मुस्ताङमा बढ्यो स्याउको उत्पादन, तर मासिँदै छन् पुराना स्याउबारी « Arthapath.com
२ श्रावण २०८३, शनिबार

मुस्ताङमा बढ्यो स्याउको उत्पादन, तर मासिँदै छन् पुराना स्याउबारी



काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ नेपाली स्याउका लागि प्रख्यात ठाउँ हो । विश्व पर्यटन र तिब्बती सभ्यताको एक उत्कृष्ठ थलो हुँदा हुँदै पनि यो नेपालको स्याउ भण्डार समेत हो । यहाँ स्याउ खेति हुन थालेको आधा दशक नाघिसकेको छ ।

यो वर्ष मुस्ताङमा पोहोरभन्दा ९ प्रतिशत बढी स्याउ उत्पादन भएको त्यहाँको कृषि ज्ञान केन्द्र्रले जनाएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादकत्व घट्दै गएको पाइए पनि स्याउ खेति गर्ने क्षेत्रफल बढ्दै गएका कारण उत्पादन बढेको हो । पानी पर्ने र हिउँ पर्ने प्रबृत्तीमा आएको फेरबदलले मुस्ताङको स्याउको उत्पादनलाई प्रभावित पार्दै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार पहिले पहिले निकै आकर्षक र स्वादिला स्याउ उत्पादन हुने लेते, ताक्लुङ, धम्पू, कोवाङजस्ता क्षेत्रमा अहिले स्याउका बोट सुक्न थालेका छन् । तल्लो मुस्ताङका ती ठाउँमा किसानले स्याउबारी मासेर आलुलगायत वैकल्पिक खेति गर्न थालेका छन् । तर पहिले हिउँका कारण स्याउ नफल्ने माथिल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर, दामोदरकुण्ड, बारागुङजस्ता क्षेत्रमा अहिले स्याउ फस्टाउन थालेका छन् ।

पहिले बढी हिउँ पर्ने, पानी नपर्ने भएकाले मुस्ताङ नाङ्गा पहाडले ढाकेको छ । तर अहिले मनाङ, मुस्ताङजस्ता हिमालपारि भेगमा अत्यधिक वर्षा भएर बाढी आउने समस्या देखिएको छ । यसलाई धेरैले जलवायु परिवर्तनको असर भनेका छन् । यद्यपि, यसको वैज्ञानिक अध्ययन हुन सकेको छैन ।

तर तत्कालै मुस्ताङको मौसममा आएको परिवर्तनमाथि वैज्ञानिक अध्ययन नगर्ने हो भने विस्तारै नेपाली स्याउको भण्डार आगामी केही दशकपछि निमिट्यान्न हुनसक्ने किसानहरुले औल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्