सक्रिय बन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: एकै महिनामा १४५२ जनाको ५९ लाखभन्दा बढी रकम फिर्ता
काठमाडाैं । एक महिनामा मात्र ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूले आफ्नो डुबेको रकम फिर्ता पाएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक गरेकाे जेठ महिनाको प्रगति विवरण अनुसार उस महिनामा ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता गरिएकाे छ।
फिर्ता गरिएको यो रकम मुख्यतया १० हजार रुपैयाँभन्दा मुनिका साना बचतकर्ताहरूको रहेको छ। यसरी आफ्नो रकम फिर्ता पाउनेहरूमा शिव शिखर, कान्तिपुर सेभिङ, लालिगुराँस, ओरिएन्टल, कृषि विकास, पशुपति सेभिङ, नागरिक कल्याण र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्ताहरू रहेका छन्। यी संस्थाहरूका ऋणीहरूबाट असुल भएको रकम र उपलब्ध स्रोतका आधारमा साना लगानीकर्ताहरूलाई न्याय दिने कार्यको सुरुवात गरिएको हो।
समितिले जेठ महिनामा बचत फिर्तासँगै ऋण असुली र खाता मिलानमा पनि राम्रो सफलता पाएको छ। यो अवधिमा ओरिएन्टल, तुलसी, आइडियल यमुना र गौतमश्रीसहित १२ वटा समस्याग्रस्त सहकारीका ऋणीहरूबाट १ करोड २० लाख ४६ हजार ६९२ रुपैयाँ बक्यौता उठाइएको छ। यसका साथै, ४३ जना ऋणी तथा तिनका परिवारको ५१ लाख ५१ हजार ६३ रुपैयाँ बराबरको रकम बचत मिलान (खाता मिलान) समेत गरिएको छ। ऋणीहरूको पहिचान गर्ने, तीनपुस्ते विवरण तयार पार्ने र सम्पत्ति रोक्का राख्ने कामलाई समितिले निकै तीव्रता दिएको छ।
पीडितहरूको बाँकी रहेको करिब ४४ हजार मागदाबी निवेदनहरूको पनि चरणबद्ध रूपमा रुजु र छानबिन गर्ने काम भइरहेको छ। बचतकर्ताको सहजताका लागि कार्यालयमा छुट्टै ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ भने अनलाइन प्रणालीमा समेत व्यापक सुधार गरिएको छ। अब बचतकर्ताहरूले आफ्नो मागदाबी कुन प्रक्रियामा छ भन्ने कुरा घरमै बसेर आफैँ हेर्न सक्नेछन्। रकम अपचलन गर्ने सञ्चालक तथा व्यवस्थापकहरूको लुकाइएको सम्पत्ति खोज्न विशेष टोली परिचालन गरेको समितिले जेठ महिनामा मात्रै १६ वटा बैठक बसी १८९ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ, जसले आगामी दिनमा बाँकी पीडितहरूको रकम फिर्ता गर्ने कार्यलाई अझ सहज बनाउनेछ।












