निरन्तर बढ्दै पर्यटक आगमन, नेपाल घुम्न आए ७ लाख २० हजार विदेशी « Arthapath.com
१७ भाद्र २०८१, सोमबार

निरन्तर बढ्दै पर्यटक आगमन, नेपाल घुम्न आए ७ लाख २० हजार विदेशी



काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन बढ्दो क्रममा नै छ । पछिल्लो आठ महिनामै ७ लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डले हालै उपलब्ध गराएको सन् २०२४ को अगष्ट महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सन् २०२४ को जनवरीदेखि अगष्टसम्ममा कुल ७ लाख २० हजार ३३४ जना विदेशी नेपाल घुमेका छन् ।

विश्वका विभिन्न मुलुकहरुबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बाक्लिदो नै छ । गत अगष्ट महिनामा मात्रै ७२ हजार ७१९ जना पर्यटकले नेपाल भ्रमण गरेका छ् । यो गत वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा भने ८.३ प्रतिशत बढी हो । गत वर्षको अगष्टमा पनि ६७ हजार १५३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

अहिले पर्यटक आगमनको सिजन भने मानिदैन । तर, पनि नेपालमा भ्रमणमा आउनेको संख्या भने बढ्दो नै देखिएको छ । बोर्डका अनुसार नेपालमा विदेशी पर्यटक आगमनको मुख्य सिजन अक्टोबर महिनादेखि मार्चसम्मलाई मानिन्छ । ती महिनामा अघिपछिको तुलनामा धेरै पर्यटक आउने गरेका छन् ।

गत जुलाईको तुलनामा भने अगष्ट महिनामा १२.५७ प्रतिशत पर्यटक बढेका हुन् । जुलाईमा पनि ६४ हजार ५९९ जना विदेशी नेपाल भ्रमणमा आएका थिए । यस्तै, गत जुनमा ७६ हजार ७३६ जना, मेमा ९० हजार २११, अप्रिलमा १ लाख ११ हजार ३७६ र मार्चमा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

सन् २०२४ को पहिलो महिनामा जनवरीमा पनि ७९ हजार १०० जना र फेब्रुअरिमा ९७ हजार ४२६ जनाले नेपाल घुमेका थिए ।
अगष्टमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । सो मुलुकबाट एकै महिना २५ हजार ८३२ जना नेपाल भ्रमणमा आएका छन् । गत जुलाईमा भने भारतबाट २१ हजार ४९१ जना भित्रिएका थिए ।

यस्तै, अगष्ट महिनामा चीनबाट पनि ६ हजार ६१४ जना, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल आएका छन् ।


प्रतिक्रिया दिनुहोस्