दुर्घटनाको त्रासले रोकियो एमजीको आयात, दुई महिना एउटा मात्रै भित्रियो ‘जेडएस ईभी’
काठमाडौँ । तारन्तार दुर्घटनाका खबरहरू सार्वजनिक हुन थालेको र ‘कस्टमर केयर’मा कम्पनीको लापरबाही देखिएको सन्देश प्रवाह भएपछि कुनै बेलाको ‘टप ईभी ब्रान्ड’ एमजीको आयातमा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याङ्कले एमजी नेपाली ईभी बजारमा पाँचौँ बरीयतामा झरेको छ ।
त्यसमाथि बढी दुर्घटनाका खबरहरू सम्प्रेषित भएको एमजीको क्रस ओभर एसयुभी ‘जेडएस’को आयात त लगभग ठप्प भएको छ । पारामाउण्ट मोटर्सले चालु आर्थिक वर्षको सुरुआत २ महिनामा यो गाडी जम्मा १ थान मात्रै आयात गर्न सकेको छ ।
बजारमा माग ह्वात्तै घटेपछि एमजीको गाडी आयात रोकिएको हो । सन् २०१५ बाटै नेपाली बजारमा प्रवेश गरेको एमजी अहिले देखिएका चिनियाँ ब्रान्डहरूको भीडमा सबैभन्दा पुरानो कम्पनी हो । कोभिड सङ्क्रमण फैलिनु केही अघि यो ब्रान्ड बेच्ने अधिकार दुगड समूहबाट मुरारका समूहले खोसेपछि झनै आक्रामक विस्तार भएको थियो ।
त्यस ताका नेपाली सडकमा चिनियाँ गाडी भनेपछि एमजीको जेडएस नै सबैभन्दा धेरै चल्न थालेको थियो । तर बिस्तारै अर्को चिनियाँ ब्रान्ड बीवाईडीले बजार तताउँदै जाँदा एमजी भने समस्यामा फस्दै गएको देखिन्छ ।
मूल्य घटाउँदा पनि बढेन विक्री
हालैको नाडा अटोशोमा पनि एमजीप्रति अवलोकनकर्ताको ‘वितृष्णा’ देखिएको थियो । आफ्ना गाडीप्रति मानिसहरूको ध्यान खिच्न कम्पनीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग जम्मा १ प्रतिशत प्रिमियममै खरिद मूल्यको ८० प्रतिशत कर्जा प्रवाह गर्ने सम्झौता पनि गर्यो ।
त्यतिले मात्रै कहाँ पुग्यो र ? कम्पनीले जेडएस ईभीको मूल्य एकै पल्ट ६ लाख रुपैयाँ घटाएर बेच्न खोज्दा पनि यसका खरिदकर्ता देखिएनन् । पारामाउण्ट मोटर्सले एमजीको १०० वर्ष पुगेको अवसरमा ‘सेलिब्रेशन अफ अ सेन्चुरी’ योजना ल्याएर सुरुआति १०० ग्राहकलाई ६ लाख छुट दिने भने पनि गाडीको विक्री भएन ।
त्यसपछि कम्पनीले हालै मात्र उक्त योजना अन्त्य भएको घोषणा गरेको छ ।
यससँगै नेपाली बजारमा ईभीको आधारशिला तयार पार्नेमध्येको एक ब्रान्ड बिस्तारै अप्ठेरोमा पर्न थालेको छ । बरु, डिपल र ओमोडाजस्ता नयाँ ब्राण्डहरुप्रति ग्राहक खनिन पुगे । यसको विवरण गाडी आयातको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।
गत साउन र भदौमा आयात भएका विभिन्न ब्रान्डका विद्युतीय प्यासेन्जर भेहिकल :
पछिल्लो समय ईभी दुर्घटनाहरूको खबर हेर्ने हो भने अधिकतर एमजीका गाडीहरू दुर्घटना भएको देखिन्छ । त्यसमा पनि विगतमा लोकप्रिय मानिएको क्रमओभर एसयुभी ‘जेडएस’ नै दुर्घटनामा ज्यादातर देखिएका छन् । यसले उक्त मोडलको विक्रीमा मात्रै धक्का लागेको छैन, सिङ्गो ब्रान्डप्रति नै नेपालीहरूमा शङ्का उत्पन्न भएको अनुमान गर्न सकिन्छ ।
‘गाडीमा समस्या आउनु त स्वाभाविक हो’, अर्को एक ईभी विक्रेता भन्छन्, ‘तर त्यो समस्या हल गर्नमा कम्पनीले कत्तिको तदारुकता देखायो र सहायता गर्यो भन्ने कुराले जनभावना तयार पार्न मद्दत गर्छ ।’ एमजीको हकमा लामो समयसम्म बेवास्ता गर्ने, गाडीमा देखिएका समस्याप्रति कम्पनीको चासो नै नभएजस्तो व्यवहार गर्ने र पार्टपुर्जा फेर्न पनि ज्यादै लामो समय लाग्ने जस्ता कारणले पनि कुनै बेलाको लोकप्रिय ब्रिटिस ब्रान्डलाई अहिले धराशायी बनाउँदै लगेको छ ।
भारतमा पनि उही ताल
नेपालमा मात्रै होइन, भारतीय बजारमा पनि एमजीलाई प्रतिस्पर्धामा उत्रन समस्या परिरहेको छ । त्यसैले उसले अहिले भारतमा नयाँ स्किम ल्याएको छ ।
नेपालमा एउटा गाडीमा ५२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको एमजीको जेडएस ईभी भारतमा अब १३ लाख ९९ हजारमै पाइने भएको छ । कम्पनीले कोमेटको मूल्य भारतीय बजारमा ४ लाख ९९ हजार र विन्डसरको मूल्य ९ लाख ९९ हजार तोकेको छ । यो ब्याट्री बाहेकको मूल्य हो ।
प्रतिकिलोमिटर यात्राको आधारमा पैसा तिर्ने गरी भाडामा ब्याट्री उपयोग गर्न पाउने रणनीति भारतीय बजारमा अघि सारिएको छ । कम्पनीले यस्तो ‘ब्याट्री रेन्टल स्किम’ ल्याएपछि विक्री बढ्ने आशा गरेको छ । यस योजना अन्तरगत कोमेट चलाउनेले १ किलोमिटर यात्रा गरेबापत भारु. २.५, विन्डसर चलाउनेले ३.५ र जेडएस चलाउनेले ४.५ रुपये तिर्नुपर्ने हुन्छ ।
यसरी भाडाको ब्याट्री चलाउँदा नयाँ ब्याट्री फेर्नु पर्ने भयो भने पनि गाडी धनिले लागत व्यहोर्नु पर्दैन । सुरुमा गाडी किन्न पनि ज्यादै सस्तो मूल्य तिर्दा हुने भएको छ । त्यही कारण यो रणनीतिले ‘काम गर्ला कि’ भन्ने आशा एमजीको छ । त्यहाँ यस योजनालाई ‘ब्याट्री याज अ सर्भिस (बास)’ भनिएको छ ।
यदि नेपालमा पनि ठ्याक्कै यही मूल्यमा यस्तै योजना ल्याउने हो भने इन्धन लागत कति पर्छ भनेर तुलना गरौँ । जेडएस ईभी यसरी चलाउँदा प्रतिकिलोमिटर ब्याट्रीको लागत साढे ७ रुपैयाँ जति पर्छ । यो मूल्यलाई इन्धन गाडीसँग तुलना गर्ने हो भने १ लिटर पेट्रोल किन्ने पैसाले करिब २१ किलोमिटर ईभी गुडाउन पुग्ने देखिन्छ ।
नेपाल आयल निगमले काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५९ रुपैयाँ तोकेको छ । योभन्दा प्रिमियम सेग्मेण्टको ह्युण्डाई क्रेटासँग तुलना गर्ने हो भने १ लिटर पेट्रोलले साढे १८ किलोमिटर जति यात्रा गर्न पुग्ने कम्पनीको दाबी छ ।
तर क्रेटाको म्यानुअल डिजेल भेरियण्टसँग दाँजेर हेर्ने हो भने एमजीको उक्त ब्याट्री शुल्क डिजेलभन्दा महँगो पर्ने देखिन्छ । एमजीको स्किममा भारुको विनियम दरलाई मात्रै समायोजन गर्ने हो भने प्रतिकिलोमिटर लागत ७ रुपैयाँ २० पैसा पर्न जान्छ । तर क्रेटाको डिजेल गाडीको प्रति किलोमिटर लागत ६ रुपैयाँ ८३ पैसा मात्रै पर्छ ।
किनकि, क्रेटाको यो भेरियण्टले १ लिटर डिजेलबाट २१.८ किलोमिटर यात्रा गर्ने कम्पनीले जनाएको छ । अहिले काठमाडौँमा डिजेल प्रतिलिटर मूल्य १४९ रुपैयाँ पर्छ ।