ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट आइइएलटिएस साझेदार संस्था सम्मानित
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइइएलटिएस सञ्चालनमा उत्कृष्ट योगदान पुर्याउने आफ्ना साझेदार संस्थाहरूलाई सम्मान गरेको छ।
ब्रिटिस काउन्सिलले जुन २५ मा आयोजना गरेको ‘आइइएलटिएस पार्टनर समिट–२०२६’ मा नेपाली विद्यार्थी तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी र आप्रवासनका अवसरमा पहुँच विस्तार गर्न योगदान पुर्याउने विभिन्न साझेदार संस्थाहरूलाई सम्मान गरिएको हो।
समिटमा ब्रिटिस काउन्सिल र साझेदार संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, नेपालमा अन्तर्राष्ट्रिय योग्यता तथा शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने र आइइएलटिएस सेवाको प्रभावकारी सञ्चालनबारे छलफल गरिएको थियो। साथै अप्रिल २०२५ देखि मार्च २०२६ सम्म आइइएलटिएस दर्तामा उत्कृष्ट कार्यसम्पादन गरेका साझेदार संस्थाहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
ब्रिटिस काउन्सिल नेपालका परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक (कन्ट्री एक्जाम्स डाइरेक्टर) प्रतिष्ठा थापा रायमाझीले साझेदार संस्थाहरूले हजारौं नेपाली युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर र विश्वव्यापी अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले अब कम्प्युटरमार्फत सञ्चालन हुने आइइएलटिएस सेवा सुरु गर्न लागिएको जानकारी दिँदै यससँगै कम्प्युटर र कागजी दुवै माध्यमबाट परीक्षा दिन सकिने बताइन्। यसले परीक्षार्थीलाई थप सहजता, छिटो नतिजा तथा आवश्यकताअनुसार परीक्षा दिने विकल्प उपलब्ध गराउने उनको भनाइ थियो।
ब्रिटिस काउन्सिल नेपालका व्यवसाय विकास प्रमुख सुदर्शन सुवेदीले आइइएलटिएसबाहेक रोजगारदाता तथा अन्य संस्थाका लागि अंग्रेजी भाषा शिक्षण, सिकाइ र मूल्याङ्कनसम्बन्धी सेवा विस्तार गर्ने तयारी भइरहेको बताए। यसबाट दक्ष जनशक्ति विकास, रोजगारीका लागि आवश्यक योग्यता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक सीप विकासमा सहयोग पुग्ने उनको भनाइ छ।
समारोहमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालिले प्लेटिनम पार्टनर अवार्ड प्राप्त गर्यो भने एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) लाई टप एसोसिएसन अवार्ड प्रदान गरियो।
त्यसैगरी केआईईसी लर्निङ सेन्टर प्रालिले गोल्ड अवार्ड, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालिले सिल्भर अवार्ड तथा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस, एइसीसी स्टडी अब्रोड कन्सल्टेन्ट प्रालि, ए.ओ.पी. ग्लोबल कन्सल्टेन्ट, आइइएलटिएस सेन्टर प्रालि र ब्रिज इन्टरनेसनल ग्रुप प्रालिले ब्रोन्ज अवार्ड प्राप्त गरेका छन्।
यस अवसरमा क्षेत्रीय स्तरमा उत्कृष्ट कार्य गर्ने द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी (चितवन र हेटौंडा), एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस (दाङ–घोराही र नेपालगञ्ज), सुमेधा एजुकेसन नेटवर्क (इटहरी र विराटनगर), बिर्तामोड एजुकेसन फाउन्डेसन (बिर्तामोड) तथा मिराकल इन्स्टिच्युट (पोखरा) लाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
ब्रिटिस काउन्सिलका अनुसार आइइएलटिएस उच्च शिक्षा, रोजगारी तथा आप्रवासनका लागि विश्वकै सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो। विश्वभर १२ हजारभन्दा बढी शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा व्यावसायिक निकायले यसलाई मान्यता दिएका छन्। आइइएलटिएसलाई ब्रिटिस काउन्सिल, आइडीपी आइइएलटिएस र क्याम्ब्रिज विश्वविद्यालय प्रेस तथा मूल्याङ्कन संस्थाले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।












