प्रोटोन ई-मास ७ को नयाँ प्रिमियम प्लस संस्करण सार्वजनिक, ४५० किलोमिटरको रेञ्ज
मलेसियाली कार निर्माता प्रोटोनले आफ्नो चर्चित ई-मास ७ इलेक्ट्रिक गाडीको नयाँ प्रिमियम प्लस संस्करण बजारमा ल्याएको छ, जसमा ठूलो ब्याट्री र अत्याधुनिक सुविधाहरू थपिएका छन्।
काठमाडौँ । मलेसियाली गाडी निर्माता कम्पनी प्रोटोनले आफ्नो इलेक्ट्रिक गाडी ई-मास ७ को सबैभन्दा माथिल्लो र अत्याधुनिक संस्करण प्रिमियम प्लस मलेसियामा सार्वजनिक गरेको छ। यो नयाँ गाडीमा ६८.३९ किलोवाट आवरको ठूलो ब्याट्री राखिएको छ।
यसले गर्दा यसको रेन्ज र कार्यक्षमता दुवै बढेको छ। यो मोडल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यसकै जुम्ल्याहा मोडल गिली इएक्स ५ बाट प्रभावित छ, जसमा ठूलो ब्याट्री र थप सुविधाहरू उपलब्ध छन्।
मलेसियाको तान्जोङ मालिमस्थित प्रोटोनको विशेष इभी प्लान्टमा स्थानीय रूपमा नै एसेम्बल गरिएका ई-मास ७ सिरिजका तीनवटा मोडेलहरू मध्ये प्रिमियम प्लस सबैभन्दा महँगो कार हो।
मलेसियामा यसको मूल्य १ लाख १८ हजार ८०० रिंगिट अर्थात् करिब ४४ लाख १९ हजार ३६० नेपाली रुपैयाँ तोकिएको छ। यो सिरिज अन्तर्गत उपलब्ध अन्य दुई मोडलहरू मध्ये प्रिमियमको मूल्य १ लाख १२ हजार ८०० रिंगिट अर्थात् करिब ४१ लाख ९६ हजार १६० नेपाली रुपैयाँ र सबैभन्दा सुरुवाती मोडल प्राइमको मूल्य ९६ हजार ८०० रिंगिट अर्थात् करिब ३६ लाख ९६० नेपाली रुपैयाँ रहेको छ।
यो नयाँ कार खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। सुरुवाती मूल्यमै ग्राहकहरूले ५ हजार रिंगिट अर्थात् करिब १ लाख ८६ हजार नेपाली रुपैयाँको एक्सचेन्ज छुट र १ हजार ५०० रिंगिट अर्थात् करिब ५५ हजार ८०० नेपाली रुपैयाँ बराबरको ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्।
यसका साथै ५०० रिंगिट अर्थात् करिब १८ हजार ६०० नेपाली रुपैयाँ बराबरको भीटुएल एडाप्टर, ५ वर्षका लागि १ हजार ८०० रिंगिट अर्थात् करिब ६६ हजार ९६० नेपाली रुपैयाँ बराबरको अनलिमिटेड डेटा प्लान र गाडीको पछाडि सामान राख्ने ठाउँका लागि एउटा कभर समेत निःशुल्क उपलब्ध गराइएको छ।
ब्याट्री र पर्फरमेन्स
नयाँ ब्याट्रीको प्रयोगका कारण डब्लूएलटिपी मापदण्ड अनुसार यो गाडीले एक पटकको फुल चार्जमा ४५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। यसमा प्रिमियम मोडलमा जस्तै १९ इन्चको ह्विल र २३५/५० आर १९ आकारका टायर प्रयोग गरिएको छ।
यसअघिको प्रिमियम मोडलमा ६०.२२ किलोवाट आवरको ब्याट्री थियो, जसले ४१० किलोमिटरको रेन्ज दिन्थ्यो। यसरी हेर्दा नयाँ प्रिमियम प्लस मोडलको रेन्ज ४० किलोमिटरले बढेको देखिन्छ।
यद्यपि यसको गुड्ने प्रणालीमा भने कुनै परिवर्तन गरिएको छैन। ई-मास ७ को यो नयाँ मोडलमा पनि पहिलेकै जस्तो अगाडि पट्टि जोडिएको २१८ पिएस पावर र ३२० एनएम टर्क दिने मोटर प्रयोग गरिएको छ। ठूलो ब्याट्रीका कारण यसको तौल बढेकाले गति समात्ने समयमा सामान्य फरक परेको छ।
यो कार स्थिर अवस्थाबाट प्रतिघण्टा १०० किलोमिटरको गतिमा पुग्न ७.४ सेकेन्ड लगाउँछ। जबकि यसको सुरुवाती मोडल प्राइमले ६.९ सेकेन्ड र प्रिमियम मोडलले ७.१ सेकेन्ड मात्रै लगाउँछन्। प्रोटोनका अनुसार ठूलो ब्याट्रीका कारण प्रिमियम प्लस कारको कुल तौल १ हजार ८१५ किलोग्राम पुगेको छ, जुन प्रिमियम मोडलभन्दा ५० किलोग्राम बढी हो।
ठूलो ब्याट्री भए पनि यसमा ११५ किलोवाटको डिसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन पहिले जस्तै मात्र २० मिनेट लाग्ने कम्पनीले बताएको छ।
अर्कोतर्फ ११ किलोवाटको एसी चार्जिङबाट १० प्रतिशतदेखि १०० प्रतिशतसम्म फुल चार्ज हुन भने ६.७ घण्टा लाग्नेछ, जुन प्रिमियम मोडलको तुलनामा केही धेरै हो। प्रिमियम मोडल फुल चार्ज हुन ६.१ घण्टा लाग्थ्यो।
आरामदायी सुविधा
प्रिमियम प्लस मोडलमा यात्रुको आरामका लागि केही नयाँ सुविधाहरू थपिएका छन्। यसमा अगाडिको यात्रु सिटका लागि खुट्टा आराम गराउने लेग रेस्ट र चालक तथा अगाडिको यात्रु दुवैका लागि हावा आउने र मसाज गर्ने प्रविधियुक्त सिटहरू राखिएका छन्। यसबाहेक अन्य सुविधाहरू भने प्रिमियम मोडलसँग मिल्दाजुल्दा छन्।
जसमा अगाडिको यात्रु सिट मिलाउन मिल्ने मेमोरी फंक्सन, आफैं उज्यालो समायोजन हुने ब्याक भ्यू मिरर, हेडरेस्टमै स्पिकर जडान गरिएको १६ वटा स्पिकर सहितको फ्लाइम अडियो सिस्टम र विन्डशिल्डमै गाडीका विवरणहरू देखिने हेड-अप डिस्प्ले सामेल छन्।
सुरक्षाका दृष्टिकोणले पनि यो गाडी निकै आधुनिक छ। यसमा एडभान्स्ड ड्राइभर एसेस्टेन्स सिस्टम अर्थात् एडास सुरक्षा प्रणाली जडान गरिएको छ। प्रिमियम मोडलमा जस्तै यसमा पनि अचानक आइपर्ने खतरा टार्न मद्दत गर्ने एभ्यासिभ म्यानुभर असिस्ट, आफैं गुड्ने गुडिरहेको लेन बदल्न सघाउने एक्टिभ लेन चेन्ज असिस्ट र अगाडिको ट्राफिकबारे सचेत गराउने फ्रन्ट क्रस ट्राफिक अलर्ट जस्ता सुविधाहरू छन्।
यसका साथै सुरुवाती प्राइम मोडलदेखि नै उपलब्ध इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, एइबी, इमर्जेन्सी लेन किप असिस्ट, लेन चेन्ज सेफ्टी वार्निङ र ट्राफिक संकेतहरू पहिचान गर्ने प्रविधि यसमा पनि राखिएको छ।
नयाँ प्रिमियम प्लससँगै बजारमा उपलब्ध अन्य दुई संस्करणहरू प्राइम र प्रिमियममा क्रमशः ४९.५२ किलोवाट आवर र ६०.२२ किलोवाट आवरका ब्याट्रीहरू प्रयोग भइरहेका छन्। जसले क्रमशः ३४५ किलोमिटर र ४१० किलोमिटरको रेन्ज प्रदान गर्छन्।
रङ र वारेन्टी
२०२६ प्रोटोन ई-मास ७ गाडी बाहिरी आवरणका लागि ६ वटा आकर्षक रङहरूमा उपलब्ध छ। जसमा लिथियम ह्वाइट, टर्किस ग्रीन, स्लेट ग्रे, प्लेटिनम सिल्भर, क्वार्ट्ज रोज र अब्सिडियन ब्ल्याक रहेका छन्।
गाडीको भित्री भागका लागि भने इन्डिगो ब्लू र एलाबास्टर ह्वाइट गरी दुईवटा रङका विकल्प दिइएको छ। यद्यपि एलाबास्टर ह्वाइट इन्टेरियर केवल टर्किस ग्रीन र क्वार्ट्ज रोज बाहिरी रङ भएका प्रिमियम र प्रिमियम प्लस मोडलहरूमा मात्र उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ।
मलेसियाली बजारमा २०२६ प्रोटोन ई-मास ७ खरिद गर्दा ग्राहकले गाडीमा ६ वर्षको गुड्ने दुरीको सीमा नरहने अनलिमिटेड किलोमिटर वारेन्टी पाउनेछन्। त्यसैगरी गाडीमा प्रयोग भएको हाई-भोल्टेज ब्याट्री र त्यससँग सम्बन्धित मुख्य पाटपुर्जाहरूमा भने ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ।
नेपालमा भने इमासको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले अहिले पुरानो मोडल इमास ५ भित्र्याउने तयारी थालेको छ । इमास ७ का दुबै भेरियण्ट भने यसअघि नै नेपालमा विक्री हुँदै आएका छन् । अब यो प्रिमियम प्लस भेरियन्ट पनि नेपाल ल्याउन सक्ने भनिएको छ, तर ठ्याक्कै त्यसको प्रक्रिया अघि बढिसकेको छैन ।












