वाणिज्य बैंकहरूको ब्याजदर साउनमा पनि ओरालो, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? « Arthapath.com
३२ असार २०८३, बिहिबार

वाणिज्य बैंकहरूको ब्याजदर साउनमा पनि ओरालो, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?



काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्, जसले बैंकिङ प्रणालीमा ब्याजदर अझै ओरालो यात्रामै रहेको संकेत दिएको छ।

व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको तुलनामा घटेपछि आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तो हुने अपेक्षा गरिएको छ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। अर्थात् औसत रूपमा ०.०९०५ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो।

त्यसैगरी संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि असारको ३.१८ प्रतिशतबाट घटेर साउनमा ३.११६ प्रतिशतमा सीमित भएको छ। यसतर्फ औसत ०.०६४ प्रतिशत बिन्दुले गिरावट आएको देखिन्छ।

६ बैंकले घटाए ब्याजदरः कसकाे कति ?

यसपटक २० वाणिज्य बैंकमध्ये ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकमा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यीमध्ये सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.७५ प्रतिशत बिन्दुले घटाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशतबाट ४ प्रतिशतमा झार्दै ०.५० प्रतिशत बिन्दुले ब्याज घटाएको छ।

एनएमबी बैंकले ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा झार्दै ०.२५ प्रतिशत बिन्दुले कमी गरेको छ भने सिटिजन्स बैंक इन्टरनेसनलले ४.१० प्रतिशतबाट ३.९५ प्रतिशतमा झार्दै ०.१५ प्रतिशत बिन्दुले घटाएको छ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा झार्दै ०.१० प्रतिशत बिन्दुले, कुमारी बैंकले ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा झार्दै ०.०६ प्रतिशत बिन्दुले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ।

यता व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले भने असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।

२० बैंकमध्ये नेपाल बैंकले मात्रै साउनका लागि ब्याजदर बढाएको छ। नेपाल बैंकले व्यक्तिगत ब्याजदर ४.२५ प्रतिशत मै स्थिर राखे पनि संस्थागत निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट ४ प्रतिशतमा पुर्‍याउँदै १ प्रतिशत बिन्दुले वृद्धि गरेको हो। यो साउन महिनाको सबैभन्दा ठूलो परिवर्तन हो।

यता राष्ट्रिय वाणिज्य बैंकले संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्दै १ प्रतिशत बिन्दुले कटौती गरेको छ। एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले समान ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् भने ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत तथा कृषि विकास बैंकले ०.०३ प्रतिशत घटाएकाे छ।

सबैभन्दा बढी र सबैभन्दा कम ब्याजदर कुन बैंकमा ?

व्यक्तिगत मुद्दती निक्षेपतर्फ साउन महिनामा नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत अधिकतम ब्याजदर कायम राख्दै सबैभन्दा उच्च ब्याज दिने बैंक बनेका छन्। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।

सबैभन्दा कम व्यक्तिगत ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकको ३.८५ प्रतिशत रहेको छ।

संस्थागत निक्षेपतर्फ नेपाल बैंकले ४ प्रतिशत अधिकतम ब्याजदर कायम गर्दै सबैभन्दा माथि पुगेको छ भने एनएमबी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंकले ३.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।

सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर प्रभु बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा कृषि विकास बैंकले कायम गरेका छन्।


प्रतिक्रिया दिनुहोस्