आर्थिक मन्दी र तीव्र प्रतिस्पर्धाबीच प्यारामाउन्ट मोटर्सको बलियो कमब्याक: ९ महिनामा बेच्यो २ अर्ब ४० करोडको गाडी
काठमाडाैं । नेपालका लागि एमजी ब्राण्डका सवारी साधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालीले पछिल्लो समय देशमा व्याप्त आर्थिक शिथिलता र तीव्र बजार प्रतिस्पर्धाका बीच पनि आफ्नो आम्दानी र बजार हिस्सा सन्तुलित राख्न सफल भएकाे छ।
रेटिङ एजेन्सी इक्रा नेपालकाे प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०२६ काे ९ महिनामा कम्पनीले २ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेकाे छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी केहि खुम्चिएर ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ कायम भएको थियाे।
अघिल्ला आर्थिक वर्षहरू २०२२ मा ३ अर्ब ४७ करोड रूपैयाँ बराबरकाे व्यापार गरेकाे कम्पनीले २०२३ मा २ अर्ब ७ करोड ६० लाख र २०२४ मा ४ अर्ब १२ करोड ५० लाख रूपैयाँकाे व्यापार गरेकाे थियाे। हालको नौ महिनाको तथ्यांकले कम्पनीले पुनः व्यवसायीक लय समातेकाे देखिन्छ।
यस्तै कम्पनीको सञ्चालन नाफामा सकारात्मक सुधार आएको देखिन्छ। आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत रहेको सञ्चालन मुनाफा चालू वर्षको नौ महिनामा बढेर ६.० प्रतिशत पुगेको छ। बजारमा मौज्दात रहेका गाडीहरू उचित रूपमा बिक्री गर्ने रणनीतिले गर्दा नाफाको मार्जिनमा केही सुधार आएको हो।
कम्पनीको यही व्यावसायिक प्रदर्शन र ईभी बजारमा रहेको सुदृढ उपस्थितिलाई रेखांकित गर्दै रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ८० करोड रुपैयाँको बैंक ऋणका लागि यसको साख मूल्यांकन (क्रेडिट रेटिङ) ‘ए फोर’ लाई निरन्तरता दिएको छ।
सञ्चालन आम्दानी र नाफामा सुधार देखिए तापनि कम्पनीको कार्यपुँजी व्यवस्थापन भने निकै सुस्त र चुनौतीपूर्ण बनेको छ। आर्थिक वर्ष २०२५ को अन्त्यतिर ठूलो परिमाणमा गाडीहरू आयात गरी मौज्दात बढाइएका कारण खुद कार्यपुँजी र सञ्चालन आम्दानीको अनुपात आर्थिक वर्ष २०२४ को ५९ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षको ९ महिनामा ६६ प्रतिशत पुगेको छ। यसले गर्दा कम्पनीको तरलता व्यवस्थापनमा चाप परेको देखिन्छ।
गाडीको मौज्दात व्यवस्थापनका लागि बैंक ऋणमा अत्यधिक भर पर्नु पर्दा प्यारामाउन्ट मोटर्सको ऋण सम्बन्धी सूचकहरू कमजोर देखिएका छन्। कुल कर्जा र नाफाको अनुपात आर्थिक वर्ष २०२४ मा ७.४ गुणा रहेकोमा बढेर चालु आर्थिक वर्षको ९ महिनामा ९.२ गुणा पुगेको छ। यस्तै, ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा पनि निरन्तर ह्रास आएको छ। आर्थिक वर्ष २०२४ मा १.९ गुणा र २०२५ मा १.७ गुणा रहेको यो सूचक चालु आर्थिक वर्षको ९ महिनामा थप घटेर १.३ गुणामा सीमित हुन पुगेको छ।
कम्पनीको व्यापार मुख्यतया नयाँ मोडलहरूको आगमन र लोकप्रियतामा टिकेको देखिन्छ। विशेषगरी मार्च २०२५ मा बजारमा ल्याइएको ‘एमजी एस५’ मोडलले आर्थिक वर्ष २०२५ को कुल आम्दानीमा करिब ४२ प्रतिशत हिस्सा ओगटेको थियो। कम्पनीको समग्र व्यवसाय ‘एमजी४ इभी’ र ‘एमजी एस५’ जस्ता निश्चित मोडलहरूमा बढी केन्द्रित (करिब ८७ प्रतिशत हिस्सा) रहेको छ। आगामी दिनमा हालै सार्वजनिक गरिएको ‘एमजी एस६’ र चिनियाँ ब्राण्ड ‘वुलिङ’ सँगको सहकार्यले व्यापारलाई थप बढाउन सघाउने अपेक्षा गरिएको छ।
कम्पनीले हाल नेपालभर आफ्नै ३ वटा शोरुम र १५ वटा डिलर संजालमार्फत सेवा दिइरहेको छ। आगामी दिनमा तीव्र बजार प्रतिस्पर्धाका बीच नाफाको मार्जिनलाई टिकाई राख्ने र वित्तीय सूचकहरूमा सुधार ल्याउने कुरा नै कम्पनीको मुख्य चुनौती हुने देखिन्छ।












