राष्ट्रिय वाणिज्य बैंकको नाममा डिजिटल ठगी, ग्राहकलाई सचेत रहन आग्रह « Arthapath.com
२६ असार २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको नाममा डिजिटल ठगी, ग्राहकलाई सचेत रहन आग्रह



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले अनधिकृत व्यक्ति तथा ठगी गिरोहले बैंकको नाम प्रयोग गरी ग्राहकहरूलाई फोन तथा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई डिजिटल ठगी गरिरहेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार पछिल्लो समय केवाईसी अपडेट गर्ने बहानामा खाता नम्बर, ओटीपी, स्क्रिन सेयर तथा शंकास्पद लिङ्कहरू पठाएर ग्राहकको गोपनीयतामाथि प्रहार भइरहेको सूचना प्राप्त भएकाले यस्ता ठगीजन्य गतिविधिप्रति सजग रहन अपिल गरिएको हो।

यस सन्दर्भमा बैंकले एक विज्ञप्ति जारी गर्दै आफ्ना कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिले ग्राहकसँग केवाईसी अपडेट होस् वा अन्य कुनैपनि प्रयोजनका लागि कहिल्यै पनि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण स्ता व्यक्तिगत र गोप्य विवरण नमाग्ने स्पष्ट पारेको छ।

ग्राहकहरूलाई अनधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत बैंकले आग्रह गरेको छ।

यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गरी जानकारी गराउन साथै बैंकको आफ्नै वेबसाइट www.rbb.com.np बाट प्रकाशित हुने बैंकका आधिकारिक सूचना मात्र फलो गर्न पनि सुसूचित गराएकाे छ।

यस्तै बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको छ र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्