एउटै गाडीको भाऊ भारतमा १० लाख, नेपालमा साढे २६ लाख, सुजुकी २५५ प्रतिसत बढी, दशैंमा गाडी चढ्ने रहर ‘कति महँगो ?’ « Arthapath.com
६ आश्विन २०७८, बुधबार

एउटै गाडीको भाऊ भारतमा १० लाख, नेपालमा साढे २६ लाख, सुजुकी २५५ प्रतिसत बढी, दशैंमा गाडी चढ्ने रहर ‘कति महँगो ?’



काठमाडौं । शेयर बजारले नयाँ कीर्तिमानी उचाइ चुमेका बेला यो वर्षको दशैं नजिकिँदै छ । शेयरको दोस्रो बजारमा ठूलो सम्पत्ती आर्जन गरेका हजारौं नेपालीले यो दशैंमा ‘ड्युरेबल्स’ वस्तुको खरीद गर्ने नै छन् । पछिल्ला वर्षमा नेपाली उपभोक्ताका लागि लामो समय टिकाउ हुने खालका वस्तुहरु (ड्युरेबल्स) किन्ने ज्यादै राम्रो मौका नै दशैं बन्न थालेको छ । यो बेला धेरै जसो वस्तुमा छुटका योजनाहरु प्राप्त हुने भएकाले पनि शरद ऋतुलाई मानिसहरुले ‘खरीद ऋतु’ बनाउन थालेका छन् ।

झण्डै दुई वर्षको तनावपूर्ण कोरोना महामारीबाट अवस्था सामान्य लयमा फर्कँदै छ । मानिसहरु अब भेटघाटमा जुट्ने तरखरमा छन् । गत वर्षको दशैं, तिहार त त्रासै त्रासमा वितेको थियो । त्यस कारण पनि यो वर्षको चार्डपर्वले विशेष महत्व राख्ने धेरैको बुझाइ छ । अर्कातिर अहिले मानिसहरुसँग पर्याप्त पैसा आर्जन भएको छ ।

विदेशमा बसेर कमाइ गर्ने नेपालीले पनि यो वर्ष राम्रै पैसा कमाएको रेमिट्यान्सको बढ्दो आँकडाले जनाउँछ । यता शेयर बजारमा लगानी गर्नेमध्ये धेरैले आफ्नो सम्पत्ती कयौं गुणासम्म बढाएका छन् । अब यो सम्पत्ती उपभोगमा खर्च हुने छ । त्यस्तो उपभोगको क्षेत्रमध्ये सबैभन्दा बढीको चासो जाने वस्तु हो, गाडी ।

नेपाली समाजमा अब कार हरेक परिवारको प्रतिष्ठाको विषय बन्न थालेका छ । लोकतन्त्र पुनःस्थापनापछि गाउँगाउँमा बढेको सडक सञ्जाल र पक्की पुलहरुले सवारी साधनको उपयोगलाई ज्यामितीय आकारमा बढाइरहेको छ । यही कारण अब नेपालमा कारको खपत बढ्ने अटोमोबाइल्स व्यवसायिहरुले अपेक्षा राखेका छन् ।

नेपालमा धेरैजसो कार भारतबाट आयात हुन्छ । चीन, जापान, कोरिया, जर्मनी, इटलीबाट पनि कार आयात हुँदै आएका छन् । तर अधिकांश मध्येमवर्गले भारतबाट आयात हुने कार नै बढी प्रयोग गर्छन् । भारतमा भारु ५ लाखभन्दा कम मूल्य पर्ने गाडीलाई सस्तो गाडी मानिन्छ । भारु ५ देखि १५ लाखसम्म पर्ने गाडीलाई मध्यमस्तरीय गाडीका रुपमा मानेर हामीले केही गाडीको मूल्य तुलना गर्ने प्रयास गरेका छौं ।

यसरी हेर्दा विभिन्न ब्राण्डका कार सेग्मेण्टमा एउटै गाडीको भाऊ भारतभन्दा नेपालमा २६० प्रतिशतसम्म महँगो पर्ने देखिएको छ । अनलाइनमा प्राप्त मूल्य सूची अनुसार टोयोटा र सुजुकीका कारको भाऊमा सबैभन्दा बढी मूल्य अन्तर देखिएको छ । अहिले नेपाली बजारमा निकै आकर्षण बढेको सुजुकीको भितेरा ब्रेज्जा गाडीको भाउ भारतको तुलनामा नेपालमा ३० लाख रुपैयाँ (२५५ प्रतिशत) महँगो पर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्