उत्साहित नेपाली पर्यटन बजार: ११ महिनामा ९ लाख १८ हजार पर्यटक भित्रिए, नोभेम्बरमा औसत भन्दा धेरै « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

उत्साहित नेपाली पर्यटन बजार: ११ महिनामा ९ लाख १८ हजार पर्यटक भित्रिए, नोभेम्बरमा औसत भन्दा धेरै



काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक महिनामै १ लाख भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्याङ्क अनुसार सन् २०२३ को नोभेम्बरमा  विभिन्न राष्ट्रका १ लाख ८ हजार ६३० जना विदेशी पर्यटकहरू नेपाल घुम्न आएका हुन् । यो गत वर्ष अर्थात् सन् २०२२ को सोही महिनाको तुलनामा भने ४९.५१ प्रतिशतले बढी हो ।

गत वर्षको नोभेम्बरमा जम्मा ७२ हजार ६५३ जना मात्रै विदेशी पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार हवाई मार्गबाट सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् ।

बोर्डको तथ्याङ्क अनुसार पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको छ । सन् २०२३ को ११ महिना अर्थात् जनवरीदेखि नोभेम्बरसम्ममा भने कुल ९ लाख १८ हजार ३०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार औसतमा मासिक ८३ हजार ४८२ जना विदेशी पर्यटक नेपाल आउने गरेका छन् । तर, पछिल्लो चार महिनामा भने औसतभन्दा बढी विदेशी पर्यटकले नेपाल घुमेको देखिन्छ । विशेषगरि नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनेकै अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ । यो समयमा नै धेरै विदेशी पर्यटकहरू नेपाल घुम्न आउने गर्दछन् ।

यस वर्षको जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मे महिनामा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगस्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटन नेपाल घुम्न आएका थिए ।

पर्यटन सिजन भएकाले पनि नेपाल घुम्न आउने विदेशीको सङ्ख्या बाक्लो रहेको बोर्डले जनाएको छ । नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । विदेशी पर्यटक आगमन निरन्तर वृद्धि भएको छ, जसले व्यवसायमा बढोत्तरी आएको छ ।

कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ । कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । २०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । तर, २०२० भने ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । गत वर्ष सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए । 

तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको हो । झन् २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष १ लाख ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भने बिस्तारै बढ्न थालेका छन् ।

एक महिनामै भारतबाट २४ हजार पर्यटक नेपाल भित्रिए, नोभेम्बरमा कुन देशबाट कति पर्यटक आए ?

नोभेम्बरमा नेपाल घुम्न आएका कुल पर्यटकमध्ये सबैभन्दा धेरै भारतका छन् । भारतबाट २४ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका हुन् । गत अक्टोबरमा पनि भारतबाट १८ हजार ४८० जनाले नेपाल भ्रमण गरेका थिए ।

नेपालमा भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, बङ्गलादेश, श्रीलङ्का र इटालीबाट सबैभन्दा धेरै पर्यटक आउने गरेका छन् ।

दोस्रो सूचीमा रहेको अमेरिकाबाट पनि एकै महिनामा ११ हजार ४६१ जना नेपाल आएका छन् । गत अक्टोबरमा पनि अमेरिकाबाट १४ हजार ८७९ जना नेपाल आएका थिए । 

तेस्रो सूचीमा भने छिमेकी मुलुक चीन रहेको छ । चीनबाट नोभेम्बरमा ७ हजार ६०१ जना पर्यटक नेपाल आएका छन् । नेपाल घुम्न आउने चिनिया पर्यटकको सङ्ख्या पनि निकै उत्साहजनक रूपमा बढी रहेको छ । कोरोनाका कारण चीनले लामो अवधिसम्म आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो । तर, फेब्रुअरीबाट भने खुकुलो बनाएको थियो । त्यसपछि नै नेपाल आउने चिनिया पर्यटनको सङ्ख्या थप बढी रहेको छ । 

नोभेम्बरमा बेलायतबाट ६ हजार १३८ जना, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ९६२, बङ्गलादेशबाट ३ हजार ७६१,जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना नेपाल भ्रमणमा आएका छन् । 


प्रतिक्रिया दिनुहोस्