नेपाली पर्यटन बजारमा फर्कंदो उत्साह, कोभिडपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनरुत्थान « Arthapath.com
१७ पुष २०८०, मंगलवार

नेपाली पर्यटन बजारमा फर्कंदो उत्साह, कोभिडपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनरुत्थान



काठमाडौं । नेपाली पर्यटन बजार कोरोना अघिकै लयमा फर्किन थालेको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटक उल्लेख्य मात्रामा बढ्न थालेका हुन् । 

सन् २०२३ भन्दा अघिल्ला तीन वर्ष पर्यटन आगमन त्यत्ति सुखद थिएन । तर, पछिल्लो समय भने सुधार आएको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तर, सन् २०२०, २०२१ र २०२२ मा यस्तो सङ्ख्या एकदम न्यून थियो । 

विशेषगरि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पनि पर्यटन व्यवसाय सुस्ताएको थियो । २०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० समेत स्थगित गरिएको थियो । कोरोना समयअघि अर्थात् सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

तर, २०२० भने ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । गत वर्ष सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए । कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । झन् २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष १ लाख ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको हो । यसरी कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ । 

अघिल्ला तीन वर्षको तुलनामा विदेशी पर्यटक आगमन २०२३ मा उल्लेख्य बढेको  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । बोर्डको रजत महोत्सवमै डा.रेग्मी नेपाली पर्यटन २०१९ को तुलनामा ८५ प्रतिशत रिकभरी (पुनरुत्थान) भएको बताए । उनले भने,‘सन् २०२३ अन्तसम्म आइपुग्दा हामीले १० लाख बढी पर्यटक नेपाल भित्र्याउन सफल भएका छौँ, यो २०१९ को तुलनामा ८५ प्रतिशत पुनरुत्थान हो । नेपालले हासिल गरेको यो पुनरुत्थान दक्षिण एसिया अग्र स्थानमा नै पर्दछ, नेपाली पर्यटन कोभिडपछि बिस्तारै लयमा फर्किन थालेको छ ।’

उनले नेपाली पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन प्रशस्त सम्भावना रहेको बताए । धमाधम बनिरहेको पूर्वाधार, निजी क्षेत्रको बढ्दो लगानी र नेपालको पर्यटनको आफ्नै मौलिकताले पनि व्यवसायको विकास र विस्तारको सम्भावना प्रशस्त रहेको उनले बताए । 

सरकारको १० लाख पर्यटक भित्राउने लक्ष्य पुरा, कुन महिना कति आए ?

सरकारले विदेशी पर्यटक भित्राउन राखेको लक्ष्य पुरा गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो, सो लक्ष्य पुरा भएको हो । यो वर्ष १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सन् २०२३ मा मासिक औसत ८४ हजार ५७३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार अक्टोबरमा सबैभन्दा धेरै पर्यटक  आएका छन् । सो महिनामा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन् । नोभेम्बरमा पनि १ लाख ८ हजार बढी पर्यटक आएका थिए । 

विशेषगरि नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनेकै अक्टोबरदेखि मार्च, अप्रिलसम्म मानिन्छ । यो समयमा नै धेरै विदेशी पर्यटकहरू नेपाल घुम्न आउने गर्दछन् । 

सन् २०२३ को पहिलो महिना अर्थात् जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मे महिनामा ७७ हजार ७०३, जुनमा ७२ हजार ७२६ जना पर्यटक नेपाल आएका थिए । यस्तै, जुलाईमा ५७ हजार ७२६ मा, अगस्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । 

यस्तो छ सन् २०२३ मा मासिक रूपमा नेपाल भित्रिएका विदेशी पर्यटकको सङ्ख्या 


प्रतिक्रिया दिनुहोस्