नयाँ कर व्यवस्थाले फेरियो ईभी बजारको सन्तुलन, बीएमडब्लू आईएक्स १ महँगियो « Arthapath.com
३ असार २०८३, बुधबार

नयाँ कर व्यवस्थाले फेरियो ईभी बजारको सन्तुलन, बीएमडब्लू आईएक्स १ महँगियो



काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लागू हुने कर संरचना परिवर्तन गरेपछि नेपाली अटो बजारमा ईभीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ।

मोटर पावरका आधारमा कर लगाउने पुरानो व्यवस्था हटाएर सीआईएफ (कस्ट, इन्स्योरेन्स एन्ड फ्रेट) मूल्यलाई आधार बनाइएको नयाँ व्यवस्थाले केही मोडललाई सस्तो बनाएको छ भने केही प्रिमियम तथा लक्जरी ईभीको मूल्य उल्लेख्य रूपमा बढाएको छ। हालसम्म विभिन्न कम्पनीहरूले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार स्काइवेल, लिपमोटर र सुजुकीका केही मोडलको मूल्य घटेको छ। यता बीएमडब्लू, डिपल, जीली, ओमोडा तथा एमजीका केही मोडल भने महँगा भएका छन्।

नयाँ कर संरचनाबाट सबैभन्दा बढी लाभ स्काइवेल बीई ११ ले लिएको छ। १५० किलोवाट क्षमताको मोटर भएका कारण यसअघि उच्च करको दायरामा पर्ने यो मोडल अहिले मूल्यका आधारमा निर्धारण हुने कर प्रणालीअन्तर्गत कम कर समूहमा परेको छ।

यसअनुसार ५२ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ७९ लाख ९० हजार रुपैयाँबाट घटेर ६५ लाख ९० हजार रुपैयाँ कायम भएको छ। त्यस्तै ७२ किलोवाट आवर संस्करणको मूल्य ८९ लाख ९० हजार रुपैयाँबाट घटेर ७४ लाख ९० हजार रुपैयाँमा झरेको छ। ८५.९ किलोवाट आवर ब्याट्री भएको लङ रेन्ज भेरियन्टको मूल्य एक करोड १५ लाख रुपैयाँबाट घटेर ९९ लाख रुपैयाँ कायम भएको छ। स्काइवेल बीई ११ मा अधिकतम १६ लाख रुपैयाँसम्म मूल्य घटेको छ।

१६० किलोवाट मोटरयुक्त लिपमोटर बी १० पनि नयाँ कर व्यवस्थाबाट लाभान्वित भएको मोडल हो। मोटर पावरका आधारमा उच्च कर तिर्नुपरेको यो मोडल अहिले मूल्यमा आधारित कर प्रणाली लागू भएपछि ६० लाख रुपैयाँबाट घटेर ५५ लाख रुपैयाँमा उपलब्ध भएको छ।

सुजुकीको पहिलो विद्युतीय एसयूभी ई–भिटाराको मूल्य पनि घटेको छ। बजेटअघि ५२ लाख ९९ हजार रुपैयाँदेखि ६४ लाख ४९ हजार रुपैयाँसम्म पर्ने यो मोडल अहिले ४८ लाख ९९ हजार रुपैयाँदेखि ५९ लाख ४९ हजार रुपैयाँको मूल्य दायरामा उपलब्ध छ। भेरियन्टअनुसार यसको मूल्य करिब पाँच लाख रुपैयाँसम्म घटेको छ।

यता नयाँ कर व्यवस्थाको सबैभन्दा ठूलो प्रभाव बीएमडब्लू आईएक्स १ मा देखिएको छ। बजेटअघि एक करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री भइरहेको यो लक्जरी ईभीको मूल्य बढेर तीन करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अर्थात् यसको मूल्यमा एक करोड ३० लाख रुपैयाँको वृद्धि भएको छ।

चांगन डिपल एस ०५ को मूल्य पनि बढेको छ। एस०५ प्लस भेरियन्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँबाट बढेर ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने म्याक्स भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट बढेर ६२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। ओमोडा एन्ड जेइकोको आईकार भी२३ को मूल्य तीन लाख रुपैयाँले बढेको छ। बजेटअघि ५१ लाख रुपैयाँमा उपलब्ध यो मोडल अहिले ५४ लाख रुपैयाँमा बिक्री भइरहेको छ।

जीली ईएक्स५ मा पनि मूल्य समायोजन गरिएको छ। यसअघि ५७ लाख ९९ हजार रुपैयाँदेखि ६७ लाख ९९ हजार रुपैयाँसम्म पर्ने यो मोडलको मूल्य अहिले ६२ लाख रुपैयाँदेखि ७३ लाख रुपैयाँसम्म पुगेको छ। भेरियन्टअनुसार चारदेखि पाँच लाख रुपैयाँसम्म मूल्य बढेको कम्पनीले जनाएको छ। एमजी एस६ को मूल्य पनि दुई लाख रुपैयाँले बढेको छ। बजेटअघि ७० लाख रुपैयाँमा सार्वजनिक गरिएको यो मोडल अहिले ७२ लाख रुपैयाँमा बिक्री भइरहेको छ।

ओमोडा जे६टीमा भने तुलनात्मक रूपमा कम प्रभाव परेको छ। ६९ लाख रुपैयाँमा उपलब्ध यो मोडलको मूल्य बढेर ७० लाख रुपैयाँ पुगेको छ। एमजीको प्रिमियम ब्रान्ड आईएमअन्तर्गतको आईएम६ पनि नयाँ कर संरचनाबाट प्रभावित भएको छ। क्रसओभर एसयूभीको मूल्य ७८ लाख ९९ हजार रुपैयाँबाट बढेर ८१ लाख ९९ हजार रुपैयाँ पुगेको छ। मूल्य तीन लाख रुपैयाँले बढे पनि समान सेग्मेन्टका अन्य प्रिमियम ईभीको तुलनामा यसको वृद्धि कम रहेको देखिन्छ।

व्यवसायीहरूका अनुसार बीएमडब्लू, टेस्ला, डेन्जा एन–९, हुन्डाई आयोनिक फाइभ तथा बीवाइडी सिलियनजस्ता प्रिमियम र लक्जरी ईभीको मूल्य पनि बढेको छ। यद्यपि ती मोडलको आधिकारिक नयाँ मूल्य अझै सार्वजनिक गरिएको छैन।

त्यस्तै बीवाइडी, टाटा, महिन्द्रा, हुन्डाई क्रेटा ईभी, प्रोटोन ईमास, कायी, फोर्थिङ, स्मार्ट, रिडारा, अवतार, एक्सपेङ र जिकरलगायतका ब्रान्डहरूले समेत संशोधित मूल्यसूची सार्वजनिक गर्न बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस्