५ लघुबीमा कम्पनीलाई विशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन « Arthapath.com
१२ असार २०८३, शुक्रबार

५ लघुबीमा कम्पनीलाई विशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपालको बीमा बजारमा पछिल्लो समय उथलपुथलको स्थिति सिर्जना भएको छ ।

बीमा तथा धितोपत्रसम्बन्धी विभिन्न कसुरमा मुछिएर प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकहरू निलम्बनमा परेपछि संकटमा परेका पाँचवटा लघुबीमा कम्पनीहरूलाई नेपाल बीमा प्राधिकरणले तत्काल विशेष साधारणसभा (एजीएम) डाक्न कडा निर्देशन जारी गरेको छ ।

निलम्बनको दुई साताभन्दा बढी समय बितिसक्दा समेत कम्पनीहरूले नेतृत्वविहीनता अन्त्य गर्न कुनै चासो नदेखाएपछि नियामक निकाय प्राधिकरणले यो कठोर कदम चाल्नुपरेको हो ।

शीर्ष नेतृत्व नहुँदा ती संस्थामा कार्यवाहक सीईओ समेत नियुक्त हुन नसकेपछि आन्तरिक व्यवस्थापन लथालिङ्ग बनेको छ । जसका कारण कर्मचारीहरू आफैं पनि चर्को दबाबमा परेका छन् ।

संस्थाहरूमा उत्पन्न यो गतिरोधका कारण रुष्ट बनेका कर्मचारीहरूले व्यवस्थापन चुस्त बनाउन माग गर्दै सिधै नियामक निकायमा उजुरी दिएपछि प्राधिकरणले ती कम्पनीमाथि आफ्नो निगरानी बढाएको थियो । कम्पनीहरूको दैनिक कार्यसम्पादन र व्यावसायिक गतिविधि पूर्ण रूपमा ठप्प हुन नदिन तथा व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि विशेष साधारणसभा अनिवार्य देखिएको प्राधिकरणको निष्कर्ष छ ।

यसरी विशेष निर्देशन पाउने कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् ।

प्राधिकरणले कम्पनी ऐनको दफा ८२ मा उल्लेखित कानुनी व्यवस्थाका साथै आफ्नै सुशासन निर्देशिकाको निर्देशन ३३ को उपनिर्देशन ३ लाई टेकेर यो निर्देशन जारी गरेको हो ।

कानुनी प्रावधान अनुसार कम्पनीको कुल चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सेयर हिस्सा ओगट्ने सेयरधनीहरू वा कुल सेयरधनी संख्याको न्यूनतम २५ प्रतिशत सदस्यहरूले स्पष्ट कारण खुलाई माग गरेमा ३० दिनभित्र विशेष साधारणसभा बस्नुपर्ने नियम छ ।

सोही व्यवस्था अन्तर्गत रहेर ती कम्पनीहरूका अधिकारीहरूलाई तत्काल सभा बोलाई नयाँ नेतृत्व चयनको बाटो खोल्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्