एमजी ईभीको रफ्तारसँगै उचाइमा पारामाउन्ट मोटर्स, व्यापार उछालको रहस्य के हो ?

एमजी गाडी बेच्ने पारामाउन्ट मोटर्सको व्यापार यात्रा, पाँच वर्षमै ११ अर्ब २३ करोडको कारोबार
काठमाडौं । सस्तो खर्च, वातावरणमैत्री प्रविधि र सरकारी प्रोत्साहनले विद्युतीय सवारी ( ईभी) प्रति आकर्षण बढ्दो छ ।
ईभिप्रति आम मानिसको बढ्दो विश्वास र मागले पारामाउन्ट मोटर्सको व्यापारलाई पनि तीव्र गतिमा बढाउन टेवा मिलिरहेको छ ।
नेपालका लागि एमजी मोरिस ग्यारेज (एमजी) ब्रान्डको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स, जसले एमजीजस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाली बजारमा ल्याउँदै इभीप्रतिको जनविश्वासलाई व्यवसायिक सफलतामा बदलिरहेको छ ।
पारामाउन्ट मोटर्सको व्यापार पनि उल्लेखनीय रुपमा उकालो लागेको छ । पछिल्लो पाँच वर्षमा नै कम्पनीले ११ अर्ब २३ करोड बढीको व्यापार गर्न सफल भएको छ । गत वर्ष सन् २०२४ मा एकै वर्ष ४ अर्ब बढीको व्यापार गरेको छ ।
इक्रा नेपालका अनुसार गत वर्ष कम्पनीले ४ अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बर अर्थात् १०१.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष सन् २०२३ मा पनि कम्पनीले २ अर्ब ७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेका देखिन्छ ।
पारामाउन्ट मोटर्सले नेपालमा विद्युतीय सवारी साधनको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् २०१६ मा स्थापना भएको कम्पनीले पछिल्ला वर्षहरुमा निरन्तर व्यापार बढाएको छ । सन् २०२२ मा पनि कम्पनीले ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, सन् २०२० मा ७९ करोड ४० लाख र सन् २०२१ मा ७१ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
गत वर्ष सन् २०२४ मा भएको कुल आम्दानीमा ठुलो योगदान ‘एमजी जेडएस ईभी’ को रहेको कम्पनीले जनाएको छ । ‘एमजी जेडएस ईभी’ को गत वर्षको कुल व्यापारमा करिब ८० देखि ८५ प्रतिशतसम्म हिस्सा रहेको कम्पनीले जनाएको छ । व्यापारको आँकडा हेर्दा ‘एमजी जेडएस ईभी’ मोडल विशेष रूपमा लोकप्रिय बनेको देखिएको छ ।
उच्च प्रतिस्पर्धा रहेको ईभी बजारमा पनि पारामाउन्टले बहुब्रान्ड रणनीति अपनाउँदै आफ्नो पकड बलियो बनाइरहेको छ । कम्पनीले सन् २०२० मा जापानी ब्रान्ड मज्दा मोटर कर्पोरेसन, सन् २०२१ मा चीनको म्याक्सस र सन् २०२४ मा चीनकै वुलिङ ब्रान्डसँग वितरण साझेदारी गरेको छ । यी ब्रान्डका सवारी साधन कम्पनीले नेपालमा आयात गरी बिक्री गर्दै आएको छ ।
काठमाडौंको थापाथलीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको स्वामित्व संरचना पनि विविध छ । विशाल ग्रुप र संघाई ग्रुपको संयुक्त लगानी रहेको छ ।
कम्पनीमा शिरिसकुमार मुरारकाको ४० प्रतिशत स्वामित्व रहेको छ । यता, विशाल अग्रवाल, कविता संघाई, मन्जु अग्रवाल र मधु अग्रवालले समान रूपमा १५–१५ प्रतिशत सेयर हिस्सा रहेको छ ।
कम्पनीले आफ्ना अल्पकालीन वित्तीय आवश्यकताका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ, जसले भविष्यमा अझ ठूला लगानीका ढोका खोल्ने देखिन्छ ।