होन्डा स्कुटर एसेम्बलिङमा हिमाल मोटो, ११ महिनाको व्यापार सवा तीन अर्ब
काठमाडौं । हिमाल मोटो नेपाल प्रालिले ११ महिनामै सवा तीन अर्बको व्यापार गरेको छ ।
होन्डा बाइक र स्कुटरको एसेम्बल उद्योग संचालन गर्दै आएको कम्पनीले व्यापारमा उल्लेख्य सुधार गरेको छ ।
आर्थिाक वर्ष सन् २०२४–२०२५ को ११ महिनामै कम्पनीले ३ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जबकि, गत वर्ष सन् २०२४ मा कम्पनीले ३९ करोड ८० लाख रुपैयाँ बराबरको मात्रै व्यापार गरेको थियो ।
हिमाल मोटो २०२० जनवरीमा स्थापित भएको कम्पी हो । यो कम्पनीले रुपन्देही जिल्लामा होन्डाका दुईपांग्रे सवारी साधन (मुख्यतः स्कुटर) एसेम्बल गर्ने कारखाना सञ्चालन गर्दै आएको छ ।
कम्पनीले स्कुटर निर्माणका लागि सिकेडी पाट्र्स आयात गर्छ । एसेम्बल गरिएका स्कुटरहरू आफ्नै सहायक कम्पनी स्याकरलाई मात्रै बिक्री गरिन्छ, जुन ज्योति समूहको प्रमुख कम्पनी हो । हाल कम्पनीको सेयर बराबरी अनुपातमा सौरभ ज्योति (हिमाल मोटो र स्याकरका अध्यक्ष) र सुहृद ज्योति बीच बाँडिएको छ ।
सरकारले हालै ल्याएको युरो–६ प्रदूषण मापदण्डअनुसार कम्पनीले युरो–६ अनुकूल स्कुटरहरू स्थानीय रूपमा एसेम्बल गर्दै आएको छ ।
कम्पनीले २ अर्ब ९ करोड ६० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जा अन्तर्गत ६४ करोड ६० लाख, र अल्पकालिनका लागि १ अर्ब ४५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको हो । इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ‘एल डबल बी’ रअल्पकालीन कर्जा ‘ए फोर’ रेटिङग दिएको छ ।
व्यापारमा बढोत्तरी देखिएता पनि कम्पनीको मुनाफा (अप्रिल २०२४ देखि मार्च २०२५ सम्म) १.२ प्रतिशतमा सीमित छ । जसको मुख्य कारण ओइएमलाई तिर्नुपर्ने उच्च सेवा शुल्क हो । उच्च ऋणभारका कारण कम्पनीको ऋण अनुपात ३.७ गुणा रहेको छ र कर्जा तिर्ने क्षमता कम रहेको छ । कम्पनीले आगामी दिनमा आम्दानी र नाफा सुधार गर्दै प्रमोटरहरूको सहयोग कायम राख्नुपर्ने अवस्था रहेको छ ।
इक्राका अनुसार कम्पनीको तरलता पनि चुनौतीपूर्ण छ, कर्जा सीमा भन्दा बढी प्रयोग भएको उल्लेख छ । साथै, बजारमा टिभिएस, यामाहा लगायत प्रतिस्पर्धी ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा छ भने विद्युतीय स्कुटरहरूको बढ्दो लोकप्रियताले कम्पनीलाई थप चुनौती दिइरहेको छ ।












