पठाओको ५ वर्षे यात्राका १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै « Arthapath.com
७ आश्विन २०८०, आईतवार

पठाओको ५ वर्षे यात्राका १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै



काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍ (फुड डेलिभरी पर्सन) का लागि पठाओ बेनिफिट प्रोग्राम सुरू गरेको छ ।

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन् । पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट चालक तथा पठाओ हिरोहरू छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए । उनले भने, ‘अब चाँडै अर्को ५।६ वटा शहरमा जाँदै छौँ ।’

उनले पठाओले मुलुकको कुल जिडीपीमा पनि राम्रो योगदान गरिरहेको सुनाए । कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरि सम्मान गरिएको हो ।

साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो । यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आवद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौँ उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरुप कम्पनीका तर्फबाट उपहार भएको थापाले जानकारी दिए । सँगसँगै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि पठाओ दसैं महोत्सवु सुरू गर्ने घोषणा गरे ।

यस महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने भएको छ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म हुन आउनेछ ।


प्रतिक्रिया दिनुहोस्