नेपाली पर्यटन बजारमा देखिन थाल्यो रौनकता, विदेशी पर्यटक आगमन उत्साहजनक « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

नेपाली पर्यटन बजारमा देखिन थाल्यो रौनकता, विदेशी पर्यटक आगमन उत्साहजनक



काठमाडौं । नेपाली पर्यटन बजारमा रौनकता देखिन थालेको छ। पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेका हुन् । एकै महिनामा सवा लाख बढी विदेशी पर्यटन नेपाल घुम्न आएका छन् । 

नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्याङ्कअनुसार सन् २०२४ को मार्च महिनामा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन् । गत मार्चमा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या झन्डै साढे चार वर्ष यताकै उच्च हो । मासिक आँकडा अनुसार सो बराबरको सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमण आएका थिएनन् ।  

सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् ।नेपालमा पर्यटक आगमनको मुख्य सिजन भनकै अक्टोबरदेखि मार्च, अप्रिल मानिन्छ । मुख्यतः सिजन भएकाले नै मार्चमा धेरै पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।

सन् २०२४ को पहिलो तीन महिना (जनवरीदेखि मार्चसम्म) मा ३ लाख ४ हजार ६९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्षको मार्चको तुलनामा भने पर्यटक आगमन २८.९० प्रतिशत बढेको छ । अहिले पर्यटक आगमन बढेसँगै अन्य आर्थिक क्रियाकलाप पनि वृद्धि भएको छ । पछिल्लो समय नेपाल भित्रने पर्यटकको सङ्ख्याले पर्यटन बजार बिस्तारै कोरोना अघिकै अवस्थामा चलायमान हुन लागेको बोर्डले जनाएको छ।  

भारतीय पर्यटकको बाक्लो उपस्थिति, चिनियाँ पर्यटक आगमन पनि साढे ४ गुणा बढ्यो

नेपाल घुम्न आउने पर्यटकहरूको पहिलो सूचीमा भारतीय नागरिकहरू छन् । भारतबाट नै सबैभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा आउने गरेका हुन् । मार्चमा पनि भारतबाट ३० हजार ६९८ जना नेपाल आएका छन् ।

भारतीय नागरिकहरू विशेषगरि पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पोखरा लगायतका धार्मिक स्थलको दर्शनको लागि नेपाल आउने गर्छन् । गत वर्षको मार्चमा पनि भारतबाट २५ हजार ९११ जना पर्यटक आएका थिए ।

भारतपछि अर्को छिमेकी मुलुक चीनबाट धेरै आउने गरेका छन् । एक महिनामै चीनबाट १२ हजार ९३ जना पर्यटक आएका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा ४.५९ गुणा बढी हो । पछिल्लो नेपाल घुम्न आउने चिनिया पर्यटकको सङ्ख्या पनि निकै उत्साहजनक रूपमा बढी रहेको छ । कोरोनाका कारण चीनले लामो अवधिसम्म आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो । तर, गत वर्षको फेब्रुअरीबाट भने खुकुलो बनाएको थियो । त्यसपछि नै नेपाल आउने चिनिया पर्यटनको सङ्ख्या निरन्तर बढी रहेको छ ।

मार्च महिनामा अमेरिकाबाट १० हजार ७६३, बेलायतबाट ७ हजार २४१, श्रीलङ्काबाट  ५  हजार ७४१, जर्मनबाट ५ हजार २५५, थाइल्याण्बाट  ४ हजार ५६७, अस्ट्रेलियाबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना पर्यटक नेपाल भित्रिएका छन् । 

कुन देशबाट कति आए ?

कोरोना थलिएको पर्यटन बजार पुनः लयमा फर्किँदै

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले तहसनहस भएको नेपाली पर्यटन बजार पुनः लय फर्किन थालेको छ । कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो ।

सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । तर, २०२० भने ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । यस्तै, सन् २०२१मा पनि कुल १  लाख ४९ हजार ८३३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।  गत वर्ष सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए । 

तर, गत वर्ष सन् २०२३ मा पनि पर्यटक आगमनले सरकारी लक्ष्य हासिल गरिसकेको छ । सो वर्ष सरकारले १० लाख बढी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको थियो, जुन पुरा भएको छ । सो वर्ष १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । 


प्रतिक्रिया दिनुहोस्