भारतीय अवरोधले संकटमा परेका चिया उद्योग खुले, उच्चस्तरीय कार्यदलले खोज्नेछ निकास « Arthapath.com
१२ असार २०८३, शुक्रबार

भारतीय अवरोधले संकटमा परेका चिया उद्योग खुले, उच्चस्तरीय कार्यदलले खोज्नेछ निकास



भारतीय निर्यात नियममा आएको फेरबदलका कारण ११ दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू सरकारको उच्चस्तरीय आश्वासन र कार्यदल गठनपछि पुनः सञ्चालनमा आएका छन्।

काठमाडौँ । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण गम्भीर संकटमा परेको पूर्वी नेपालको चिया क्षेत्र अन्ततः ११ दिनपछि पुरानै लयमा फर्कन थालेको छ।

निकासी प्रक्रियामा देखिएको प्राविधिक र कानुनी उल्झन सुल्झाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्ने र विशेष कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले आफ्नो आन्दोलन स्थगित गरेका हुन्।

असार ११ गतेदेखि चिया बगान र प्रशोधन केन्द्रहरू पुनः सञ्चालनमा आएसँगै बगानमै कुहिन थालेको हरियो पत्ती र संकटमा परेका हजारौँ मजदुरको जीविकोपार्जन जोगिएको छ।

भारतले नेपाली चियाको निर्यातमा अतिरिक्त परीक्षण र प्रमाणीकरणसम्बन्धी नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियोर (एसओपी) लागू गरेपछि नेपालको चिया बजार ठप्प जस्तै बनेको थियो।

भारतीय नीतिका कारण निकासी प्रक्रिया झन्झटिलो र असम्भव जस्तै बन्दै गएपछि त्यसको प्रत्यक्ष विरोधमा उत्रिँदै इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका उद्योगीहरूले असार ४ गतेदेखि आफ्ना कारखानाहरू पूर्ण रूपमा बन्द गरेका थिए।

वर्षभरिको कठोर मिहिनेतपछि चिया टिप्ने मुख्य सिजनमै उद्योगहरू बन्द हुँदा नेपालको चिया क्षेत्रले इतिहासकै ठूलो आर्थिक धक्का महसुस गरेको थियो।

सिंहदरबारको अग्रसरता

नेपाल चिया उत्पादक संघका अनुसार उद्योग बन्द गर्ने निर्णय रहर नभएर सरकारको ध्यानाकर्षण गराउने एउटा बाध्यात्मक परिस्थिति थियो। संघका उपाध्यक्ष शिवकुमार गुप्ताले समस्या समाधानका लागि सरकारले देखाएको गम्भीरता र तदारुकतालाई हेरेर नै आफूहरू तत्कालका लागि आन्दोलन फिर्ता लिन तयार भएको बताए।

आन्दोलनको घोषणा लगत्तै संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा उद्योगीहरूको एउटा टोलीले काठमाडौँ पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका उच्च अधिकारीहरूसँग सघन छलफल गरेको थियो।

त्यस क्रममा प्रधानमन्त्री कार्यालयबाट चिया क्षेत्रको यो विशिष्ट संकटलाई कूटनीतिक र प्रशासनिक माध्यमबाट दीर्घकालीन रूपमा हल गर्ने बलियो प्रतिबद्धता आएको थियो। सोही प्रतिबद्धताअनुसार सरकारले चिया निर्यातका अवरोधहरू अध्ययन गर्न र समाधानका उपायहरू सिफारिस गर्न एउटा विशेष कार्यदल समेत गठन गरिसकेको छ।

बगानमा किसानले टिपेका चियाका बुट्टाहरू खेर जान थालेको र आश्रित मजदुरको दैनिक चुल्हो नै निभ्ने अवस्था आएकाले पनि उद्योगीहरूले सरकारको आश्वासनलाई विश्वास गर्दै कारखानाको साँचो पुन: खोलेका हुन्।

दीर्घकालीन बजारको खोजी

इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपाल (सोट्पान) ले पनि सरकारको यो अग्रसरताप्रति भरोसा प्रकट गर्दै उत्पादन सुरु गरेको जनाएको छ। सोट्पानकी कार्यवाहक अध्यक्ष रानी लिम्बूले जारी गरेको विज्ञप्तिमा केन्द्रदेखि स्थानीय तहसम्मका सरोकारवाला निकायहरूसँगको संवादपछि सकारात्मक वातावरण बनेको उल्लेख छ।

संस्थाले आगामी दिनमा नेपाली चियाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गर्ने, किसानबाट सोझै हरियो पत्ती खरिद गर्ने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रण गरेको छ। यसले नेपाली चियालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ।

नेपालमा उत्पादित चियाको बजार अहिलेसम्म मुख्य रूपमा भारतमै निर्भर रहँदै आएको छ। नेपालबाट बाहिरिने कुल चियाको ठूलो हिस्सा भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको वर्तमान अवस्थामा भारतले गर्ने सानो फेरबदलले पनि नेपाली बजारलाई नराम्ररी हल्लाइदिने गर्छ।

सरकारले गठन गरेको नयाँ कार्यदलले भारतीय पक्षसँग प्राविधिक समन्वय गर्दै निकासी सहज बनाउने मात्र नभई नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विविधीकरणका लागि दीर्घकालीन योजना बुन्ने जिम्मेवारी पाएको छ।


प्रतिक्रिया दिनुहोस्