बजेटको प्रतिस्थापन विधेयकले दुई ब्यापारिक घरानालाई वार्षिक ६ अर्ब नाफा ! « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

बजेटको प्रतिस्थापन विधेयकले दुई ब्यापारिक घरानालाई वार्षिक ६ अर्ब नाफा !



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटको प्रतिस्थापन विधेयकले नेपालमा मोटरसाइकल र स्कुटरको एसेम्बल (जोडजाड) गर्ने दुई ब्यापारिक घरानालाई वार्षिक ६ अर्ब रुपैयाँ थप नाफा प्राप्त हुने भएको छ । सरकारले १२५ सीसी (क्युबिक क्यापासिटि)भन्दा भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा थप राजश्व लगाउने प्रस्ताव छ । अर्कातिर नेपालभित्रै एसेम्बल गर्ने मोटरसाइकलका लागि राजश्व छुट दिएको छ ।

देशभित्रै एसेम्बल उद्योगको विस्तार गर्न भन्दै ल्याएको यस्तो नीतिले नेपाली उपभोक्ताबीच छनोटको अधिकार खुम्चिनेमात्र होइन, सीमित व्यापारीलाई लाभ पुग्ने भएको श्राेतले बताएकाे छ । ‘नयाँ बजेटले समान क्षमताका मोटरसाइकलमा पनि मूल्यको अन्तर निकै बढी हुने भएको छ,’ उनले भने, ‘यसो हुँदा दुई वटा कम्पनीले मात्रै आफ्नो बजार विस्तार गर्ने र अरु कम्पनी विस्थापित हुने अवस्था आउँछ ।’

नेपालमा एसेम्बल हुने मोटरसाइकल आयातमा ५० प्रतिशत राजश्व छुट दिइने प्रस्ताव बजेटमा गरिएको छ । अहिले नेपालमा बजाज र टीभीएस मोटरसाइकल तथा स्कुटरमात्रै एसेम्बल हुन्छन् । श्राेतका अनुसार अहिले दिइएको राजश्व छुटका कारण यी दुई कम्पनीलाई एउटा मोटरसाइकल वा स्कुटरमै औसत ३० हजार रुपैयाँ नाफा हुन्छ ।

व्यवसायिका अनुसार अहिले नेपालमा बजाजले वार्षिक ८५ हजारभन्दा बढी मोटरसाइकल बेचिरहेको छ । टीभीएसले पनि मोटरसाइकल र स्कुटर गरेर ८० हजारभन्दा बढी विक्री गर्दै आएको छ । होण्डाले ३० हजार मोटरसाइकल र ४० हजार हाराहारीमा स्कुटर विक्री गरिरहेको छ ।

यसरी बजाज र टीभिएसले अहिले नै १ लाख ७० हजार गोटा हाराहारी मोटरसाइकल र स्कुटर बेच्छन् । यसमा औसत वार्षिक बृद्धिदर (१५ प्रतिशत) जोड्ने हो भने १ लाख ९५ हजारभन्दा बढी हुन्छ । मूल्य सस्तो पर्दा यो वर्ष अझै यी कम्पनीको उत्पादन विक्री बढ्ने संभावना छ ।

यो कारणले थप ५ हजार गोटामात्रै यी दुई कम्पनीको ब्यापार बढ्दा पनि २ लाख वार्षिक ब्यापार २ लाख वटा पुग्ने ब्यवसायि बताउँछन् । यसमा प्रतिगोटा औसत ३० हजार रुपैयाँ नाफा हुँदा ६ अर्ब रुपैयाँ यी दुई कम्पनीको पोल्टामा पर्छ । अर्थात् सरकारले ल्याएको पछिल्लो नीतिले दुई कम्पनीलाई वार्षिक ६ अर्ब रुपैयाँको लाभ हुने ब्यवसायी बताउँछन् ।

सरकारले १२५ देखि १५० सीसीसम्मलाई १० प्रतिशत राजश्व बढाएको छ । २०० देखि २५० सीसीसम्मलाई नयाँ स्ल्याब (वर्ग) छुट्याइएको छ । यसमा पनि १० प्रतिशत राजश्व बढाइएको छ । २५० देखि ५०० सीसीका मोटरसाइकललाई २० प्रतिशत राजश्व बढाइएको छ । ५०० देखि ८०० सीसीका साधनलाई त ३० प्रतिशत राजश्व बढाइएको छ ।

२५० देखि ५०० सीसीसम्मको मोटरसाइकलमा कर बढाउँदा यसको सबैभन्दा ठूलो मार चाहीँ रोयल इन्फिल्ड (बुलेट) बेच्ने दुगड समूहलाई परेको छ । ‘हामीसँग २५० सीसी माथिकाका मोटरसाइकल छन्’, दुगड समुह श्राेत भन्छ, ‘अब यसमा कम्तिमा पनि ७० हजारभन्दा धेरै राजश्व बढ्यो ।’ यस नीतिले होण्डा, यामाहा, सुजुकी, हिरोजस्ता ठूला ब्राण्डलाई सबैभन्दा बढी असर पारेको छ ।

नेपालमा अहिले एस ब्रिटिश बाइक, बजाज, बेनेल्ली, बी एम डब्ल्यू, बी एस ई, इटल्जेट, सी एफ मोटो, हार्टफोर्ड, हिरो, होण्डा, ह्विस्कवर्न, जावा, के टी एम, लमोठो, महिन्द्रा, मोट्रेक, रोयल इन्फिल्ड, रनर, स्कम्याडी, सुपर सोको, सुजुकी, सिम, टीभीएस, यू एम, यामाहा लगायत ब्राण्डका मोटरसाइकल विक्री हुन्छन् । त्यस्तै, एप्रिलिया, हिरो, होण्डा, प्योर ईभी, सुपर सोको, सुजुकी, टीभीएस, भेस्पा, यामाहा जस्ता ब्राण्डका स्कुटर विक्री हुँदै आएका छन् ।

वार्षिक २५ हजार गोटाभन्दा कम मोटरसाइलक वा स्कुटर विक्री गर्ने कम्पनीले नेपालमा एसेम्बल उद्योग राख्न सम्भव नहुने एक व्यवसायी बताउँछन् । यसो हुँदा थुप्रै कम्पनीले नेपालको बजार हिस्सा गुमाउनसक्ने जोखिम बढेको छ । यो नीतिले होण्डा, यामाहा, सुजुकी, हिरोजस्ता कम्पनीलाई भने नेपालमै एसेम्बल उद्योग खोल्न वा बजार गुमाउन बाध्य पार्ने छ ।

हाल नेपालमा होण्डा र हिरोहोण्डाका मोटरसाइकल र स्कुटर स्याकर कम्पनीले बेच्छ । यो ज्योति ग्रुपअन्तरगतको कम्पनी हो । हिरो र होण्डा छुट्टिएपछि नेपालमा हिरो मोटरसाइकल र स्कुटर बेच्न ज्योति समूहले नै सन् २०१२ मा ‘नेपाल जनरल मार्केटिङ प्राली’ स्थापना गरेको छ । यामाहाका उत्पादन भने एमएडब्ल्यू नामक कम्पनीले बेच्छ । यस कम्पनीको प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन् । उनी अहिले व्यवसायीहरुको अर्को छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष छन् ।

सुजुकीका मोटरसाइकल र स्कुटर भने भीजी (विशाल ग्रुप) अटोमोबाइल्सले बेच्छ । नेपालमा फक्सवागन, एमजी, मज्दा, रेनल्टजस्ता ठूला ब्राण्डका कार पनि यही कम्पनीले बेच्छ । यो एनआईसी एसिया बैंकका प्रवद्र्धकहरुको कम्पनी हो । जगदीश प्रसाद अग्रवाल यो कम्पनीको अध्यक्ष छन् ।

यी हुन् लाभ पाउने मालिक

नेपालमा बजाज मोटरसाइकल गोल्छा अर्गनाइजेशन अन्तरगतको ‘हंशराज हुलाशचन्द (एचएच)’ कम्पनीले बेच्छ । यो नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हो । गोल्छा समूहले हुलास अटोक्राफ्ट नामक कम्पनी बनाएर नेपालमा बजाजका मोटरसाइकल एसेम्बल गरिरहेको छ । गोल्छा समूहको सबैभन्दा ठूलो व्यवसाय नै बजाजको ब्यापार हो । यसबाहेक उनीहरुले हिम इलेक्ट्रोनिक्स भन्ने अर्को ब्यापारिक कम्पनी चलाउँछन् ।

हिम इलेक्ट्रोनिक्सले सामसुङ, इण्डोएसियन, चिण्ट, आहुजा, हिमस्टारजस्ता ब्र्राण्डका विद्युतीय सामग्री बेच्छ । कुखुरा लगायतका जनावरलाई दिने खोप उत्पादन गर्ने भारतीय कम्पनी हेस्टर बायोसाइन्ससँग मिलेर नेपालमा जनावरका लागि खोप उत्पादन गर्ने काम पनि यो कम्पनीले गरेको छ । सुर्य विद्युतु पावर नामक कम्पनी बनाएर ५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । यो समूहले हुलास इन्भेष्टमेण्ट कम्पनीमार्फत् वित्तीय सेवा पनि दिँदै आएको छ ।

त्यस्तै टीभीएस मोटरसाइकल चाहीँ जगदम्बा मोटर्सले बेच्छ । यो शंकर समूह अर्थात् सुलभ र शाहिल अग्रवालको कम्पनी हो । यो समूहको सबैभन्दा ठूलो लगानी चाहीँ जगदम्बा स्टिलमा छ । यसबाहेक जगदम्बा सिन्थेटिक्स नामक धागो उत्पादक कम्पनी, जगदम्बा सिमेण्ट, जगदम्बा एसएस पाइपजस्ता कम्पनी छन् । अहिले काठमाडौंको ठमेलमा हिल्टन ब्राण्डमा सञ्चालन गर्ने गरी पाँच तारे होटेल बनाउँदै छ । त्यस्तै ब्लुफिन भोड्का, जगदम्बा पिठो, सिद्धिसिद्धि सिमेण्ट, राइनो टीएमटी (डण्डी), सौर्यसिमेण्ट लगायतमा पनि यो समूहको लगानी छ ।

शंकर समूहले नेपालमा थुप्रै विदेशी उत्पादन आयात गरेर पनि बेच्छ । टीभिएस मोटरसाइकल यसैमध्येको एक हो । यसबाहेक चिनियाँ स्काभेटर ‘जूमलायन’, यूएईको एड्नक लुब्रिकेण्ट्स, भारतको टाटा स्टिलियम, भारतकै बोम्बे डाइनिङ, भारतीय आयल कर्पोरेशन, चीनको कोन्का, जापानको सीको घडी, फ्रान्सेली रक्सी ‘मोइट इनेस्सी लुइ रिटुन–एलभीएमएच स्पिरिट’, भारतको जिन्दाल स्टिल, हेभी इक्वीप्मेण्ट उत्पादन गर्ने इटलियन कम्पनी केस कन्सट्रक्सन, मलेसियाको कार प्रोटोन लगायतका कम्पनीको उत्पादन पनि नेपालमा बेच्छ ।

सुलभ अग्रवाल जगदम्बा होल्डिङको अध्यक्ष छन् । जगदम्बा ग्रुपको अध्यक्ष शाहिल र शंकर ग्रुपको अध्यक्ष शंकरलाल अग्रवाल छन् । यो समूहले राष्ट्रिय अर्थतन्त्रमा आफ्नोमात्रै ३.५ प्रतिशतको योगदान रहेको दाबी गरेको छ ।

गोल्छा र अग्रवालको साझेदारी

गोल्छा र अग्रवालले पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्सबाट वित्तीय क्षेत्रमा पनि साझेदारी बढाएका छन् । पछिल्लो पटक युनियन लाइफ इन्स्योेरेन्समा उनीहरुले साझेदारी गरेका छन् । केही समय अघि पहिलेदेखि आवेदन दिएर लाइसेन्स कुरिरहेका अरु ५ कम्पनीलाई ट्वाल्लै पार्ने गरी नयाँ पुनरर्बीमा कम्पनीको लाइसेन्स पाएपछि यी दुई व्यवसायीक घरानाको सहकार्यबारे आर्थिक क्षेत्रमा चासो बढेको थियो ।

यी दुई घरानाको प्रमुख साझेदारीमा केपी ओली नेतृत्वकै सरकारले हिमालय रि–इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिएको थियो । त्यसबेला निकै अघि बढिसकेको प्रक्रिया रोकेर बीमा समितिले हिमालयनलाई पुनर्बीमाको लाइसेन्स दिएपछि यो समूह बढी शक्तिशाली बनेर उदाएको थियो । यसअघि पर्यटन र उड्डयन क्षेत्रको यति समूहले सरकारसँगको सामिप्यतामा ठूलो लाभ लिएको चर्चा थियो । चन्द्र ढकालको आईएमई समूह र एनआईसी एसिया बैंकका मालिकहरुको विशाल ग्रुपबीच पनि यस्तै व्यवसायिक तादात्म्य रहेको बताइँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्