स्मार्टफोनको माग र आपूर्ति चुलिँदो: १४ लाख २७ हजार मोबाइल आयात, बढ्यो बाहिरिने विदेशी मुद्राको दर « Arthapath.com
११ असार २०८०, सोमबार

स्मार्टफोनको माग र आपूर्ति चुलिँदो: १४ लाख २७ हजार मोबाइल आयात, बढ्यो बाहिरिने विदेशी मुद्राको दर



काठमाडौं । नेपालमा स्मार्टफोनको माग बढ्दो छ । पछिल्लो समय स्मार्टफोनको माग र आपूर्ति उच्च दरमा चुलिंदो छ । ११ महिनामै १४ लाख बढी स्मार्टफोन आयात भएका छन् । एक वर्षमै स्मार्टफोन आयात २८ गुणाले बढेको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । चालु आवको जेठ मसान्तसम्ममा १४ लाख २७ हजार ३८१ वटा स्मार्टफोन आयात भएको हो । गत आवको समिक्षा अवधिमा भने ८२ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो । सो अवधिमा ५० हजार ९५४ वटा मात्रै स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय नेपालमा महँगा मूल्यदरका स्मार्टफोनको प्रयोग एकदमै बढी रहेको छ । यसको माग र प्रयोग उच्च दरमा नै बढ्न थालेको हो । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको मोबाइल फोन आयातकर्ता संघले जनाएको छ ।

महँगा फोनको आयात बढ्दा बाहिरिने विदेशी मुद्राको दर बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा २२ अर्ब ३८ करोड १६ लाख २८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । सो बराबरको स्मार्टफोन आयातबाट सरकारले ४ अर्ब १७ करोड ५० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

औसतमा नेपालीले १५ हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँहजारसम्मका स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । सोही मूल्य बराबरको स्मार्टफोन किन्ने संख्या पनि बढ्दो छ । पछिल्लो नेपालमा ग्रामीण दूरसञ्चार सेवा पनि बढ्दै छ, जसले स्मार्ट मोबाइल प्रयोग बढेको बताइन्छ ।

नेपालमा सामसुङ, साओमी, नोकिया, भिभो, ओप्पो, हुवेई, आईटेल, लाभा, नोाकिया ब्राण्डका स्मार्टफोन प्रयोगकर्ता सबैभन्दा बढी छन् । नेपालमा विश्वका ६ दर्जन मुलुकहरुबाट स्मार्टफोन आउने गरेको छ । सबैभन्दा बढी चाइनीज फोन नै प्रयोग हुने गरेको छ । नेपालले सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आयात गर्दछ । चालु आवको ११ महिनामा चीनबाट मात्रै १३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको ९ लाख ४४ हजार ४९२ वटा स्मार्टफोन आयात भएको छ । दोस्रो स्थानमा रहेको भारतबाट भने ७ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको स्मार्टफोन नेपालले आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्ममा भारतबाट ४ लाख ६२ हजार ७४१ वटा फोन आयात भएको हो ।

यस्तै, भेटनाबाट ८१ करोड २१ लाख रुपैयाँ, यूएईबाट १८ करोड ३३ लाख रुपैयाँ, अमेरिकाबाट १५ करोड ७५ लाख , जापानबाट ९ करोड ७२ लाख, अष्ट्रेलियाबाट ९ करोड ३१ लाख, कतारबाट ४ करोड ७४ लाख, करियाबाट ५ करोड २३ लाख, हङकङबाट २ करोड ५० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

समिक्षा अवधिमा फिनल्याण्डबाट ७० लाख, मलेसियाबाट ८० लाख, साउदी अरेवीयबाट ४९ लाख, कुवेतबाट ४१ लाख, सिंगापुरबाट ४० लाख, क्यानडाबाट ६६ लाख, डेनमार्कबाट २० लाख, फ्रान्सबाट १८ लाख, थाइल्याण्डबाट १६ लाख, पोर्चुगलबाट १५ लाख, जर्मनीबाट १४ लाख, नेदरल्याण्डबाट १४ लाख, न्युजिल्याण्डबाट १४ लाख र बंगलादेशबाट १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्