धा पनि बढाएको छ ।

सूचीकृत ६ वटा होटेलमध्ये सिटी होटेलको नाफा भने ऋणात्मक छ । गत वर्ष सिटी होटेलले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । तर, कम्पनीको सञ्चालन आम्दानी भने १५०.१२ प्रतिशतले वृद्धि भई ४७ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा भने चन्द्रागिरि हिल्सले बढाएको छ । अघिल्लो आवमा १६ करोड ८० लाख रुपैयाँ मात्रै नाफा कमाएको कम्पनीले गत वर्ष भने ८.९० गुणाले वृद्धि भएको हो । समीक्षा वर्ष कम्पनीले १५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष चन्द्रागिरि हिल्सले ९१ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ३६.५३ प्रतिशतले बढी हो । 

यस्तै, समीक्षा अवधिमा सोल्टी होटेलले ५४ करोड ५१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ८३.४० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको आम्दानी भने सबैभन्दा धेरै देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब २४ करोड ९१ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६४.२७ प्रतिशतले बढी हो । 

यस्तै, तारा गाउँ रेजेन्सीको खुद नाफा पनि शतप्रतिशत वृद्धि भएको छ  । गत वर्ष होटेलले ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुन नाफा कमाएको छ । तर, अघिल्लो आवमा भने कम्पनीले १९ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्ष होटेलले १ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको व्यापार ९९.७० प्रतिशत बढेको हो । गत वर्ष बाह्य पर्यटक आवागमनमा वृद्धि भई होटेलको व्यावसायिक गतिविधिहरू बढेकाले व्यापारमा बढोत्तरी आएको कम्पनीले जनाएको छ । 

यता, कालिन्चोक दर्शनको व्यापार पनि दोहोरो अङ्कले बढेको छ । गत वर्ष कम्पनीको व्यापार ३३.८२ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीले तीन करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनामा ११४.९९ प्रतिशतले बढी हो ।

त्यसैगरि गत वर्ष २ करोड ४६ लाख रुपैयाँ ऋणात्मक ओरियण्ट होटेलको नाफा पनि उल्लेख वृद्धि भएको छ।  गत वर्ष कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।कम्पनीको व्यापार बढेकाले नै नाफामा सुधार देखिएको हो । गत वर्ष कम्पनीको व्यापार ९१.८५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४० लाख रुपैयाँ पुगेको छ । 

पर्यटकीय गतिविधि बढ्दै, होटेल व्यवसाय थप फस्टाउने आशा

सन् २०२३ को ७ महिनामा ५ लाखभन्दा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको जुलाई सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

बोर्डका अनुसार सात महिना (जनवरी–जुलाई) सम्ममा कुल ५ लाख ३४ हजार २०७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्ष २०२२ जुलाईको तुलनामा २९.८३ प्रतिशतले बढी हो ।

नेपालमा पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको तथ्याङ्कले पुष्टि हुन्छ । विदेशी पर्यटकको आगमन निकै उत्साहजनक देखिएको छ । जुलाईमा मात्रै ५७ हजार ७ं२६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रूपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पर्यटक आगमनले होटेलहरूको गतिविधि पनि बढेको छ, जसले व्यापार र नाफा बढाएको छ । अब आगामी दिनमा अझै बढ्ने व्यवसायीहरू बताउँछन् । नेपाल धेरै विदेशी पर्यटक आउने सिजन भनेको अक्टोबरदेखि मार्च, अप्रिलसम्म हो । त्यस बेला पर्यटक आगमन संख्या उच्च नै हुन्छ । त्यसपछि होटेल व्यवसाय झन् फस्टाउने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्