बीवाईडीको ब्यापारमा चौधरी ग्रुप बंगलादेशबाट प्रवेश, नेपालमा कहिले ? « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

बीवाईडीको ब्यापारमा चौधरी ग्रुप बंगलादेशबाट प्रवेश, नेपालमा कहिले ?



काठमाडौं । अन्ततः विश्वकै नम्बर १ विद्युतीय सवारी बनेको बीवाईडीको ब्यापारमा चौधरी ग्रुपले आफ्नो पाइला राखेको छ । उसले सुरुमा नेपालबाट नभएर बंगलादेशबाट यो कम्पनीको ब्यापारीक साझेदारी सम्हालेको छ ।

सिजी रनर बंगलादेश लिमिटेडले ढाकामा बीवाईडीको पहिलो शोरुम शुभारम्भ गरेको छ । यो बंगलादेशको रनर ग्रुप र नेपालको सीजी ग्रुपको संयुक्त कम्पनी हो । कम्पनीले पहिलो पल्ट सिल गाडी सार्वजनिक गरेको छ । तर हालसम्म यो गाडीको मूल्य भने सार्वजनिक गरिएको छैन ।

ग्राहकले हेर्न र प्रिबुकिङका लागि गाडी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

बीवाईडी सिल नेपालमा भने यसअघि नै सार्वजनिक भइसकेको छ । तर भारत लगायत देशमा यो गाडीको विक्री खुला भइसकेको छैन । नेपालमा हाल बीवाईडी बेचिरहेको साइमेक्स इन्कले बीवाईडी सिलको मूल्य १ करोड ५ लाखदेखि १ करोड ८५ लाखसम्म तोकेको छ ।

नेपालमा बीवाईडी कारको आधिकारिक विक्रेता साइमेक्स अहिले मुद्दा खेपिरहेको छ । यसको स्वदेशि विक्रेताको प्रयासले भन्दा पनि बीवाईडीको अन्तरराष्ट्रिय छबिले मात्रै नेपालमा कारको विक्री बढेको जानकारहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् :

यसैबीच अमेरिकी अटो निर्माता टेस्ला र भियतनामी कम्पनी भिनफास्टले भारतमा कार उत्पादन गर्न थाल्ने भएका छन् । भिनफास्टले त उद्योग लगाउन सुरु गरिसकेको छ । यस्तो बेला नेपालसहित दक्षिण एसियाली बजारमा चिनियाँ ब्राण्ड बीवाईडीका लागि स्वाभाविक रुपमा प्रतिस्पर्धा गर्न कठिन हुनसक्ने अड्कल सुरु भएको छ ।

यही सेरोफेरोमा नेपालभित्रको बजारमा आधिकारिक विक्रेताको अधिकार खोस्नु अघि चौधरी ग्रुपले बंगलादेशबाट यो कम्पनीसँगको साझेदारी सुरु गरेको छ । अब छिट्टै नेपाली बजारमा विक्री गर्ने अधिकार पनि सीजीले प्राप्त गर्ने कोसिस गरिरहेको भनेर अर्थपथले दुई महिनाअघि समाचार सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्