किन बढिरहेको छ मनकामना रिसोर्टको लागत ? « Arthapath.com
१८ पुष २०८०, बुधबार

किन बढिरहेको छ मनकामना रिसोर्टको लागत ?



काठमाडौं । मूल्य बृद्धि, ढुवानी र केही थप सुविधाहरुका कारण गोरखाको मनकामनामा बन्दै गरेको रिसार्टको लागत निरन्तर बढेको निर्माता कम्पनीले जनाएको छ । गएको चैतमा ४० करोड लागत अनुमान गरेर काम थालिएको रिसोर्टमा हालसम्म आउँदा ५५ करोड खर्च हुने देखिएको चितवन को–ई नेपालका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । ‘मूल्यबृद्धि हाम्रो नियन्त्रणमा छैन । अन्तिमसम्म ६०–६५ करोड पुग्न पनि सक्छ’, उनले भने ।

मनकामना केबल कारको ‘अपर स्टेशन’सँगै ९ रोपनी जग्गामा रिसोर्टको संरचना निर्माण भइरहेको छ । अर्को वर्षको वसन्त ऋतुबाट सञ्चालनमा ल्याउने तयारीमा काम भइरहेको निर्देशक श्रेष्ठले बताए । ‘हामीले २०२४ को अन्त्यसम्म सञ्चालन गरिसक्ने योजना बनाएका थियौं, तर काम गर्दै जाँदा २०२५ को सुरुआति समयबाट सञ्चालन गर्ने तयारी भएको छ’, उनले भने ।

रिसोर्टको मुख्य भवनसहित प्रमुख संरचना निर्माणको काम सकिइसकेको छ । अव स्वीमिङ पुल, रेस्टुरेन्ट लगायतका संरचना बनाउन र यसको साजसज्जा गर्न बाँकी छ । आगामी एक वर्षमा यी सबै काम सकेर सञ्चालनमा ल्याउने योजना निर्माता कम्पनीको छ ।

रिसोर्टको स्केच ।

६ दशकअघि निर्माण क्षेत्रबाट व्यवसाय थालेको श्रेष्ठ परिवारले २६ वर्ष अघि नै मनकामनामा केबल कार सञ्चालनमा ल्याएको थियो । अहिले पनि नेपालको सर्बाधिक यात्रु बोक्ने केबलकार यही हो । ‘यो आर्थिक वर्षमा हामीले १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखेका छौं’ श्रेष्ठ भन्छन्, ‘सुरुआति ६ महिनाको अवस्था हेर्दा यो लक्ष्य सजिलै पुरा हुने देखिएको छ ।’

यसरी वर्षमा १२ लाख मान्छेले केबलकार चढेर मनकामना मन्दिरको दर्शनका लागि जाने अवस्था बनेको छ । अहिले पनि मनकामना दर्शनका लागि केवलकार चढ्नेहरुमध्ये करीब ३० प्रतिशत भारतीय पर्यटक छन् । यसरी ठूलो संख्यामा मान्छे आउजाउ हुने भएकाले धेरै सेवा ग्राहीले स्तरीय होटेलको माग गर्न थालेपछि रिसोर्ट निर्माण थालिएको श्रेष्ठ बताउँछन् ।

‘हामीले पहिले नै केबलकार सञ्चालनमा आएपछि रिसोर्ट बनाउने योजना बनाएका थियौं’, निर्देशक श्रेष्ठ भन्छन्, ‘तर पहिले स्थानीयसँग कुरा नमिले यो परियोजना स्थगित गरिएको थियो ।’ अहिले केबलकारबाट मनकामना दर्शनका लागि गोरखा पुगेर बास बस्नेमध्ये १ प्रतिशत मान्छे भए पुग्ने भएपछि रिसोर्टको निर्माण अघि बढाइएको उनले बताए । अधिक यात्रुले रिसोर्ट चल्ने संभावनालाई निकै बलियो बनाएको उनले बताए ।

यस्तो बन्ने छ कोठा ।
शौचालय र स्नानघर ।

अहिले पनि मनकामना क्षेत्रमा २००० बेडको क्षमताका विभिन्न स्तरका होटेल तथा लजहरु सञ्चालनमा छन् । त्यहाँ अहिले भ्याइनभ्याइ छ । तर आफूहरुले धार्मिक पर्यटनलाई मात्रै ‘कभर’ नगरी त्यस क्षेत्रको थप पर्यटकीय संभावना उजागर गर्न खोजेको श्रेष्ठले बताए ।

५०० वर्षको इतिहास बोकेको मनकामना मन्दीरले धार्मिक पर्यटनका हिसाबले विश्वभर ख्याति कमाइसकेको छ । अहिले भारतबाट आउने पर्यटकले पशुपतिनाथ, मनकामना र मुक्तिनाथलाई केन्द्रित गर्न थालेको उनले बताए । ‘सँगसँगै गोरखाको आफ्नो ऐतिहासिक महत्व बेग्लै छ’, उनले थपे, ‘त्यसै कारण धार्मिक पर्यटनका साथै त्योभन्दा भिन्न पाटोलाई पनि हामीले अघि बढाउनु पर्छ ।’

श्रेष्ठले आफ्नो रिसोर्ट सञ्चालनमा आएपछि अहिले एक रात बस्ने मान्छेलई कम्तिमा २ देखि ३ रात बस्ने गरी बृहत योजनाहरु तयार पारिरहेको बताए । ‘कसैले केही लगानी गरिदिएपछि त्यसले अरु थुप्रै मान्छेका लागि संभावनाको ढोका खुला हुन्छ’, उनले भने । अहिले नै त्यस क्षेत्रमा स्काई वाक, बञ्जि जम्पजस्ता प्रडक्ट लगाउन दिनु पर्यो भन्दै नयाँ व्यवसायीहरु आइरहेको उनी बताउँछन् । ‘पहिले होटेल चल्न दिनुस्, होटेलले बजार लिन थालेपछि त्यसतर्फ अघि बढौंला’ भनेर रोकिरहेको उनी बताउँछन् ।

‘विकासले विकासलाई नै तान्छ । त्यसको फाइदा मैलेमात्रै होइन, त्यहाँको पुरा क्षेत्र र सम्पूर्ण व्यवसीले पाउँछन् । यसबाट ‘ट्रीकल डाउन इफेक्ट’ हुन्छ’, उनी भन्छन् ।

के के हुन्छ रिसोर्टमा ?

केबल कारबाट उत्रिएर देब्रे लाग्दाबित्तिकै रिसोर्टको प्रवेशद्वारमा पुगिने छ । रिसोर्टको मूल भवन ५ तलाको छ, जसका हरेक तलामा ८ कोठा गरी कुल ४० कोठा छन् । यी सबै डिलक्स कोठा हुन् । दर्शनार्थीलाई लक्षित गरिएकाले सबै कोठाहरु एकै खालले बनाइएका छन् । हेल्थ क्लब, स्पाजस्ता सुविधा यहाँ उपलब्ध हुन्छ । पहिलो तलमा स्वीमिङ पुल हुने छ, जहाँबाट हिमालय श्रृङ्खलाको दृष्यावलोकन गर्न सकिने छ ।

रिसोर्टमा मल्टिकुजिन अर्थात् धेरै प्रकारका खाना पाक्ने रेस्टुरेन्ट हुने छ । नेपाली, इन्डियन, चाइनिज र कन्टिनेण्टल खानाहरु उपलब्ध गराउने रेस्टुरेण्टमा स्थानीय उत्पादन र स्वादलाई महत्वका साथ प्रबद्र्धन गरिने छ । एक पटकमा ३०० जना बसेर खाना खान मिल्ने गरी रेस्टुरेन्ट बनाउन लागिएको छ । मन्दीर जाने दर्शनार्थीहरु कोठामा नबसी खानामात्रै खाएर पनि निस्कने सुविधा भएकाले रेस्टुरेन्टको आकार र क्षमता बढाइएको श्रेष्ठले बताए । ‘हामीले त रिसोर्टमै झोला र सामान राखेर मन्दीर घुम्ने सुविधा पनि दिने भनेका छौं’ उनले भने ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मात्र होइन, अन्य शहरका कम्पनी एवम् संस्थाहरुले तालिम, गोष्ठी, बैठक, साधारणसभाजस्ता कार्यक्रम गर्न यस्तै पर्यटकीय गन्तव्यहरुको खोजि गर्न थालेका छन् । त्यसै कारण कम्पनीले ‘आउट डोर’ मिटिङ र कार्यक्रमका लागि भनेर १०० जना बस्न मिल्ने सभाहल पनि बनाइरहेको छ । रेस्टुरेन्टको क्षमता बढाउनुको अर्को कारण यो पनि हो ।

यो रिसोर्टले मात्रै कम्तिमा ६० जनालाई प्रत्येक्ष रोजगारी दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्