दशैँका कति साटिन्छ नयाँ नोट ? तीन सातामा यसरी बाहिरियो राष्ट्र बैंकबाट आधा खर्ब « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

दशैँका कति साटिन्छ नयाँ नोट ? तीन सातामा यसरी बाहिरियो राष्ट्र बैंकबाट आधा खर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँको बेलामा नयाँ नोट बजारमा पठाउने गरेको छ । नेपालमा सबैभन्दा ठूलो पर्वको रुपमा स्थापित भएको दशैँलाई सरकारले बजारमा साना दरका नोट पठाउने उत्सवको रुपमा लिन्छ । यस वर्ष पनि यसरी नै ठूलो रकम केन्द्रिय बैंकको ढुकुटीबाट बाहिरिएको छ ।

हिजो आइतबारसम्म ५ देखि १०० रुपैयाँ दरका नोटहरु १३ अर्ब राष्ट्र बैंकबाट बाहिरिएको छ । ५०० र १००० दरका नोटहरु भने ३२ अर्ब रुपैयाँ बाहिरिइसकेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

विगतका वर्षहरुमा नयाँ नोट सटहीका लागि लामो लाइन हुने भएकाले नेपाल राष्ट्र बैंकले सुचना जारी गरेर ३ साता अघिबाटै नयाँ नोट सटही सुविधा उपलव्ध गराएको छ । रू. ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट सटही सुविधा उपलव्ध गराउने गरिएको छ ।

प्रत्येक नोटका बण्डलहरुमा १०० नोट गोटा नोट राखिएको हुन्छ । सेवाग्राहीहरुले दसैंमा दान दक्षिणा र पूजाका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई भुक्तानी दिनका लागि राष्ट्र बैंकसँग लिने गरेका छन् ।

यो वर्ष सबै दरका नोट गरेर करीब ४५ अर्ब रुपैयाँ बजारमा गइसकेको छ । आजैमात्र थप ५ अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकबाट बजारमा प्रवाह हुनसक्ने कार्यकारी निर्देशक नेपाल बताउँछन् । यसपछि दशैंमा ५० अर्ब रुपैयाँ थप नगद पैसा बजारमा प्रवाह हुने छ । यसलाई राष्ट्र बैंकले आफ्नै भाषामा ‘क्यास इन सर्कुलेशन (चलनचल्तिमा रहेका नोट)’ भन्ने गरेको छ ।

गत वर्ष कोरोना महामारीका कारण नोट सटही कम भएको थियो । पोहोर साना ठूला सबै नोट गरेर करीब २८ अर्ब रुपैयाँमात्रै सटही भएको नेपालले बताए । कोरोना महामारीका कारण धेरै मान्छे बेरोजगार भएपछि गत वर्ष खर्च गर्ने सामथ्र्य पनि घटेको उनी बताउँछन् ।

‘यो वर्ष चाहीँ कोरोनाको mप्रभाव कम भएको र सामान्यिकरण हुन थालेकाले मान्छेहरु बढी खर्च गर्न तयार भएजस्तो देखिन्छ’, उनले भने ।

‘पोहोरभन्दा अहिले ब्यापार व्यवसाय र आर्थिक गतिविधी बढेको छ । त्यसैले नगद सञ्चिति अलि बढी गरेको देखिएको छ’ रेवती नेपाल भन्छन् । कोरोना महामारी सुरु हुनु पूर्व पनि ४२–४५ अर्बको हाराहारीमा नगद सटही हुने गरेको थियो । तर अहिले मूल्यबृद्धि र जनसंख्या दुबै बढिरहेकाले नयाँ नोट साट्ने प्रबृत्ती पनि बढेको राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस्