५० अर्बको सम्पत्ती रहेको यति ग्रुपले आफ्नो मुख्य ब्राण्ड यति एयरलाइन्सको आधा स्वामित्व किन बेच्यो ? « Arthapath.com
३ कार्तिक २०८०, शुक्रबार

५० अर्बको सम्पत्ती रहेको यति ग्रुपले आफ्नो मुख्य ब्राण्ड यति एयरलाइन्सको आधा स्वामित्व किन बेच्यो ?



काठमाडौं । एक समय थियो, सोलुखुम्बुको पाङ्बोचेमा विदेशी पर्यटक पु¥याउने र नेपालको सौन्दर्य चिनाउने काम गर्थे लाक्पा सोनाम शेर्पा र उनका भाइ आङछिरिङ शेर्पा । फ्रान्सेली पर्यटकलाई काश्मीर र लद्दाख खुमाउँदा घुमाउँदै आजभन्दा ३१ वर्षअघि सोनामले थामसेर्कु ट्रेकिङ कम्पनी खोले ।

त्यही कम्पनी छिट्टै देशकै सबैभन्दा ठूलो ट्रेकिङ कम्पनी बन्यो । धेरै पर्यटक आफ्नो कम्पनीमा आएपछि उनीहरुलाई आन्तरिक हवाई सेवा दिन भनेर २५ वर्षअघि सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स स्थापना गरेका थिए ।

लाक्पा सोनाम पासाङ ल्हामु शेर्पाका पति थिए, जो २०५० सालमा वैशाखमा सगरमाथा आरोहणका क्रममा मरिन् । उनलाई सरकारले ‘पहिलो महिला आरोही’ भन्दै राष्ट्रिय विभूति घोषणा गरेको छ । यो शेर्पा परिवारको बिऊ रोप्न सोनामले ठूलो भूमिका खेलेको भए पनि पछिल्लो समय राजनीतिक शक्ति परिचालन गर्दै आफ्नो पारिवारिक व्यवसायलाई उकास्न उनका भाइ आङछिरिङले ठूलो मिहिनेत गरेका थिए ।

तर दुर्भाग्यवश झण्डै ५ वर्ष अघि २०७५ फागुनमा भएको हवाई दुर्घटनामा तत्कालित पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै आङछिरिङको पनि ज्यान गयो । त्यसबेला शेर्पा परिवारको व्यावसायिक संगठन ‘यति ग्रुप’ सँग करीब ५० अर्बको सम्पत्ती रहेको आंकलन गरिएको थियो । तर यो समूहले अहिले आफ्नो मूल ब्राण्ड बोकेको एयरलाइन्स कम्पनीको करीब आधा हिस्सा बेचेको छ ।

लगानी विविधिकरण गर्ने भन्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ठूलो हिस्सा सेयर खरीद गरेको छ । हवाई सेवा कम्पनी यती एयर लाइन्स लिमिटेडमा अव अर्को मुख्य साझेदारको रुपमा एशियन लाइफ इन्स्योरेन्स भित्रिएको छ।

यससँगै एसियन लाइफ इन्स्योरेन्स नेपाली हवाई सेवामा लगानी गर्ने पहिलो बीमा कम्पनी बनेको छ । एशियन लाइफले यति एयरलाइन्समा १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यसका लागि गत भदौ १२ मै नियामक नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति लिएको छ।

इन्स्योरेन्सको स्वामित्वमा आएसँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चार्टर्ड एकाउण्टेण्ट सुभाष सापकोटालाई सुम्पिएको छ । यसअघि उनी एफवान सफ्टले सञ्चालन गर्ने ईसेवाको सीईओ थिए ।

एफवान सफ्ट कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको कम्पनी हो । अहिले चाहीँ सापकोटा एशियन लाइफको तर्फबाट प्रतिनिधित्व गर्दै कम्पनीको नेतृत्वमा पुगेका हुन् । यती एयर र एशियन लाइफबीचको डिल फाइनल गराउनका लागी सापकोटाले विशेष भूमिका निर्वाह गरेका थिए ।

बहुमत शेयर स्वामित्व भएकाले सञ्चालक समितिको अध्यक्ष यति होल्डिङ्गसबाट नै रहने छन् । यसबाहेक मुख्य साझेदारका रुपमा एशियन लाइफ इन्स्योरेन्सले पनि नयाँ सञ्चालक समितिमा आफ्नो तर्फबाट प्रतिनिधि पठाउने भएको छ।

यति एयरलाइन्सले दुई वटा नयाँ जहाज थप्ने योजनासहित नयाँ साझेदार भित्र्याएको हो । यति एयरले हाल ५ वटा एटिआर विमानमार्फत् आन्तरिक उडानमा हवाई सेवा दिँदै आएको छ ।

यति एयरलाइन्स चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँमध्ये ४९ प्रतिशत शेयर एशियन लाइफले किनेको हो । अङ्कित मूल्य १०० मा ७० रुपैयाँ प्रिमियम थपेर एशियन लाइफले प्रतिकित्ता १७० रुपैयाँका दरले सेयर खरिद गरेको हो ।

यति एयरलाइन्सले सर्वसाधारणलाई पनि सेयर बेच्ने तयारी गरिरहेको छ । यसका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने तयारी थालेको छ ।


प्रतिक्रिया दिनुहोस्