९ महिनामा झन्डै ७ लाख विदेशी पर्यटक भित्रिए, सेप्टेम्बरमा औसतभन्दा बढी  « Arthapath.com
१४ आश्विन २०८०, आईतवार

९ महिनामा झन्डै ७ लाख विदेशी पर्यटक भित्रिए, सेप्टेम्बरमा औसतभन्दा बढी 



काठमाडौँ । ९ महिनामा झन्डै ७ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना विदेशी पर्यटन नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । नेपालमा पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको तथ्याङ्कले पुष्टि हुन्छ । विदेशी पर्यटकको आगमन निकै उत्साहजनक देखिएको छ ।

नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या औसतमा मासिक ७६ हजार ९३० रहेको छ । सन् २०२३ को सेप्टेम्बरमा पनि औसत भन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महिनामा ९१ हजार १२ हजार पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । जुन यस वर्षको चार महिनायताकै बढी हो । यसअघि मार्चमा ९९ हजार ४२६ जना र अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपालमा पर्यटक आगमनको मुख्य सिजन अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ ।  तर, पर्यटन सिजन सुरु भएकाले नै सेप्टेम्बरमा औसतभन्दा बढी पर्यटकहरू नेपाल घुम्न आएका बोर्डले जनाएको छ । आगामी महिनामा अझै बढ्ने बोर्डका एक अधिकारीले बताए । उनले भने,–‘बल्ल पर्यटन सिजन सुरु भएको छ । नेपालमा बढी विदेशी पर्यटक आउने सिजन भनेको अक्टोबरदेखि मार्च अप्रिलसम्म हो । त्यही बेला नै अझै धेरै पर्यटकहरू नेपाल घुम्न आउने गर्दछन् ।’

सन् २०२३ को ९ महिनामा सबैभन्दा धेरै पर्यटक मार्चमा आएका थिए । उक्त महिनामा ९९ हजार ४२६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि मार्च महिनामा ९८ हजार ७७३ जना आएका थिए । उक्त वर्षको पहिलो महिना अर्थात् जनवरीमा ५५ हजार ७४ हजार विदेशी पर्यटक नेपाल आएका थिए ।

यस्तै, मे महिनामा ७७ हजार ७०३ जना पर्यटक आएका थिए । नेपालमा मे महिनापछि तुलनात्मक रूपमा कम पर्यटक आउने गर्दछन् । बोर्डका अनुसार गत जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र अगस्टमा ६७ हजार १५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

सन् २०२३ को ९ महिनामा नेपाल आएका पर्यटक गत वर्ष २०२२ को भन्दा बढी हो । २०२२ वर्षभर नै ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ  । कोरोना कालमा नेपालसहित विश्वव्यापी रूपमा लगाइएको लकडाउन र अन्तरदेशीय आवतजावतमा गरिएको कडाइले पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । 

२०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । तर, २०२० भने ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो ।

झन् २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष १ लाख ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भने बिस्तारै बढ्न थालेका छन् । पर्यटन आगमन बढेसँगै व्यवसायमा पनि थप उत्साह थपिदिएको व्यवसायीहरू बताउँछन् । पर्यटकको आगमन बाक्लिएसँगै नेपाली होटेलहरूको व्यापार पनि फस्टाउँदै गएको देखिन्छ । 

सबैभन्दा धेरै पर्यटक भारतबाट, चिनिया पर्यटकको सङ्ख्या पनि बढ्दै 

सेप्टेम्बरको तथ्याङ्क अनुसार सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । उक्त महिनामा भारतबाट २८ हजार ६ सय ९४ जना पर्यटक आएका हुन् । 

दोस्रो नम्बरमा रहेको चीनबाट पनि एक महिनामै ८ हजार १ सय १७ जना पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल घुम्न आउने चिनिया पर्यटकको सङ्ख्या पनि निकै उत्साहजनक  रूपमा बढी रहेको छ । कोरोनाका कारण चीनले लामो अवधिसम्म आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो । तर, फेब्रुअरीबाट भने खुकुलो बनाएको थियो । त्यसपछि नै नेपाल आउने चिनिया पर्यटनको सङ्ख्या थप बढी रहेको छ । 

समीक्षा महिनामा अमेरिकाबाट ७ हजार ३ सय ६४ जना, बङ्गलादेशबाट ३ हजार ७ सय १६ जना, अस्ट्रेलियाबाट ३ हजार ६ सय ८५ जना, बेलायतबाट ३ हजार ६ सय ४० जना र श्रीलङ्काबाट ३ हजार ११ जना पर्यटक नेपाल आएका छन् ।


प्रतिक्रिया दिनुहोस्