एक साधु सीईओले डोर्याएको बैंक « Arthapath.com
११ आश्विन २०७८, सोमबार

एक साधु सीईओले डोर्याएको बैंक



काठमाडौं । दुई दशक अघि नै नेपालमा समस्याग्रस्त बैंकहरुको सुधार गर्ने व्यक्तिको छबि बनाइसकेका नारायणदास मानन्धरले २०६१ सालमा राष्ट्रिय बाणिज्य बैंकबाट अवकाश लिएका थिए । युवा उमेरदेखि नै खप्तड बाबाका विचार र दर्शनबाट प्रभावित भएका मानन्धर अवकाश जीवन चाहीँ योग, ध्यान गरेर विताउने मनस्थितिमा पुगे । उनी यही उद्देश्यका निम्ती आफ्नो पुख्र्यौली थलो न्यूरोड छाडेर शान्त क्षेत्र बुढानीलकण्ठ सरेका थिए ।

तर उनी आफ्नो मनोकांक्षा अनुसार ध्यानमा मग्न रहनै पाएनन् । उनलाई साथीभाइले चौतर्फी घेरिरहन थाले । कुनै साधनाको याचक बनेर होइन, व्यवसायिक भूमिकामा फर्किन दबाब दिएर ।

यो समय आजभन्दा १६ वर्ष अघिको हो । त्यसबेला नेपालमा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बाँड्ने लहर नै चलेको थियो । सिंगो मुलुक द्वन्द्वको भूमरिमा रहेको बेला द्वन्द्वकै कारण शहरी क्षेत्रको अर्थव्यवस्था बढी चलायमान हुन थालेको थियो । गाउँगाउँबाट सम्पत्ती भएका मानिसहरु शहर पस्न थालेका थिए । शहरी क्षेत्रमा घरजग्गाको भाउ आकाशिन थालेको थियो ।

यही बेला न्यूरोडका नेवारहरुमा पनि बैंक खोल्ने ‘मुड’ जाग्यो । यो अभिलाषा पुरा गर्नमा देखिएका एक थिए, नारायणदास । त्यसपछि उनीहरु ध्यान गर्न हिँडेका नारायणदासलाई ‘विथोल्न’ पुगे । यही घटनाबाट आजको प्राइम कमर्शियल बैंक जन्मने पृष्ठभूमि तयार भयो ।

सीईओ नारायणदास मानन्धर ।

हुन पनि त्यतिञ्जेलसम्म देशमा २० ओटा बाणिज्य बैंकले लाइसेन्स पाइसकेका थिए । काठमाडौंमा नेवारको ब्यापारिक कीर्ति ठूलो छ । उनीहरुले प्राचीन कालमै भोट (तिब्बत) पुगेर ब्यापार गर्दै आएका थिए । आज मुलुकको सबैभन्दा ठूलो ब्यापार साझेदार भारत हो । तर भारतसँग नेपालको ब्यापारिक साझेदारी निकै पछिमात्र शुरु भयो । नेवारहरुले नै पूर्व कालदेखि उत्तरी भोटसँग ब्यापार गरेर काठमाण्डू खाल्डोलाई सम्पत्तीयुक्त बनाएका थिए ।

जब वित्तीय स्रोतलाई एकत्रित गर्ने प्रणालीको रुपमा देशमा बैंकहरु जन्मन थाले । ब्यापारिक आधिपत्य रहेको नेवार समुदायको बैंक खोल्न अगुवाइ गरे नारायणदाशले । ‘जसरी पनि बैंक खोल्ने’ मुडमा पुगेको समूहले नारायणदासलाई मनाइछाड्यो । उनी बैंकको नेतृत्व गर्न तयार भए ।

‘अरुले बैंक खोल्ने भनेपछि लाइसेन्सको प्रक्रियामा काम गर्ने व्यवस्थापक समूहले पहिले नै कुल पूँजीको २–३ प्रतिशत अग्रीम भुक्तानी लिन्थे,’ नारयणदास भन्छन्, ‘हामीले दुई वर्षसम्म संस्थापकहरुसँग एक पैसा पनि नलिगि आफ्नो गोजीबाट खर्च गरेर बैंकको लाइसेन्स लियौं ।’ अहिले त बैंक सञ्चालनमा आएको पनि १४ वर्ष पुगिसकेको छ । बैंकले ७ असोज २०६४ मा लाइसेन्स पायो र त्यसको चार दिनपछि नै बैंक स्थापना भयो । सोमबार बैंकले १५ औं स्थापना दिवस मनाउँदै छ ।

बैंक स्थापना गर्ने कुरामा दुई ओटा मूल संकल्प गरिएको नारायणदास सम्झन्छन् । ‘पहिलो कुरा हामी लोकल बैंक बनाउँछौं भन्ने संकल्प थियो,’ उनी भन्छन् । लोकल बैंक भनेको स्थानीय नेवारहरुकै लगानीमा बैंक खोल्ने भन्ने हो । ‘हामीले १ लाखदेखि १ करोड (रुपैयाँ)सम्म शेयर लगानी गर्न पाउने गरी संस्थापक लगानी जुटायौं,’ उनी सम्झन्छन् । दोस्रो संकल्प चाहीँ अलि अपत्यारिलो थियो ।

बैंकका चार पिलर (खम्बा) हुन्, लगानीकर्ता, कर्मचारी, निक्षेपकर्ता र ऋणी । ‘प्राइम बैंकले यी चारै पिलरलाई सर्वाधिक प्रतिफल दिने परिकल्पना गरेको थियो,’ उनी भन्छन् । बैंकको स्थापना कालमा लगानीकर्तालाई बढी प्रतिफल दिने, कर्मचारीलाई बढी सुविधा दिने, निक्षेपकर्तालाई बढी ब्याज दिने र ऋणीसँग कम ब्याज लिने परिकल्पना नारायणदासले अघि सारेका थिए । धेरैले यो कुरालाई ‘आदर्श’ भनेको उनी अहिले सम्झन्छन् । ‘तर हामीले अहिलेसम्म यो परिकल्पनालाई पूर्ण कार्यान्वयन गरेका छौं,’ उनी भन्छन् ।

बैंकका चार खम्बा अर्थात् लगानीकर्ता, कर्मचारी, निक्षेपकर्ता र ऋणीको सहकार्य दर्शाउने बैंकको लोगो ।

बैंकले विगत १३ वर्षमा औसत वार्षिक १७.२० प्रतिशत लाभांश दिएको छ । यसमध्ये अधिकतम लाभांश बोनस शेयरको रुपमा दिएको छ । स्थापनाको समयमा १०० कित्ता शेयर हुनेसँग अहिले बोनश र हकप्रद शेयर जोडेर १२६८ कित्ता पुगेको छ । कर्मचारीका हकमा पनि त्यस्तै छ । लामो समयसम्म कर्मचारी खर्चका आधारमा सर्वाधिक बोनश दिने बैंक नै प्राइम बनिरह्यो । यो बैंकले कर्मचारीको औसत तलव सुविधामात्र होइन, बोनश पनि सर्वाधिक दिइरहेको छ । ‘हामीले सेवा सुविधामात्र होइन, कर्मचारीको बृत्ती विकास पनि सँगसँगै बढ्नुपर्छ भनेर सुस्पस्ट मार्गदर्शन तयार पारेका छौं,’ नारायणदास भन्छन् ।

ब्याजदरमा पनि त्यस्तै छ । यही असोज १ गतेदेखि बाणिज्य बैंकहरुले लागू गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा सर्वाधिक ब्याज दिने दोस्रो बैंक प्राइम नै छ । यसअघि प्राइम सर्वाधिक ब्याज दिने बैंक थियो । अहिले सनराइज बैंकले एनआईसी एसियाको ब्याजदर बढाएर व्यापार तान्ने रणनीति पछ्याउन खोजेपछि प्राइम दोस्रोमा झरेको हो । ६ महिने अवधिको व्यक्तिगत मुद्दति खातामा पनि सनराइजपछि सानिमा, प्राइम र एनएमबी बैंकले समान ९ प्रतिशत ब्याज दिएका छन् । निक्षेपमा उच्चतम ब्याजदरको आँकडा हेर्ने हो भने पनि सनराइजपछि दोस्रो नम्बरमा प्राइम नै आउँछ । ऋणीसँग पनि प्राइमले ‘इण्डस्ट्रियल’ औसतभन्दा ज्यादै सस्तो ब्याजमा ऋण दिइरहेको छ ।

यसरी सबै पक्षलाई बढी लाभ र बढी खुसि दिने सूत्र चाहीँ के हो त ? उनी भन्छन्, ‘सञ्चालन खर्च घटाउने नै हो ।’ बजारमा उपभोक्ताका लागि पर्याप्त छनोटको अधिकार छ । एउटै काम गर्ने विभिन्न वस्तुको मूल्य पनि भारी अन्तर पर्छ । ‘मैले ४० लाखको गाडी चढे पनि, ४ करोडको चढे पनि प्रयोजन एउटै हो’, उनी भन्छन्, ‘तर यसले संस्थाको वित्तीय विवरणलाई पार्ने असर धेरै र थोरै हुन्छ ।’ एउटा शाखा खोल्दा ४० लाख खर्च गर्ने की २ करोड खर्च गर्ने भन्ने बैंकको व्यवस्थापकमा निर्भर हुने उनी बताउँछन् । संस्थालाई किफायति ढंगले चलाउने हो भने सबै पक्षलाई खुसी बनाउन सकिन्छ भन्ने उदाहरण प्राइम बैंकले दिएको छ ।

उमेरले सात दशक नाघिसकेका नारायणदास सम्भवतः बैंकिङ इतिहासमा सर्वाधिक पाको उमेरका सीईओमध्ये एक हुन् । नेपालमा त उनले एक चरण अवकाश पाइसकेपछि बैंकिङ करियर सुरु गरेकाहरु पनि धेरै सीईओ भएसकेका छन् । यो उमेरमा पनि उनको काम गर्न जाँगर ऊर्जा कम भएको छैन । उनी बैंकलाई उही रफ्तारमा डोर्याइरहेका छन् । बरु एक पटक राष्ट्र बैंकले ६० वर्ष नाघेका मान्छे बैंकको सीईओ बन्न नपाउने नियम ल्याइदियो । ‘म त खुसि भएर घर फर्किने तरखरमा थिएँ । तर साथिहरुले मानेनन् र मुद्दा हाल्न लगाए’, उनी भन्छन्, ‘१७–१८ वर्षदेखिको अवकाश लिने धोको अझै पुरा हुन सकेको छैन ।’

यो छोटो अवधिमा प्राइम धेरै पटक धेरैको आँखाको तारो बनेर उभियो । एक भिन्न संस्कार (कल्चर)को बैंक हुर्काउँदा वटवृक्ष बनेर ठिङ्ग उभिएका नारायणदास अहिले बैंकिङ क्षेत्रमा फस्टाउँदै गएको ब्यापारको भागदौड (रेस)मा भने आफूहरु सहभागि नरहेको बताउँछन् । ‘हामी पहिलो, दोस्रो नम्बरमा आउने दौडमा छैनौं,’ उनी भन्छन् । सायद साधुसन्त स्वभावले पनि उनलाई यो दौडमा सहभागि नहुन प्रेरित गरेको हुँदो हो । पाको उमेरको पनि केही असर पक्कै होला । तर आफ्नै शैली र आफ्नै संस्कारमा अलग्गै मौलिकता बनाउनमा प्राइम बैंक साँच्चै ‘प्राइम’ बनेको छ ।


प्रतिक्रिया दिनुहोस्