अमेरिकाको सडकमा पैसा टिप्नेको भीड बढेपछि राजमार्ग नै जाम ! « Arthapath.com
५ मंसिर २०७८, आईतवार

अमेरिकाको सडकमा पैसा टिप्नेको भीड बढेपछि राजमार्ग नै जाम !



नेपालमा त ‘अमेरिका पुग्नसके बोटमा फलेको पैसा टपाटप टिप्न पाइन्छ’ जस्तै सोचाइ राख्नेहरु अझै धेरै छन् । तर अनौठो, अमेरिकामा सडकमा छरिएका पैसा टिप्नेको भने उस्तै भीड लागेको थियो । शुक्रबारको राति (स्थानीय समय अनुसार शुक्रबार विहान) अमेरिकाको एक राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको हो । त्यो गाडी अमेरिकी सेनाको हो ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोट (अमेरिकी डलर) हतारहतार टिपिरहेका देखिन्छन् । यो घटना अमेरिकाको क्यालिफोर्नियाको सान डिएगो काउन्टीस्थित एक हाइवेमा भएको हो । जुन शहर प्रशान्त महासागरको तटमा अमेरिकी र मेक्सिकोको सीमाक्षेत्रनजिक पर्छ । यो शहरको समय नेपालको भन्दा १३ घण्टा ४५ मिनेट ढिला छ ।

प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो । प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ । एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समय अनुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ ।

‘जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो’, राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टलाई उद्र्धृत गर्दै बीबीसीले लेखेको छ । डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पैसा टिपेको निहुँमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको थियो । सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको र पैला टिपेर लानेमाथि कारबाही हुनसक्ने भन्दै राजमार्ग प्रहरीले पैसा फिर्ता दिन आग्रह गरेको छ । बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन् ।

‘राजमार्गमा टिभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,’ उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन् । शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ । ‘मानिसहरूले थुप्रै पैसा ल्याइरहेका छन्,’ राजमार्ग प्रहरीले भनेको छ ।

सडकमा पैसा टिप्नेको भीड बढेपछि प्रहरी अधिकारीहरुले पनि प्लास्टिकका झोलामा छरिएका पैसा बटुल्न थालेका थिए ।


प्रतिक्रिया दिनुहोस्