नेपाली पर्यटन बजारमा फर्किएको रौनकताले फस्टाउँदै व्यवसाय, तीन महिनामै भित्रियो १३ करोड डलर « Arthapath.com
२८ कार्तिक २०८०, मंगलवार

नेपाली पर्यटन बजारमा फर्किएको रौनकताले फस्टाउँदै व्यवसाय, तीन महिनामै भित्रियो १३ करोड डलर



काठमाडौँ । नेपालमा पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बाक्लो छ । नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै यसबाट हुने आम्दानीमा पनि बढोत्तरी देखिएको छ । 

विदेशी पर्यटक आगमन निरन्तर वृद्धिसँगै व्यवसाय पनि फस्टाउँदै गएको । सरकारको पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै पर्यटन क्षेत्रबाट हुने आम्दानी १७ अर्ब १ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ५०.३४ प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्ममा भने यस क्षेत्रबाट ११ अर्ब २४ करोड ३१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । 

राष्ट्र बैङ्कका अनुसार तीन महिनामा पर्यटन क्षेत्रबाट १२ करोड ८३ लाख अमेरिकी डलर आम्दानी भएको हो । गत आवको पहिलो त्रैमासको तुलनामा भने यस्तो रकम ४६.९६ प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्ममा भने नेपालले विदेशी पर्यटक आगमनबाट कुल ८ करोड ७३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो । गत आर्थिक वर्षभर भने कुल कुल ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको थियो । नेपालको आर्थिक क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि प्रमुख बन्दा यो कमाई मुलुकका लागि जुटाएको हो । नेपालमा विदेशी पर्यटकको आगमन जति धेरै बढ्छ स्वभाविक रुपमा त्यति नै धेरै विदेशी मुद्रा पनि भित्रने गर्दछ ।

विशेष गरी नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै नै यसबाट हुने आम्दानी पनि बढेको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा अर्थात् जनवरीदेखि अक्टोबरसम्ममा कुल ८ लाख ९ हजार ६७८ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार हवाई मार्गबाट सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् । 

बोर्डका अनुसार औसतमा मासिक ८० लाख ९६७ जना विदेशी पर्यटक नेपाल घुम्न आउने गरेको तथ्याङ्क छ । गत वर्ष सन् २०२२ मा कुल ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल घुमेका छन् । नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ ।

कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ। कोरोना कालमा नेपालसहित विश्वव्यापी रूपमा लगाइएको लकडाउन र अन्तरदेशीय आवतजावतमा गरिएको कडाइले पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको छ ।

नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनेकै अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ । यो समयमा नै धेरै विदेशी पर्यटकहरू नेपाल घुम्न आउने गर्दछन् । पर्यटन सिजन सुरु भएकाले आगामी महिनामा अझै बढ्ने बोर्डको भनाई छ । पर्यटकको आगमन बढेसँगै यसबाट हुने विदेशी मुद्रा आर्जन पनि बढ्ने बताइन्छ । 

नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ। कोरोना कालमा नेपालसहित विश्वव्यापी रूपमा लगाइएको लकडाउन र अन्तरदेशीय आवतजावतमा गरिएको कडाइले पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्